साहित्य–विकासको प्रयास

विनोद पोख्रेल
२०७७ माघ २५ गते
कहिलेकाहीँ सोच अलि दार्शनिक पाराको पनि हुन्छ । म दार्शनिक होइन । पहिले भनिहाल्छु । आज मनमा जसरी र जस्ता प्रश्न उठेका छन् वा उठेको छ, त्यस्ता प्रश्नका उत्तर सायद दर्शनशास्त्रले मात्र दिनसक्छ ।

मानिसको अस्तित्वसँग नआएका, उसले आवश्यकता र महत्वाकांक्षा अनुसार आफै विकास गरेका वस्तु र शैलीमा आफूलाई किन यतिधेरै महत्वपूर्ण तरिकाले डुबाएको होला ? सुख–सुवित्रा खोज्नु र त्यसकै सीमा निर्धारण गर्न नसक्नु यसमध्ये प्रमुख विषय हुनसक्छ । कमसेकम आजको मेरो प्रश्न यही बनेको छ । सुख–सुविधा जुटाउने प्रयास पनि अरुलाई केही असर नपारेर आफूले मात्रै जुटाउँदा पनि मानव मस्तिष्कमा यो यात अपरिमित आकांक्षाको रुपमा यात प्रतिस्पर्धाको रुपमा,क हिलेकाहीँ सफलताको प्रदर्शनका परिणामको रुपमा, कहिले लक्ष्यकै रुपमा समेत लिने अथवा बुझ्ने गरिन्छ ।

त्यसैले मानिसले यो पाउन पनि पीडाभोग गर्छ र पाएर पनि सन्तुष्ट हुन सक्दैन । त्यस्तै नपाएको वा थोरै पाएको पनि आफ्नै तरिकाको छटपटीमा बाँचेको हुन्छ । यो त अलि कमै हुन्छ ।किनभने सुविधा भोग्क्ष्नका लागि अरुको सहयोग प्रायः अपेक्षित नै हुन्छ । अरुको सहयोग लिएर वा पाएर सुविधा भोग्नेहरु समाजको एउटा समूहकै लागि शोषक आदि भाषले सुशोभित हुन्छन् । उनीहरुको सोचको धरातल नै यस्ताको भौतिक रुपमै समेत समाप्ती भए मात्र समाज राम्रो बन्छ भन्ने हुन्छ तर मलाई त्यस्तो लाग्दैन ।

यसका लागि मसँग केही सोचहरु छन् ।पहिलो सुविधाको टिपिकल व्याख्या गर्न सक्नुप¥यो । यहाँ घरमा ढिडो खानेलाई हेपिन्छ तर ठूला होटलमा ढिडो, फापर आदि खानेलाई पुगीसरी आएको वा सुविधाभोगी भनिन्छ । तराईतिर खान नपुगेर, हुनेहरुसँग ऋण गरेर भए पनि अन्न खाएको पनि गलत, कर्णालीमा खाना नभएर (?) आलु, सिमी आदि खाएर ऋण नगरेर बाँचेको पनि गलत । एउटा त ठीक हुनुपर्ने हो । खाद्य पदार्थले भेट भर्दा पनि गलत ।

अन्न नै खोजेर (ऋण गरेर) खाएको पनि गलत । ठीक के हो ?मलाई लाग्छ यस्तो प्रश्नको उत्तर एउटै व्यक्तिले पनि परिवेश अनुसार फरक–फरक दिने गर्छ । त्यहाँका मानिस कोही त गरेको जस्तो देखाउन वा उनीहरुको समस्याबारे चिन्ता लिएको देखाउन मानिसले समय र परिवेश अनुसार चिन्तन फेर्छ । अनि आफू नै ठीक भएको, आफूले मात्रै सबैको बारेमा सोचेको जस्तो देखाउने प्रयास गर्छ । ऋण गरेर खान नपरोस् । हरेकले काम गरेर खान पाउनुपर्छ । यतिसम्ममा म पनि सहमत छु ।

कसैले मभन्दा बढी काम गरेर बढी कमाउँछ भने वा भौगोलिक परिवेशअनुसार अलि सजिलरी आफ्नो आवश्यकता टार्न सक्छ भने त्यसमा अरुले चिन्ता गर्नु आवश्यक छैनजस्तो लाग्छ । छोटो भाषामा भन्ने हो भने सबैले समय, स्थान र परिस्थितिअनुसार काम गर्ने मौका पाउनुपर्छ । यो महत्वपूर्ण कुरा हो । मौकाको सदुपयोग गर्न सक्ने वा नसक्ने व्यक्तिमा भर पर्ने कुरो हो । नसक्नेप्रति सामान्य सहयोग र सहानुभूति स्वाभाविक हो, यो झगडाको विषय होइन ।

२०७७ माघ २६ गते

आज ध्यान भनौ या चिन्तन बढी साहित्यप्रति नै छ । तर भावना साहित्यको रुपमा प्रकट हुन सकिरहेको छैन, सायद । हुन त मैले जे जसरी लेखिराखेको छु, त्यो स्वयं पनि साहित्यकै एउटा रुप हो तर सामान्यतया साहित्य भन्नाले बुझिने भाषा वा शैली प्रयोग गर्न नसकेको मात्रै हो । यो नसक्नु र नचाहनुमा पनि थोरै मात्रै फरक छ । तर त्यस्तातर्फ नलागौं । साहित्य चिन्तनमा नै सीमित हुने इच्छा भएको बेला अरु कुरामा समय खर्चनु पनि खेर हुन्छ ।

मेरो अहिलेको भावनाकै आधारमा भन्दा साहित्य एउटा असीमित पक्ष हो, त्यसैले यो अहिलेसम्म पनि अपरिभाषित छ । साहित्य सामयिक हुन्छ, त्यसैले मैले मन नपराउने साहित्य अरुलाई मन पर्न पनि सक्छ । साहित्य मानवीय सोच वा भावनाको अनियन्त्रित उडान हो । यसलाई रोक लगाउनु हुँदैन । साहित्यमा सहमति या असहमतिको कुरो पनि हुँदैन । यसका रुप, यसका शैलीहरु नै हुन् । शैली नयाँ निर्माण गर्न सक्ने हो भने रुप नै फेरेको जस्तो पनि लाग्न सक्छ । यसका जे–जति विधा छन् सबै मानव भावनाबाटै निसृत हुने गर्छन् ।

एक्लो हुनमा पनि साहित्य छ र भीडभाडमा पनि साहित्य छ । भावना जहाँ छ त्यहाँ साहित्य छ । यसलाई विषयको आधारमा, शैलीको आधारमा, व्याकरणको आधारमा प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्नु व्यक्ति साहित्यकारको क्षमता हो । तर तिनै वा त्यस्तै केही सीमित कुराहरुमा अड्केर त्योभन्दा अलग क्षेत्र वा विषयमा पोखिएको, अन्य शैलीमा पोखिएका कुनै पनि विधाको आलोचना भनेको अल्पज्ञानी विद्वानहरुको एकांकी सोच मात्र हो ।

आफू विशाल बन्न नसक्नेले अरुलाई आफ्नो साइजमा राख्न खोजेको गलत प्रयास मात्र हो । अथवा आफूलाई जवर्जस्ती जान्ने प्रमाणित गर्न खोज्ने दुष्प्रयास मात्र हो । साहित्य आफै शाश्वत छ । यसमा व्यक्तिको पहुँच कति छ र क्षमता कति छ त्यो अलग कुरा हो । आफ्नो क्षमतालाई पूर्ण देख्ने, अपूर्ण सोचको परिणामले यसलाई धेरैपल्ट छेकवार लगाउन खोज्छ । तर कहिल्यै सफल हुँदैन । किनभने साहित्यका अगाडि त्यस्तो प्रयास सबल हुँदैन । देख्ने रुखलाई तपस्वी पनि देखे । विश्वलाई नासवान पनि लेखे ।

परिकल्पनाको भरमा पुस्तकमै क्रान्ति पनि गरे । व्यवहारमा एकपल्ट बलात्कारमा परेकीलाई आफ्नो साहित्यमा सधै बलात्कृत पनि गरे । समाजलाई सचेत गराउने नारा र प्रयास दुवै भए तर परिणामको कहिल्यै उचित मूल्यांकन भएन । सधै अरुको उदाहरण दिएर साहित्य चिन्तन गरियो । आफ्नो मौलिक सोचलाई सधै दोस्रो स्थानमा राखियो । अनि साहित्यको विकास भएन भनेर रोइलो पनि चलेकै छ । साहित्य आफूमा कहिले अविकसित छ र यसको विकास गर्नुपर्ने ? कमजोरी त बुझ्ने, सम्मान गर्न नसक्ने वा नचाहनेहरुको न हो । साहित्यलाई आफ्नो ामताअनुसारको रुपमा ढाल्न प्रयास गर्ने तर नसक्नेहरुका लागि बहसको विषय मात्रै हो, साहित्य विकसित छैन भनेर सोच्नु ।