‘औषधी खाइदिन्न् बुद्धिमानहरू …’

खेमराज रिजाल
दाङ, २९ फागुन । तुलसीपुर उपमहानगरपालिकाको एउटा बुथमा एक जना स्वास्थ्यकर्मी एकतमासले आग्रह गरिरहेकी थिइन्, ‘प्लीज आइदिनुस्, खाइदिनुस्’, बजारको एउटा मेडिकलसँगै बेन्चमा एक जना स्वास्थ्यकर्मी र दुईजना ग्रामीण स्वास्थ्य कार्यकर्ता गाग्रोमा पानी भरी बनाएर तीनथरि औषधी लिएर कराइरहेका थिए । मानौँ, उनीहरूको यो स्वास्थ्य सेवा सडक पेटीको चनाचट्पटेको व्यापारजस्तो देखिन्थ्यो भने ग्राहक पटक्कै नआइरहेको ।

दिउँसोको १ बजिसकेको छ । इन्ट्री रजिष्ट्ररमा जम्मा ९ जना औषधी सेवन गरेकाको नाम दर्ता छ । ‘पोहोर साल त तीनदिन लगाएर ७ सय जनालाई औषधी खुवाएका हौँ, यसपालि त औषधी खानेहरूको सहभागिता अत्यन्तै न्यून छ’, ती स्वास्थ्यकर्मीले निराशा व्यक्त गर्दै भनेकी थिइन्, ‘राष्ट्रिय अभियानलाई सफल बनाउन नदिने त बुद्धिमान पागलहरू नै हुन्जस्तो लाग्छ ।’ औषधी सेवन गर्न नआउनेमा शिक्षित र आफूलाई बढी जान्नेका रूपमा प्रस्तुत गर्ने सम्भ्रान्त व्यक्तिहरू नै रहेको उनको अभिव्यक्ति थियो ।

तुलसीपुर उपमहानगरपालिका—१८ को बिजौरी बजारमा एउटा बुथ थियो । त्यहाँ स्वास्थ्यकर्मी देवी शर्मा सहित दुईजना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेवीकाहरू खटिएका थिए । मध्याह्नको १२ बज्दासम्म उनीहरूले एक दर्जन जतिलाई पनि हात्तीपाइले विरूद्धको औषधी खुवाउन सकेका थिएनन् । ‘पोहोर–परार त यसै बुथमा ५ सयभन्दा बढीलाई औषधी खुवाएका थियौँ, यसपालि त यो औषधी सेवनमा जनउत्साह नै छैन, जबर्जस्त रूपमा कर गरेर मात्रै खुवाउन सकिएको छ, नबुझेकालाई बुझाउने हो, बुझेर पनि नखानेलाइ केही गर्न सकिँदो रहेनछ’, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाले भनिन् ।

उनले यति भनिरहँदा जनस्वास्थ्य कार्यालय दाङका अधिकृत किशोर आचार्य त्यहीँ आइपुगेका थिए, रिपोर्टिङका लागि । ‘ग्रामीण भेकमा त अलि धेरैको सहभागिता छ तर सहरी क्षेत्रमा भने तथ्याङ्क उक्लन सकेन’, आचार्यले भने, ‘यसका लागि राजनीतिक जागरण नै आवश्यक छ ।’ हरेक राजनीतिक दललाई प्रत्यक्ष रूपमा अभियानमा जोड्नका लागि केही न केही गर्नुपर्ने अवस्था देखिएको आचार्यको अभिव्यक्ति थियो । हरेक शंकास्पद बिरामीहरूले फिजिसियन डाक्टरले प्रिस्किप्सन लेखिदिए कुनै प्रश्न नउठाएर हात्तीपाइले विरूद्धको औषधी डाइथाइल कार्वापामाजिन खाइदिन्छन् तर नेपाल सरकारले निःशुल्क औषधी खुवाउने अभियानमा जोड्न उनीहरूलाई नै सकिएको छैन ।

बुथहरूमा हात्तीपाइले विरूद्धको औषधी सेवन गर्नेहरूको अत्यन्तै न्यून सहभागिता देखिएपछि केही बुथका स्वास्थ्यकर्मीहरूले नागरिक जमघट हुने स्थान पहिल्याउँदै सार्वजनिक कार्यक्रम स्थलमा पनि पुगेका छन् । यसै क्रममा तुलसीपुर उपमहानगरपालिका—३ दमारगाउँको अमृतपुर खानेपानीको कार्यालय अगाडि पनि औषधी खुवाउने टोली थियो ।

संस्थाको अधिवेशनका अवसरमा त्यहाँ हजारौँको उपस्थिति थियो तर त्यहाँ पुगेका स्वास्थ्यकर्मीले सोचेअनुरूप औषधी खपत नभएको बताएका थिए । त्यहाँ औषधी सेवन गर्नेको संख्या करिब ६ सय पुगेको त थियो तर माथिल्लो बुथमा खुवाएको संख्या समेत जोडेर उनीहरूले त्यो तथ्याङ्क प्रस्तुत गरेका थिए । अधिवेशनमा देखिएको सहभागिताका अनुपातमा औषधी सेवन गर्नेको संख्या नगन्य भने पनि हुन्छ ।

तुलसीपुरको वेष्टर्न प्यालेस होटलमा नेपाल रेडक्रस सोसाइटी दाङको साधारणसभा चलिरहेको थियो । एक सयभन्दा माथिको उपस्थितिमा हात्तीपाइले विरूद्धको औषधी खुवाउन तुलसीपुरका दिग्गज स्वास्थ्यकर्मीहरू बिमल केसी, दोर्ण वलीलगायतका स्वास्थ्यकर्मी खटिएका थिए । तर, त्यहाँ पनि सहभागीले आफूले अन्तै हात्तीपाइलेको औषधी खाइसकेको भन्दै पन्छिने प्रयास मात्रै गरे । केहीलाई मात्र औषधी खुवाउन टोली सफल भएको थियो । धेरैले खाएनन् ।

स्वास्थ्य क्षेत्रसँगै प्रत्यक्ष जोडिएकाहरूले समेत औषधी सेवन गर्न कतै आनाकानी गरिरहेको देखिन्थ्यो । यी त नमुना बुथहरू मात्रै हुन् । ‘कति प्रतिशतले सेवन गरे भन्ने तथ्याङ्क त आइसकेको छैन तर उत्साहजनक सहभागिता देखिएको छैन’, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले भने ।

सार्वजनिक स्थलमा प्रवेश वा विदेश भ्रमणमा कोरोना भाइरसको खोप जसरी अनिवार्य गरिएको छ, त्यसरी नै हात्तीपाइले विरूद्ध औषधी सेवन गरेकालाई पनि कार्ड वितरण गरेर यस्तो व्यवहार गर्न सकेमा अभियानले चाँडै सार्थकता पाउने पनि उनले उपाय निकाले । अकारण औषधी सेवन नगरेकाहरूलाई राज्यबाट दिइने सेवाबाट वञ्चित गर्नुपर्ने पनि उनको तर्क थियो । उनको भोगाइमा पनि जानेबुझेकाहरू नै औषधी सेवनमा व्याक हुने गरेका छन् तर संक्रमणले सम्भ्रान्त र सामान्य नागरिक भनेर छुट्याउने छैन ।

जिल्लाभरका बुथमा औषधी सेवनको अवस्था माथि उक्लन सकेको देखिएन । यद्यपि बुथ टाढा भएर भने होइन, हरेक दश मिनेटको पैदल यात्रामा दाङ जिल्लाभर यो अभियानका लागि बुथ व्यवस्थापन भएका छन् । जिल्लाका दशवटा पालिकामा १ सय वडाहरू छन् । शनिवार एउटा वडामा मात्रै करिब ५ देखि १० वटासम्म बुथको व्यवस्थापन सम्बन्धित पालिकाहरूले गरेका छन् । ‘यसलाई राष्ट्रिय अभियान मात्र नभएर राष्ट्रिय उत्सवकै रूपमा लिइनुपथ्र्यो तर अभियानमा जनसहभागिता अत्यन्तै न्यून हुँदै गएको छ’, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले भने ।

उनले रेडक्रस साधारणसभामै औषधी सेवन गरेका थिए । केही सञ्चार माध्यमहरूले पनि विगतका वर्षहरूमा यो औषधीका विषयमा गलत अफवाह फैलाएका कारण जनमानसमा केही नकारात्मक भावना पैदा भएको पनि उनको बुझाइ छ । यसलाई आम नागरिकले आफ्नै लागि भएको अभियान भनेर अपनत्व लिनुपर्ने पनि उनको सुझाव थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्षको हात्तीपाइले विरूद्धको आम औषधी सेवन अभियानमा कम्तिमा ६ लाख जिल्लाबासीलाई हात्तीपाइले विरूद्धको औषधी डाइइथाइल कार्वापामाजिन (डिइसि), अल्वेन्डाजोल (जुकाको औषधी) र अन्य परजीवी विरूद्धको औषधी ओभिमेक्शीन पनि थपिएको छ । अभियानको थप प्रभावकारीका लागि एउटा औषधी थपिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यस अघिका औषधीहरू कम्तिमा ६ पटकसम्म नियमित खानुपर्ने भए पनि अब ३ पटक लगातार औषधी सेवन गरेपछि त्यस्ता व्यक्तिहरूमा हात्तीपाइले रोगको परजीवी फैलन सक्ने छैन ।

औषधी सेवन कार्यक्रम सफल नभएका कारण राज्यले वर्षेनी अर्बौँ रूपैयाँ नोक्सानी व्यहोर्दै आएको छ । दाङमा मात्रै यो अभियानको अभिमुखीकरण कार्यक्रम, सहभागीहरूलाई भत्तालगायतको व्यवस्थापनमा करिब १ करोड रूपैयाँ खर्च हुने जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग विरूद्ध आम औषधी अभियानका फोकलपर्शन कमल चन्दले बताएका छन् । यो औषधीबाहेकको खर्च हो । जिल्लामा अझै पनि संक्रमणको दर मोटामोटी ४ प्रतिशत छ ।

हालसम्मको तथ्याङ्कले दाङ जिल्लामा १२औँ अभियानसम्म करिब ६५ प्रतिशत नागरिकले मात्रै हात्तीपाइले रोग विरूद्धको औषधी सेवन गरेका छन् । संक्रमणको दर ४ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेपछि मात्र यहाँ अभियान बन्द हुनेछ । कार्यालयले यो वर्ष संक्रमणको दर २ प्रतिशतमा झार्ने लक्ष्य लिएको जनस्वास्थ्य कार्यालयका प्रमुख अंगतबहादुर शाहीले बताए तर यसलाई औषधी सेवनको तथ्याङ्कले स्पष्ट पार्नेछ । औषधी सेवन गर्नेहरूको संख्या अत्यधिक वृद्धि भएमा मात्र यो अभियानको सफलता मानिने बताइएको छ ।