कुरा त्यो बेलाको हो, जब लालबहादुर शास्त्री भारतका रेलमन्त्री थिए । रेल मन्त्री हुँदा पनि उनको जीवन शैली एकदम सरल थियो । उनी आफै पनि नियमको कडाईका साथ पालना गर्थे र अरूबाट पनि त्यस्तै आशा राख्थे ।
एक पटक उनलाई बनारसबाट रेल चढ्नु पर्ने थियो । तर, लाखौं प्रयासका बाबजुत पनि उनी समयमै स्टेशन पुग्न सक्ने अवस्था थिएन । रेल छुट्ने लगभक निश्चित जसो थियो । तर मन्त्री स्टेशन पुग्नै लागेको कुरा गार्डलाई थाहा हुने बित्तिकै उसले हरियो झन्डा तल झारिदियो र शास्त्रीजीलाई पर्खन थाल्यो ।
अर्कोतर्फ सबै यात्रु चिन्तित थिए कि सिग्नल हुँदा पनि रेल किन चल्दैन ? केही बेरपछि शास्त्रीजी स्टेशन पुगे । उनलाई देखेर गार्ड दौडेर शास्त्रीजीको नजिक आयो र गर्वका साथ भन्यो– ‘मन्त्रीज्यु तपाईं आउँदै हुनुहुन्छ भन्ने सुनेपछि मैले रेल चल्न दिइनँ र केही बेर रोकिदिए ।
यो सुनेर शास्त्रीजीले गार्डतर्फ नजर घुमाए र केही नबोली ट्रेनमा चढे । गार्ड एकदमै खुसी भयो । उसले आफ्नो कामबाट मन्त्री सन्तुष्ट भएको र अब आफ्नो प्रगति निश्चित भएको महसुस गर्यो । तर, त्यसको भोलिपल्टै त्यो गार्ड आफ्नो ड्यूटी राम्ररी पूरा नगरेको अभियोगबाट पदमुक्त भयो ।
शास्त्रीजीले नियमको अवहेलनालाई उचित ठान्दैन थिए । सर्वोच्च पदमा बसेको व्यक्तिले पनि नियमलाई कडाइका साथ पालना गर्नुपर्ने उनको धारणा थियो । आफ्नो कारणले उक्त रेलमा सवार सयौं यात्रुलाई असुविधा भएको देखेर उनी आक्रोशित थिए ।
त्यसैले उनले यसका लागि जिम्मेवार गार्डलाई पदमुक्त गर्न आदेश दिए । यो प्रेरणादायी प्रसँगले हामीलाई सिकाउँछ कि हामी सधैं आफ्नो कर्तव्यप्रति इमानदार हुनुपर्छ ।