‘सायद मैले ज्योति गुमाउनु पर्थेन’

नेत्रज्योति संघको साधारणसभा
खेमराज रिजाल
तुलसीपुर, २५ फागुन । ‘सायद मैले आँखाको ज्योति गुमाउने थिएन, त्यो बेला तुलसीपुरमा यस्तै अस्पताल भैदिएको भए’, नेपाल नेत्रज्योति संघ दाङको १८औं बार्षिक साधारणसभामा नेपाल नेत्रहीन संघ दाङका अध्यक्ष रामबहादुर खड्काले शुभकामना मन्तव्य दिँदै भने– ‘अहिले त त्यतिवेलाको ‘म’ जस्ता हजारौं आँखाका रोगीहरुले यही उपचार सेवा पाएर आफ्नो आँखाको ज्योति बचाइराखेका छन् ।’

अर्काको सहारा लिएर मञ्चसम्म माइक समाउन पुगेका खड्काले आफूले नदेखे पनि सुने अनुसार यहाँ नानी प्रत्यारोपणदेखि आँखाको रेटिनाको उपचार तथा अंकलोप्लाष्टिसम्मका उपचार सेवाले यहाँका धेरैलाई अन्धो हुनुबाट जोगाएको अभिव्यक्ति पनि दिए । साथै अस्पतालले अझै अत्याधुनिक उपचार पद्धति भित्र्याउन सफल होस् भनी शुभकामना पनि दिए । साथै नेपाल नेत्रज्योति संघलाई आँखाको उपचार मात्रै नभएर ज्योति गुमाएकाहरुलाई पुनःस्थापनाको व्यवस्थापन गर्न पनि आग्रह गरे । साथै उनले आफ्नो संस्थाले पनि आँखाको ज्योति गुमाइसकेकाहरुलाई निःशुल्क रुपमा पठन–पाठनको व्यवस्थापन गर्ने समेत आश्वासन दिए ।

नेपाल नेत्रज्योति संघले आफ्नो अठारौं बार्षिकोत्सव तथा साधारणसभा मनाइरहँदा यसै संघद्वारा सञ्चालित राप्ती आँखा अस्पतालले तीन वटा विधामा सुपरस्पेशलिष्ट सेवा समेत प्रदान गर्न थालेको सो अवसरमा जानकारी गराइएको छ । त्यससंगै अव नेत्रज्योति संघद्वारा सञ्चालित अस्पताललाई नेत्र विज्ञान अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका रुपमा अघि बढाइने पनि उद्घोष गरिएको छ । स्थापनाकालको करीब डेढ दशकको अवधिमा नेत्रज्योति संघ दाङद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, छन्द कालेबावु आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पतालले कम्तीमा ३१ लाख ७३ हजार भन्दा बढी आँखा रोगीहरुको उपचार गरिसकेको छ ।

त्यसमध्ये करीव २ लाखको शल्यक्रिया समेत गरीएको साधारणसभाका अवसरमा प्रमुख प्रशासक सम्सेर थापाले जानकारी दिएका छन् । प्रशासक थापाले नेपालसँगै लुम्विनी प्रदेशभरमा नेत्रज्योतिको समस्या भएका विभिन्न प्रकृतिका विरामीहरुको तथ्यांक समेत प्रस्तुत गरेका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथिको मन्तव्य दिँदै संघका सल्लाहकार तथा तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डीराज लामीछानेले अस्पतालले गर्दै आएको आँखा उपचार सेवाको रिपोर्टिङ सन्तोषजनक भएको भन्दै यसलाई अझै प्रभावकारी र प्रविधिमैत्री बनाउन आग्रह गरे ।

‘अस्पतालको रिपोर्टिङ विश्लेषण गर्दा हामी सन्तुष्ट छौं, तर यसैमा रेष्ट गर्नुपर्ने अवस्था भने होइन, अझै उपचार सेवालाई प्रविधिमैत्री र थप प्रभावकारी बनाउन नेतृत्व वर्गलाइ आग्रह गर्दछु’, प्रमुख अतिथि लामिछानेले भने । उनले नेपाल नेत्रज्योति संघ दाङ शाखाले सञ्चालन गरेको आँखा उपचार सेवा पश्चिम नेपालकै अनुकरणीय भएकाले यो शाखालाइ दाङ शाखाको साँघुरो घेराबाट मुक्त गराएर प्रदेशकै नेतृत्व गर्न सक्ने गरी केन्द्रमा लविङ गर्न पनि आग्रह गरे । साथै उनले आँखा उपचार सेवालाई जनउत्तरदायी र स्थानीय सरकारसँग जोड्नका लागि हरेक पालिकामा आँखा उपचार हेल्प डेक्स स्थापना गर्न पनि सुझाव दिए । साथै अस्पताललाई रिसर्च सेन्टरका रुपमा स्तरबृद्धि गर्नका लागि आफूले पनि संबन्धित क्षेत्रमा पहल गर्ने पनि उनको आश्वासन थियो ।

अस्पतालले पछिल्लो समयमा सिटिइभिटीको सम्वन्धन प्राप्त गरी अप्थाल्मिक असिस्टेन्टको पठन–पाठन सुरु गरेको छ । हालसम्म यसले ११७ जना नेत्र सहायक उत्पादन समेत गरिसकेको छ । साधारणसभामा सभापति गिरीले अब राप्ती आँखा अस्पतालमै स्नातक तहसम्मकै अध्ययनको व्यवस्थापनका लागि पोखरा विश्वविद्यालयसंग सम्वन्धनका विषयमा छलफल समेत भइरहेको पनि साधारणसभाका अवसरमा जानकारी गराएका थिए । अस्पतालमा आँखा रोगमा रेटिना, अकुलोप्लाष्टि नथा नानी पत्यारोपणसम्मको विशेषज्ञ सेवा उपलव्ध हुँदै आएको छ । ‘अस्पतालको भौतिक विकास र अस्पताललाई सुविधान सम्पन्न गराउन हामीहरु लागेका छौं सबैको साथ र सहयोग हामीलाई आवश्यक छ सभापति गिरीले भने ।’

नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासनिक संयोजक चिरञ्जीवी रिजाल, लमही आँखा अस्पतालका घनश्याम सुवेदी तथा बहादुरगञ्ज आँखा अस्पतालका प्रशासनिक संयोजक शारदा चौधरीले आ–आफ्नो अस्पतालले बर्षभरी सम्पन्न गरेका कामका विषयमा प्रस्तुती देखाएका थिए । तीनवटै अस्पतालका प्रमुख प्रशासक शमशेर थापाले अस्पतालले स्थापनाकालदेखि हालसम्म सम्पादन गरेका उपचारसेवाको फेहरिस्त प्रस्तुत गर्दै अस्पतालका भावी योजनाका विषयमा पनि जानकारी गराएका थिए ।

साधारणसभाका अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य गेहेन्द्र वली, नेकपा एमालेका उपसचिव कृष्ण भुसाल, जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष जीवन भण्डारी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील बस्नेत, ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, पत्रकार शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सचिव सुरेन्द्र खड्काले बार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव सुरेन्द्र खड्काले गरेका थिए ।

साधारणसभाको बन्द सत्रले सचिव खड्का र कोषाध्यक्ष आचार्यले प्रस्तुत गरेका प्रतिवेदनको सर्वसम्मतरुपमा अनुमोदन गर्दै संघलाई प्रभावकारी बनाउन र थप क्रियाशील बनाउनका लागि सदस्यता थप गर्न कार्यसमितिलाई आग्रह गरेको थियो । सघद्वारा सञ्चालित अस्पतालहरुले तीन अस्पतालमा विशेषज्ञ उपचारसेवासँगै लुम्विनी प्रदेश मात्र नभएर कर्णाली प्रदेशसम्मका स्थानीयबासीलाई पनि आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । केही जिल्लामा आँखा उपचार केन्द्र तथा केही जिल्लामा साप्ताहिक क्लिनिक समेत सञ्चालन गर्दै आएको छ ।