गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । बद्लिँदो समयसँगै समाजमा अपराधका घट्नाहरू समेत बढ्दै गएकाले नागरिकलाई सचेत गराउन सामुदायिक प्रहरी सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
सामुदायिक सेवा केन्द्र दाङको १८औँ साधारणसभा तथा ९औँ अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरूले सामुदायमा लागूऔषध दुव्र्यसनी न्यूनीकरणदेखि अपराधलगायतका घटनाहरूलाई नियन्त्रणका लागि केन्द्रले सचेतनामुलक कार्यक्रमहरू बनाएर विद्यालयदेखि गाउँगाउँसम्म पुग्नुपर्नेमा जोड दिएका हुन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले समाजमा लागूऔषधदेखि आत्महत्याको डरलाग्दो अवस्था देखिएको भन्दै यसलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको बताए । प्रहरी प्रमुख काफ्लेले दिनहु जिल्लामा आत्महत्याका घट्ना वृृद्धि हुनु दुःखद भएको भन्दै आत्महत्याका घट्नाहरू रोकथाम गर्न सामुदायिक प्रहरीले गाउँ–गाउँमा सचेतनामुलक कार्यक्रमहरू गर्न आवश्यक रहेको बताए ।
‘अहिले दैनिकजसो आत्महत्याका घट्नाहरू प्रहरीसम्म आउने गरेका छन् । यो डरलाग्दो संकेत हो’, प्रहरी प्रमुख काफ्ले भने, ‘आत्महत्यालाई रोक्न विद्यालयदेखि गाउँतहसम्म सचेतनाका कार्यक्रमहरू गर्न आवश्यक छ, त्यो काम सामुदायिक सेवा केन्द्रले गर्न सक्छ ।’ प्रहरी प्रमुख काफ्लेले जिल्लामा ८ वर्षीय बालकदेखि ७० वर्षीय बृद्धहरूले समेत आत्महत्या गर्ने गरेको बताए ।
यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अपराधका क्रियाकलाप रोकथाम गर्न गाउँगाउँसम्म सचेतनाका कार्यक्रम गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार बलदेव योगी, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख हृदेश सापकोटा, सल्लाहकार माया पोख्रेल, दीपक शर्मा समिरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव आरके शीतलले प्रगति तथा कोषाध्यक्ष कैलाश रोका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहसचिव केबी घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको उ्दघाटन कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए । कार्यक्रममा आजीवन सदस्यता समेत वितरण गरिएको थियोे ।
केन्द्रको अध्यक्षमा आर.के. शीतल
यसैबीच सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आरके शीतल निर्वाचित भएका छन् । केन्द्रको शनिवार घोराहीमा भएको १८औँ साधारणसभा तथा ९औँ अधिवेशनले शीतलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा कैलाश रोका मगर, सचिवमा केवी घर्ती, सहसचिवमा मनिराम आचार्य ‘मौषम’, कोषाध्यक्षमा जीवन वली रहेका छन ।
यसैगरी सदस्यहरूमा बसन्त पुन, बसन्ता भण्डारी, लक्ष्मी जोशी, मिना पौडेल, सरस्वती सुवेदी, अमर डाँगी, उमेश खड्का, दीपेन्द्र पुन र देवीराम न्यौपाने रहेका छन् । केन्द्रको प्रतिनिधि सदस्यमा जिल्ला प्रहरी कार्यालय दाङ रहने व्यवस्था रहेको छ । अधिवेशनले सल्लाहकारमा भूपेन्द्र सुवेदी, नरेशजंग राणा, बलदेव योगी, निशान्त आचार्य, माया पोख्रेल, खड्ग बुढाथोकी र दीपक शर्मा ‘समिर’लाई चयन गरेको छ ।