गोरक्ष समाचारदाता
दाङ, २१ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको लिटल एञ्जल स्कूलमा शुक्रवार अन्य दिनमा भन्दा फरक दृश्य रहेको थियो । बालबालिकाहरू कहिले दौड्ने, कहिले टाउकामा सामग्री राखेर हिड्ने, कहिले पिटी खेल्ने गरेका थिए । विद्यालयले सञ्चालन गरेको दोस्रो किड्स ओलम्पियाड खेलमा उनीहरूले यस्तो प्रदर्शन गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत् उनीहरूको विकासमा सहयोग पु¥याउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल यादव गिरीले जानकारी दिए । किड्स ओलम्पियाड खेलमा सहभागी भइसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित, बालबालिकाहरूको आत्मसम्मान बढाउन, शारीरिक, मानसिक, भावनात्मक तथा समग्र बच्चाको विकासमा समेत सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा चम्चा–दौड, विस्कुट–दौड, घस्रिएर हिड्ने, वेलुन नृत्य, पिटी, टाउकोमा सामग्री राखेर दौड्नेलगायतका प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बालबालिकाहरूलाई किताबी ज्ञानमात्र नभइ अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु पर्ने बताएका थिए । खेलले बालबालिकाहरूलाई अनुशासन तथा समन्वय गरेर अगाडि बढ्न सहयोग पुग्ने बताएका थिए । कार्यक्रम विद्यालय सञ्चालक समितिका सदस्य पूर्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल यादव गिरी, प्याब्सन घोराही उपमहानगरपालिका अध्यक्ष वीरेन्द्र चन्दलगायतले भनाइ राखेका थिए । विद्यालयका भाइस प्रिन्सिपल बिमल रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सपना बस्नेतले गरेकी थिइन् ।