दाङ साहित्य उत्सव : कलम घोटेर चेतना

लिलाधर वली
दाङ, २२ फागुन । साहित्यकारहरूले कमल घोटेर चेतना प्रवाह गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा भएको दाङ साहित्योत्सव कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक परिवर्तनसँगै विभाजित मनहरूलाई छोड्न साहित्यले सशक्त भूमिका खेल्नसक्ने भएकाले स्रष्टाहरूले त्यसतर्फ कलम चलाउनुपर्ने बताएका थिए । त्यस्तै उनीहरूले साहित्य विकृति, विसंगतिलाई हटाउँदै रूपमान्तरणका लागि लेखिनुपर्नेमा जोड दिएका हुन् ।

दाङ साहित्य उत्सवलाई सम्बोधन गर्दै राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष समेत रहेका बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले साहित्यका माध्यमबाट विकृति र बिसंगतिलाई हटाउँदै विभाजित मनहरूलाई जोड्ने गरी साहित्य लेखिनुपर्ने बताएका थिए । चेतना प्रवाहका लागि साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भन्दै बरिष्ठ साहित्यकार शर्माले यस्तो बताएका हुन् । उनले साहित्यलाई विश्व समुदायमा मानवीय सभ्यता बचाउने, शान्ति र समृद्धिको पक्षमा लेखिनुपर्ने बताए । साथै उनले विभाजित विश्वासलाई मिलाउने काम साहित्यले गर्ने भन्दै अहिलेको समयमा साहित्यले काम गर्न सक्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले साहित्यले परिवर्तनका पक्षमा लेखिनुपर्ने भन्दै उनीहरूले साहित्यले मानवीय चेतना, सभ्यता, ज्ञान, उर्जा दिने काम गर्ने बताए । दाङको साहित्य विकासका लागि राप्ती साहित्य परिषद्ले महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको भन्दै प्रशंसा समेत व्यक्त गरेका थिए । कार्यक्रममा बरिष्ठ साहित्यकार एवं सम्मानित व्यक्ति गिरिराज शर्मा, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष समेत रहेका साहित्यकार डा. अमर गिरी, डा कृष्णराज डिसी, हरि पोख्रेल, घनश्याम अस्तित्व, रितु खनाल र संगीत मगरले कविता वाचन गरेका थिए । यसैगरी कार्यक्रममा लोकसंस्कृतिविद तथा लोकगायक डा गोविन्द आर्चाय, गायक तथा संगीतकार गोविन्दमधुर आचार्य र गायक तथा संगीतकार विपिन घिमिरेले गजल गायन तथा गजलकारहरू शशि शर्मा मजगैयाँ, ऋषि शर्मा सुदामा, बसन्त वली बसन्ती, दिलकुमारी बुढा, सानु कार्की र जमुना गौतम ‘ज्ञानु’ले गजल वाचन गरेका थिए ।

स्रष्टालाई सम्मान र पुरस्कार

यसैबीच साहित्यका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै राप्ती साहित्य परिषद् दाङ शाखाले दुई जना साहित्यकारलाई सम्मान र दुई जना साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रत्येक वर्ष शाखाले गर्ने सम्मान कार्यक्रमअन्तर्गत् २०७७ बाट कार्यक्रममा बरिस्ठ साहित्यकार गिरिराज शर्मा र २०७८ बाट साहित्यकार डा अमर गिरीलाई सम्मान गरिएको थियोे ।

यसैगरी यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार–२०७७ डा गोविन्द आचार्य र २०७८ बाट डा भीमार्जन आचार्यलाई प्रदान गरिएको थियोे । शाखाले प्रत्येक वर्ष एक जना अग्रज साहित्यकारलाई सम्मान र एक जना साहित्यकारलाई पुरस्कृत गर्ने गरेको छ तर गत वर्ष कोरोना संक्रमणका कारण कार्यक्रम गर्न नसक्दा गत वर्षको पुरस्कार र सम्मान यसपटक दिइएको हो ।

साहित्यपुञ्जको विमोचन

यसैबीच राप्ती साहित्य परिषद् दाङ शाखाले प्रकाशन गर्ने वार्षिक मुखपत्र साहित्यपुञ्जको विमोचन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मालगायतका अतिथिहरूले वार्षिक मुखपत्रको विमोचन गरेका थिए । वार्षिक मुखपत्रमा कथा, कविता, गजल, मुक्तकलगायतका साहित्यहरू समावेश गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षतामा कार्यक्रम भएको थियो । परिषद् दाङ शाखा उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गरेका थिए ।