जिम्मेवार बनौँ र बनाऔँ

नारायणप्रसाद श्रेष्ठ
मानव उत्पत्तिसँगै सामाजिक बनोटको अधारमा तोकिएको जिम्मेवारीले मानवलाई मानव भएर जिउने आधार तयार गरेको हुन्छ । तसर्थ, जीवनलाई सफल बनाउनु छ भने प्रत्येकले आफूलाई सुम्पेको जिम्मेवारीलाई इमान्दारीपूर्वक निभाउनु पर्छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार प्रत्येकलाई कुनै न कुनै किसिमले जिम्मेवारी तोकेको हुन्छ ।

जिम्मेवारविहीन मानव हुँदैन । फरक यत्ति हो कि कतिले आफूलाई तोकिएको दायित्व इमानदारीपूर्वक निर्वाह गरेका हुन्छन् भने कतिपयले यसको महत्व र आधारलाई बेवास्ता गरी दुःखी बनेको पनि पाइन्छ । त्यसैले जिम्मेवारविहीन मानिस हुँदैनन् भन्ने सत्यलाई ग्रहण गरी जीवन र जगतलाई प्रकृतिको नियमानुसार गतिशील बनाउँदै पवित्र र समुन्नत समाजको परिकल्पना गर्न आफूलाई प्राप्त जिम्मेवारी इमानदार भएर निभाउनु पर्छ । जीवनमा देखापर्ने जति पनि आरोह अवरोह छन् ती सबै आफूलाई प्राप्त जिम्मेवारी वहन नगर्दाको परिणाम हुन् ।

किनकि जिम्मेवारीबोध गरेको व्यक्तिले जीवनमा आउने सुख, दुःखलाई कुनै वास्ता गरेको हुँदैन । उसको एक मात्र उद्देश्य कसरी आफूलाई प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक सम्पन्न गर्ने रहेको हुन्छ । जिम्मेवार बन्नु भनेको घर, समाज, परिवारलाई सहज र स्वच्छ वातावरणमा गतिशील बनाउनु हो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ जहाँ जिम्मेवारी हुन्छ त्यहाँ चुनौती र समाधान पनि हुन्छ । चुनौती नभएको जिम्मेवारी हुँदैन ।

त्यसैले आफू र आफ्नो परिवेशलाई बुझेर म जिम्मेवारी निभाउन आएको हुँ, जिम्मेवार भएर काम गर्नु मेरो दायित्व हो भनी आफूलाई समर्पण गर्नुपर्छ । जिम्मेवारीबाट टाढा भाग्नु भनेको आफूले आफूमाथि अपराध गर्नु हो । तसर्थ, असल नागरिक भइ घर, परिवार, समाज, राष्ट्रप्रतिको जिम्मेवारीलाई अनुशासित भइ कर्म र व्यवहारबाट प्रष्ट्याउनु पर्छ । असल नागरिक राष्ट्रका खम्बा हुन् । असल र सक्षम नागरिक तब बन्न सकिन्छ जब आफू इमानदार र जिम्मेवार बन्न सकिन्छ । त्यसैले जीवनलाई सहज र स्वच्छ वातावरणमा गतिशील बनाउन प्रत्येकले आफूमा रहेको जिम्मेवारीबोध गरी समाज, राष्ट्र मेरो लागि हो, मबाटै समाजको, राष्ट्रको समुन्नत हुनसक्छ भन्ने सत्य बुझी आफूलाई समर्पण गर्नुपर्छ ।

अनुशासित र कर्तव्यपरायण भइ आचरणयुक्त व्यवहार गर्दै आफूलाई सुम्पेको र आफूमा अन्तरनिहित जिम्मेवारी बोध गर्नु भनेको जीवनलाई उत्तम गति प्रदान गर्नु हो । आम सन्तुष्टको बलियो आधार भनेको नै इमानदारीपूर्वक जिम्मेवारी वहन गर्नु हो । जहाँ जिम्मेवार र कर्तव्यनिष्ठ भइ जिम्मेवारी निभाउने गरिन्छ त्यहाँ आनन्द र आत्मसन्तुष्टिको वातावरण रहन्छ । त्यसैले जिम्मेवारी निर्वाह गर्दा सामाजिक बनोटमा रहेको अहंकाररुपी मानसिकतालाई हटाउनु पर्छ । अहंकार मानिसलाई पतन गराउने तत्व हो । यसले कुनै पनि क्षण मनिसलाई पतन गराउन सक्छ ।

अहंकारले न त विश्वासको वातावरण ल्याउँछ न त समस्याको समाधान गर्नेतर्फ विचार संप्रेषण गर्ने परिस्थिति ल्याउँछ । अहंकारी स्वभाव भनेको घमण्ड र तामसी स्वरुप हो । त्यसैले लोभ, मोह, अहंकारबाट अलग रही विवेकशील भएर प्रत्येकले आफ्नो जिम्मेवारी निभाउनु पर्छ । जिम्मेवारीले विश्वास र भरोसाको वातावरण बनाउँछ । त्यही जिम्मेवारी र विश्वासले समाजलाई परिस्कृत गर्दछ, जीवनलाई सहज बनाउँछ । जहाँ विश्वास र इमानदारी हुन्छ त्यहाँ भरोसा र सम्मान हुन्छ । भरोसा जीवनलाई उत्तम गति दिने मूल आधार हो ।

तसर्थ, यही विश्वास र भरोसालाई जीवन्त राख्न प्रत्येकले आफूलाई जिम्मेवार बनाउनु पर्छ । यसलाई इमानदारीपूर्वक निभाउनु पर्छ । तब मात्र जीवनले सफलता हासिल गर्छ । अहिलेको वातावरणलाई हेर्ने हो भने वाह्य आवरणमा देखावटी भनी मानिसले कति नै जिम्मेवारी निभाउँछु भनी जिम्मेवारी लिएको पनि देखिन्छ । जिम्मेवारी लिने तर निर्वाह गर्ने क्रममा अरुबाट निभाउन लगाइ आफूलाई इमानदार बनाउन खोजेको पनि देखिन्छ । अर्को भाषामा जिम्मेवारी निभाउन नसक्ने तर फुर्सा गफ गर्ने परिपाटी पनि देखिन्छ ।

वास्तवमा यस्तो परिस्थिति आउनु भनेको आफूले आफैलाई पतीत बनाउनु हो, जिम्मेवारीबाट टाढा भाग्नु हो । यस्तो जीवनमा क्षणिक केही सन्तुष्टि त पक्कै होला तर केही समयपछि यही कुरा अभिशाप बन्नसक्छ । काम गर्न नजान्ने आँगन टेढो भनेको यस्तै हो । आफूले आफैलाई पतीत बनाउनु मानिस स्वयम् आफै जिम्मेवार हुने हुँदा आफूलाई प्रकृतिले प्रदत्त गरेको तथा समाजले आशा र भरोसा राखेको जिम्मेवारीपनलाई यो मेरो दायित्व हो भनी ठानी आफूलाई प्रयत्नशील गराउनु पर्छ ।

तसर्थ जीवनको हरेक मोडमा आउने उतारचढावलाई यो मेरो जीवनको परीक्षाको घडी हो भनी सोची आफूलाई तल्लीन गराउनु पर्छ । जसले निरन्तर रुपमा आफूलाई प्राप्त जिम्मेवारी निभाइरहेको हुन्छ उसले अवश्य पनि सफलता हासिल गर्न सक्छ, शिखर चुम्ने अवसर पाउँछ । भनिन्छ संघर्ष नै जीवन हो । जीवनमा धेरै अप्ठेरो–सप्ठेरो समस्या आउँछन् । जसले जिम्मेवारी निभाउने कोसिस गर्छ उसैलाई यस्तो अवस्था आउने हो । जिम्मेवारी निभाउन नजान्नेको त कुरै नगरौँ किनकि उसको जीवनले कहिल्यै पनि उद्देश्य हासिल गरेको हुँदैन । यदि जिम्मेवारी लिएर कसैले काम गर्छ भने उसैलाई चुनौती र समस्या आउने हो । जहाँ चुनौती र समस्या आउँछ त्यहाँ नै समाधानको उपाय हुने हुँदा निरन्तर रुपले तोकिएको जिम्मेवारी निभाउँदै अगाडि बढ्नु पर्छ । आशा र भरोसामा बाँचेको जीवनले यसरी नै आफूलाई गतिशील बनाउनु पर्छ ।

प्यासीलाई पानीको पहिलो घुट्काले जसरी शीतलता दिन्छ र आनन्दको महशुस गराउँछ त्यसरी नै जिम्मेवारी पूरा गर्दै गरेको अवस्थामा जीवनले त्यस्तै शीतलता र आनन्द महशुस गरेको हुन्छ । खोला त¥यो लौरी बिर्सियो भनेजस्तो नगरी जीवनको यात्रामा आउने यस्ता कैयौँ खोलानाला पार गर्न लौरो नै सहारा बन्ने हुँदा त्यसरी नै एकपटक तोकिएको जिम्मेवारी पूर्ण भयो भन्दैमा रमाउनु र अहंकार प्रदर्शन गर्नु हुँदैन । यस्ता जिम्मेवारी त जीवनको गतिमा धेरैपटक आउँछन्, समाधान हुन्छन्, पुनः आउँछन्, यो त प्राकृतिक न्यायको सिद्धान्त हो । यसैलाई जीवनको उतारचढाव भनिन्छ । कहिले खुसी कहिले गम यसै कारण भनिएको हो ।

जीवनको उत्पत्ति हुने नासिने प्रक्रिया जसरी सृष्टिको संरचनामा देखिन्छ त्यसरी नै जिम्मेवारी पनि आउने, समाधान हुने र फेरि आउने यो प्रक्रिया चलिरहन्छ । यसलाई कसरी आत्मसात गरी निर्माण गर्ने भन्ने मात्र हो । जसले विश्वास र भरोसायुक्त जीवन निर्वाह गर्न चाहन्छ उसले आफ्नो जिम्मेवारी इमानदरपूर्वक निर्वाह गरिरहेको हुन्छ । त्यसैले प्रत्येक क्षणमा जीवनमा आइपर्ने जिम्मेवारीलाई यो मेरो दायित्व हो र यसलाई पूरा गर्नु मेरो जिम्मेवारी पनि हो भन्ने सोच गरी विवेकशील बन्नुपर्छ भनिएको हो ।

अनुशासित एवं कर्तव्यपरायण भएर जीवनलाई गतिशील बनाउँदै सामाजिक प्रतिष्ठा कायम गर्नु छ र समाजको आँखाको नानी बन्नु छ भने प्रत्येकले आफ्नो जिम्मेवारी इमानदारपूर्वक निभाउनु पर्छ । वर्तमानलाई हेर्ने हो भने यहाँ सामाजिक विकृतिको रुपमा रहेको जो होँचो उसैको मुखमा घोँचो भन्ने उखान चरितार्थ हुने गरी हुकुमी शासन गर्ने परम्पराले पनि निकै प्रश्रय पाइरहेको देखिन्छ । वास्तवमा यस्तो प्रवृत्ति देखापर्नु भनेको आफूले आफैलाई धोका दिनु हो । कुखुराले आफूले खोर्सेको माटो आफ्नै आङमा हाल्छ भनेझैँ हो ।

आफूले केही नगर्ने तर ठूलाठूला कुरा गर्ने परिपाटीले वर्तमानले जसरी मानवीय चरित्रमा प्रभाव पार्न खोजिएको छ वास्तवमा यस्तो हुनु समाज र राष्ट्रका लागि दर्भाग्य हो । तसर्थ जिम्मेवार व्यक्ति नै सफलताको शिखरमा पुग्ने हुँदा यस कुरालाई कहिल्यै बिर्सनु हुँदैन । जिम्मेवार बनौँ, जिम्मेवारी बनाऔँ, यो वर्तमानको आवश्यकता हो ।