गोरक्ष समाचारदाता
तुलसीपुर, २१ फागुन । ‘हामीले दिनदिनै ऐना हेरिरहेका हुन्छौँ तर आफूभित्र के छ भनेर कहिल्यै चिन्दैनौँ, अर्थात ऐनामा देखिने बाहिरी स्वरूपमात्रै हाम्रो पहिचान होइन’, यस्तै अभिव्यक्तिबीच तुलसीपुरको हरीपौरा स्थित मेट्रो कलेजले विद्यार्थीहरूका लागि एकदिने शैक्षिक बहस कार्यक्रम सम्पन्न गरेको छ ।
तुलसीपुर वहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)ले ‘सफल व्यक्तिका सफलताका कथा’ ‘हामी सक्छौँ, हामी गर्छाैँ’ विषयक कार्यक्रम आयोजना ग¥यो । त्यहाँ विद्यार्थीहरूसँग सफलताको कथाको आदानप्रदान पनि भयो । तुलसीपुरमा सायद यस्तो कार्यक्रम पहिलो पटक भएको हो । कार्यक्रममा तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत करिब ४ सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा उत्प्रेरक वक्ता डा.चिन्तामणि योगीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका उल्लेखनीय कामहरूको प्रशंसा गरे । उनले नेपालमै पहिलो पटक स्थानीय पालिकाले कानुन विषय पढाइ हुने कलेज सञ्चालन गरेर यहाँको शिक्षा क्षेत्रलाई ठूलो योगदान पु¥याएको भन्दै धन्यवाद दिए । उनले सबैभन्दा पहिले मान्छेले आफूले आफूलाई चिन्नुपर्ने बताए । कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका डा. योगीले भने, ‘हामीले ऐना मात्रै हेर्छौँ तर खास रूपमा आफू को हुँ भन्ने कुराको कहिल्यै ख्याल गदैर्नौँ, त्यस कारण अपेक्षाअनुसार प्रगति गर्न सकिरहेका हुँदैनौँ ।’
अहिले आधुनिक युगका नाममा आएको लिभिङ–टुगेदर सामाजिक विकृति भइरहेको बताउँदै सामूहिक छलफल र बुबाआमालाई माया गर्ने परिपाटीको विकास हरेक छोराछोरीले गर्न आग्रह गरे । कार्यक्रममा उनले करिब २ घण्टाको प्रवचन दिए । विद्यार्थीहरू पनि एकदमै ध्यानपूर्वक बसेर उनका कुराहरू सुने । उनीहरूले बेला–बेलामा तररर ताली बजाउने, हुटिङ् गर्ने पनि गरिरहेका थिए । डा. योगीले विद्यार्थीहरूको ध्यान आफूतिरै केन्द्रित गर्दै ज्ञानज्ञुनका कुराहरू भनिरहे ।
त्यसक्रममा उनले गीत सुनाए, विद्यार्थीहरूलाई पनि आफू सँगसँगै गाउन लगाए । धेरै कुराहरूमा भने हँसाए । कुनै–कुनै बेला त भावुक पनि बनाए । उनले भने, ‘तिमी–हामी आफ्नो स्वभावमा बाच्दैनौँ, अरूको प्रभावमा बाँच्छौँ तर त्यसो होइन, मान्छे जहिल्यै पनि आफ्नो स्वभावमा बाच्न सिक्नुपर्छ ।’ वर्षमा एक पटक मात्र दाङ आउने डा. योगी अब ४ पटकसम्म आउने प्रतिबद्धता पनि जनाए ।
मेट्रो कलेज बिएएलएलबी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी श्रीया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सपना देख्ने मानिसले नै सफलातको शिर चुम्नसक्ने बताए । उनले समाज रूपान्तरणका लागि असल शिक्षाको खाचो रहेको पनि बताए । ‘तुलसीपुरले सुरु गरेको वहुप्राविधिक शिक्षालयको नीति देशैभर लागू भइरहेको छ’, पाण्डेले खुसी साटे, ‘अबको १०÷१५ वर्षमा मेट्रो कलेजलाई टेक्निकल युनिर्भरसिटीका रूपमा विकास गर्ने लक्ष्य छ ।’
त्यस अवसरमा उच्च अदालत तुलसीपुरका रजिष्ट्रार यमबहादुर बुढाले पनि कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए । उनले कानुनले समाजलाई परिवर्तनसँगै चेतना फैलाउने काम गर्ने बताए । ‘अहिले कानुन विषय आवश्यक छ’, उनले भने, ‘त्यसैले यो विषय पढेका विद्यार्थीहरूले सामाजिक, व्यक्ति र सामुदायिक स्वार्थ त्यागेर परिवर्तन आफूबाटै सुरुवात गर्न जरुरी पनि छ ।’
तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसीले भने, ‘सानै उमेरदेखि व्यवसायमा आबद्ध भएँ, अहिलेसम्म आउँदा धेरै सफलता हासिल गरेको छु, यदि तपाईँ आजको भन्दा भोलिको दिनमा अझ राम्रो गरिरहनुभएको छ भने त्यो तपाईँको सफलता हो ।’ उनले आफैले आफूलाई स्वमूल्याङ्कन गर्न सकेमा मात्र जीवनमा सफलता हासिल गर्न सकिने बताए । कार्यक्रममा मट्का चियाका सञ्चालक सन्दीप भुसालले आफ्नो जीवन मूल्यवान बनाउन विद्यार्थीलाई आग्रह गरे ।
त्यस अवसरमा बिएएलएलबी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी देवीसरा वलीले महिला भए पनि सानैदेखि आत्मनिर्भर बन्न सक्नुपर्छ भन्ने सोचका साथ अघि बढेको बताइन् । उनले सामुदायिक विद्यालयबाट प्लस–टु गरेका प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि तुलसीपुर उपमहानगरपालिकाले सुनौलो अवसर प्रदान गरेको भन्दै नगर प्रमुख पाण्डेलाई धन्यवाद दिइन् ।
स्थानीय स्तरमै लुम्बिनी बौद्ध विद्यालयको मातहतमा रहेर उपमहानगरपालिकाले बिएलएलबी
पढाइ हुने विद्यालय सञ्चालन गरिदियो कि म पढ्नका लागि काठमाडौं पुगेकी फर्केर दाङ आएँ’, वलीले खुसी हुँदै भनिन्, ‘सामुदायिक विद्यालयबाट एसइई दिएकी म अग्रेजी विषयमा कमजोर नै थिएँ तर बिएलएलबीको प्रथम वर्षको इन्ट्रास परीक्षा अग्रेजीबाट दिए र पहिलो इन्ट्रासमै कलेज टप गर्न सफल भएँ ।’ उनले सफल हुनका लागि मिहिनेत गर्नुपर्ने र निरन्तर लाग्नुपर्ने पनि बताइन् ।
विद्यार्थी किरण शाहीले चुनौतीको हद पनि उचाईको भर पर्ने बताए । उनले सफलताका लागि सकारात्मक चिन्तनको खाचो रहेको पनि धारणा राखे । कार्यक्रममा मेट्रो कजेलका प्राचार्य बसन्त आचार्यले विषय प्रवेश गराएका थिए भने विद्यार्थी तीर्सना रोकायले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सहजीकरण विद्यार्थी विपना गिरीले गरेकी थिइन् ।