‘विद्युतीय व्यवसायबाट समृद्धि’

रोशनी मल्ल
दाङ, २९ फागुन । विद्युतीय व्यवसायी संघ दाङको दोस्रो साधारणसभा देउखुरीको लमहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षता तथा लमही नगरपालिकाको नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको साधारणसभा बोल्दै नगर प्रमुख केसीले विद्युत व्यवसायका माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउन अग्रसर हुन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डेय, नेपाल विद्युतीय व्यवसायी लुम्बिनी प्रदेश संयोजक नन्दलाल ढकाल, लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष विमबहादुर केसी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, काठमाडौं विद्युत व्यवसायी संघका सरोज रेग्मी, दाङ विद्युतीय व्यवसायी संघका वरिष्ठ सल्लाहकार ऋषिराम गौतमलगायतले मन्तव्य व्यक्त गर्दै विद्युत व्यवसायीहरूको सुरक्षा, हितका सम्बन्धमा एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

संघका सदस्य हिमाल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विन्दु काफ्लेले गरेका थिए । काठमाडौं विद्युत व्यवसायी संघका सरोज रेग्मीको आर्थिक सहयोगमा लमही, गढवा, घोराही र तुलसीपुरका चारवटा चोकहरूमा १ सय ५० वाटका फ्लोड लाइट राखिने भएको छ ।