प्रजनन् स्वास्थ्यबारे सचेत बन्न आग्रह

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । दाङ महिला जेसीजले प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा आयोजना गरेको कार्यक्रममा स्थानीय महिलाहरूलाई प्रजनन् स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिइएको हो ।

दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा किशोरी अवस्थादेखि वृद्धावस्थासम्म देखिने प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या र समाधानका उपायका बारेमा अन्तत्र्रिmयात्मक रूपमा मितेरी हस्पिटल घोराहीका स्त्री रोग विशेषज्ञ डा अनुपमा शर्माले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत बन्न आग्रह गर्दै रोग लुकाएर नबस्न आग्रह गरेकी हुन् । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएको भन्दै योगीले आफ्नो स्वास्थ्यबारे सबै महिलाले ख्याल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, निवर्तमान अध्यक्ष ममता विष्ट, पूर्व अध्यक्ष निरजा पोख्रेल, त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता, एकता महिला वहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष रेवा अधिकारी, सहभागीको तर्फबाट माध्यमिक विद्यालय गोग्लीका शिक्षक पवित्रा खनाललगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक भीमा डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शाखा सम्पादक अर्चना शर्माले आस्था पाठ गराएकी थिइन् । कार्यकारी उपाध्यक्ष सुनिता थापाले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन् । कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।