मानव सेवामा समर्पित रेडक्रस

रेडक्रस दाङको साधारणसभा
गोरक्ष समाचारदाता
तुलसीपुर, २९ फागुन । मानव सेवामा सर्मपित नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले मानवता, निष्पक्षता, स्वयं सेवा एकता स्वाधीनताका आधारभूत सिद्धान्तहरूमा रही विभिन्न कार्यहरू गरेको सहभागीहरूले बताए छन् । विसं २०२९ सालमा दाङ जिल्लामा शाखाको स्थापना गरिएसँगै स्थापनाकालदेखि हालसम्म मानवीय सेवामा प्रभावकारी भूमिका रेडक्रसले निर्वाह गर्दै आइरहेको तुलसीपुरमा आयोजना गरेको ३८औँ जिल्लासभामा सहभागीहरूले बताए ।

‘रेडक्रसका विभिन्न सिद्धान्तहरू छन्, तीमध्ये मानवीय सम्मानलाई सुनिश्चित गर्नु, समझदारी, मित्रता, तटस्थता, स्वयम्सेवा, एकता विश्वाव्यापीदेखि रेडक्रसले विभिन्न कार्यक्रहरू गरेको छ’, कार्यक्रममा बोल्दै संस्थापक मन्त्री नवराज रजौरेले भने । उनले त्यससँगै विभिन्न दातृ निकायहरूको सहयोगमा पानीको अभाव भएका स्थानमा खानेपानीको उपलब्धता, स्वास्थ्य, स्वच्छतालगायतका क्षेत्रमा नेपाल रेडक्रसले महत्वपूर्ण कार्य गरेको उनले बताए । त्यस्तै कार्यक्रममा सहभागीहरूले नेपाल रेडक्रस सोसाइटी दाङले ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै दाङको तुलसीपुर, घोराही र लमहीमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरी रगतको अभावलाई परिपूर्ति गरेको बताए ।

रेडक्रसले राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा र लमहीमा स्थानीय संघसंस्था, रक्तदाताहरूको सहयोगमा रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरिरहेको भन्दै सो कार्यले दाङबासीलाई सहज भएको बताए । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाका शाखा सभापति नारायण आचार्यको अध्यक्षता तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. विनोद सिंहको प्रमुख आतिथ्यता एवं नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष भगवती शर्माको विशिष्ट आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि सिंहले रेडक्रसले विभिन्न विपद्का क्षेत्रमा काम गर्नुका साथै सेवा गर्ने क्रममा सहकार्य गरेर ब्लड बैंक सञ्चालन गरेको बताए ।

‘रेडक्रसले बिरामीहरूको लागि आवश्यक ब्लडको व्यवस्था गरेका कारण हामीले विभिन्न शल्यक्रियाहरू यहाँ गर्न पाएका छौँ, यति हुँदैनथ्यो भने जिल्ला बाहिर जानुपर्ने थियो’, उनले भने । उनले विभिन्न शल्यक्रिया तथा सुत्केरीहरूलाई आवश्यक पर्ने ब्लड यहीँ उपलब्ध गराउँदा आफूहरूलाई सेवामा सहजता भएको बताए । ‘बाढी–पहिरो आपत–विपददेखि रक्त सञ्चार सेवा समेत यसले दिएको छ, मानवीय सेवामा रेडक्रस सधै समर्पित छ’, उनले भने । कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय उपकोषाध्यक्ष भगवती शर्माले नेपाल रेडक्रसले नेपालमा विभिन्न मानवीय कार्यमा अतुलनीय कार्यहरू गरेको बताइन् ।

‘नेपालमा स्वयम्सेवक व्यवस्थापनको सन्दर्भमा विभिन्न स्तरमा तालिम र कार्यशालाहरू आयोजना गरी दक्ष स्वयम्सेवकहरूको संलग्नता अभिवृद्धि गर्नका लागि विशेष पलह भएको छ, अन्य मानवीय सहायता पनि त्यत्तिकै हामीले गरेका छौँ’, उनले भनिन् । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसी, वडा नं. ६ का वडा सदस्य वर्षात भण्डारी, सिटी अस्पतालका प्रबन्धक हेमराज बस्नेत, स्वतन्त्र पत्रकार संघका अध्यक्ष जित सागर जिएमलगायतले नेपाल रेडक्रस सोसाइटीले विभिन्न मानवीय कार्यहरू गरेको भन्दै संकटासन्न समुदायमा मानवीय सेवाको पहुँच वृद्धि गर्नु अहिलेको आवश्यकता रहेको बताएका थिए ।

उपसभापति मदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पञ्चकुले उपशाखाका सभापति जुद्धवीर खाम्चा, घोराही उपशाखाका थम्मन चौधरी, उरहरी उपशाखाका लेखराज बस्नेत, गढवा उपशाखाका सभापति दयाराम यादव, बागर उपशाखाका सभापति श्रीधर शर्मालगायतले आप्mना शाखाको गतिविधि प्रस्तुत गरेका थिए ।

सभामा मन्त्री प्रकाश श्रीवन्दले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष कुशल तर्तालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण मन्त्री प्रकाश श्रीबन्धले गरेका थिए । सो अवसरमा रेडक्रसलाई सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको थियो ।