नारायणपुर खानेपानीको साधारणसभा
खेमराज रिजाल
नारायणपुर, २२ फागुन । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण, सहरी विकास तथा खानेपानीमन्त्री डिल्लीबहादुर चौधरीले जनताले पिउने पानी असाध्यै महँगो भएको बताएका छन् । नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७औँ साधारणसभा तथा छैठौँ अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले केही खानेपानी संस्थाले धारा जडान र सेवा शुल्कका नाममा चर्को शुल्क उठाउँदा गरिब जनताले पानी पाउनै असहज भएकाले शुल्क समायोजन गर्न समेत उनले आग्रह गरेका छन् ।
‘नेपालको संघात्मक लोकतान्त्रिक संविधानले खानेपानीलाई जनताको मौलिक हकका रूपमा स्थापित गरिसकेको छ, जनताको संविधान प्रदत्त मौलिक हकको सुनिश्चित गर्न नागरिकलाई क्षमताभन्दा बाहिरको शुल्क घटाउन आवश्यक छ’, प्रमुख अतिथि चौधरीले भने । खानेपानीको सहज उपलब्धताका लागि प्रदेशले यस क्षेत्रमा लगानी बढाउन थालेको बताउँदै सरकारबाट सहयोग लिनका लागि प्रस्ताव सहित बजेट माग गर्न पनि उनको आग्रह थियो ।
उनले प्रदेश सरकारले प्रदेशभरका नागरिकलाई सहज रूपमा पानी उपलब्ध गराउन आवश्यक मात्रामा बजेट उपलब्ध गराउने पनि दाबी गरे । ‘मैले देखेको छु, एउटा उपभोक्तालाई धारा जडान गर्न यहाँका केही संस्थाहरूले ५० हजारसम्म जडान शुल्क लिने गरेका छन्, यो गरिब जनताका लागि असम्भव जस्तै हो र संविधानतः मिल्दैन’, मन्त्री चौधरीले भने, ‘प्रदेश सरकार यसमा सहजीकरण गर्न तयार छ ।’
साथै उनले पछिल्लो समयमा चुनढुङ्गा उत्खनन् मुहान जोगाउने सन्दर्भमा चुनौतीका रूपमा देखिएको भन्दै मुहान क्षेत्रमा यस्ता सम्भावित उत्खनन्को स्वीकृति रोक्न पनि उपभोक्ताहरू सचेत हुनुपर्ने बताए । वातावरणमा बढिरहेको तापमानका कारण वर्षातको दर कम हुँदै गएको, अव्यवस्थित सहरीकरणले परेको पानी पनि संस्लेषण हुने क्रम कमी भएको तथा पानी सोस्ने चुनढुङ्गालगायत वनजंगल पनि विनाश हुँदै गएकाले मुहान जोगाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको मन्त्री चौधरीको भनाइ थियो ।
साथै उनले नारायणपुर क्षेत्र भर्खरै बजार उन्मुख क्षेत्र रहेकाले यहाँ पाँच वर्ष अघि अनुमान गरिएका योजनाबाट मात्रै उपभोक्तालाई सहज रूपमा पानी उपलब्ध गराउन समस्या हुने भन्दै थप स्रोतको खोजी तथा योजना सञ्चालनमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको मन्त्री चौधरीको भनाइ थियो । ‘हाम्रो बजेटले भ्याउने योजना आफैले सञ्चालन गरौँला, अझै दीर्घकालीन रूपमा ठूला योजनाको सम्भावना छ भने संघीय सरकारसँग पहल गर्न पनि म तयार छु’, मन्त्री चौधरीले भने ।
कार्यक्रममा संविधानसभा सदस्य तथा विशिष्ट अतिथि राजु खनालले घोराही उपमहानगरपालिकाको यो उदाउँदो बजार नारायणपुरमा पहिले परिकल्पना गरिएका योजनाहरूबाट मात्रै पानीको आवश्यकता पूर्ति गर्न कठिन हुने भन्दै हरेक वर्ष थप स्रोतको खोजी गर्दै योजना ल्याउनुपर्ने सुझाव दिए । आफू सांसद हुँदा यस क्षेत्रमा खानेपानीको सहज आपूर्तिका लागि उल्लेख्य सहयोग गरेको भन्दै पछि पनि यस क्षेत्रको समग्र विकासमा आफूले हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘उहिलेको नारायणपुर र अहिलेको नारायणपुरमा धेरै फरक छ, जनसंख्या र उपभोक्ता धेरै बढिरहेका छन्, यो अवस्थामा थप स्रोतको पहिचान गरी योजना कार्यान्वयनमा ल्याउनुको कुनै विकल्प संस्थासँग अब छैन’, विशिष्ठ अतिथि खनालले भने । संस्थाका अध्यक्ष कूलप्रसाद रजौरे(श्रवण)को अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा संस्थाका महासचिव अशोककुमार शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष महेश लम्सालले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बन्दसत्रले आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । नारायणपुर खानेपानीले हालसम्म कम्तिमा २ हजार ८ सय ३६ धारा वितरण गरिसकेको छ भने यसमा करिब १० हजार जति उपभोक्ताहरू आश्रित रहेका छन् । साधारणसभाकै अवसरमा संस्थाले निर्माण गरेको नवनिर्मित भवन पनि प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले विधिवत रूपमा उद्घाटन गरेका छन् ।
नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष रेशमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्साल, क्षेत्रीय सभापति भीमप्रकाश खड्का, प्रदेश सभापति तथा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, एमालेका तिलक महरा, माओवादी केन्द्रका बुद्धि चौधरी, समाजवादीका तीर्थबहादुर केसी, राजमोका चन्द्रबहादुर रावत, नारायणपुर खानेपानीका सल्लाहकार माधवप्रसाद पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी सो अवसरमा तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निवर्तमान अध्यक्ष खेमराज वली, भरतपुर खानेपानीका भरतमणि गौतम, वन उपभोक्ता महासंघका जानका केसी, बेलझुण्डी खानेपानीका देवा नेपाली, लमही खानेपानीका सीता चौधरी, खानेपानी तथा ढल निकास विभाग नेपालगञ्जका इन्जिनियर मनिषकुमार झा, डिभिजन खानेपानी दाङका गजेन्द्र बहकरी, उपभोक्ता वीरबहादुर रावत, छवा केसी, दधिराम शर्मा भण्डारी, प्रकाशकुमार ओझालगायतले साधारणसभा तथा अधिवेशनको सफलताको कामना गर्दै सकेसम्म सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव अशोककुमार शर्माले गरेका थिए ।
यसैबीच नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौँ महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि सर्वसम्मत नेतृत्व चयन गर्न राजनीतिक दलहरूको छलफल सुरु भइसकेको छ । यद्यपि, सर्वसम्मत नेतृत्व चयन हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । यसका लागि आज फागुन २२ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन फागुन २८ गते सम्पन्न हुने तयारी निर्वाचन समितिले गरेको छ ।