calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

पट्का प्रतिबन्ध, भैलो १० बजेसम्म

गोरक्ष समाचारदाता
दाङ, ९ कार्तिक । प्रहरी प्रशासनले बारुद र पट्काजन्य पदार्थको ओसार–पसार, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाए पनि यसको अवैध कारोबार र प्रयोग लुकिछिपी भने चलेकै छ । तिहार शुरु भएसँगै पटकाजन्य पदार्थका प्रयोग छ्यापछ्याप्ती नै छ । प्रहरीले प्रतिबन्ध लगाए पनि प्रहरीका विट नजिकै र बजार क्षेत्रमा विहानैदेखि पटाका पट्केको आवाज गुञ्जामान भइराखेको छ । तर प्रहरीले अझैसम्म पनि पटाकाजन्य पदार्थ बरामद गर्न सकेको छैन । प्रहरीले झण्डै एक साताअघि नै सार्वजनिक अपिल गरेर तिहारमा पटाकाजन्य पदार्थ प्रयोग नगर्न सबैमा अपिल गरेको थियो । तर प्रहरीको त्यो अपिलविपरीत नागरिकले पटाका पड्काउने काम गरेका छन् ।

जिल्लामा भारतीय बजारबाटै पटाका आउने गरेको छ । भारतसँग सीमा जोडिएको कारण पनि यहाँ ल्याउन सहज छ । सीमा क्षेत्रमा प्रहरीले कडाइँ गरे पनि व्यवसायीले लुकाई–छिपाई ल्याउने र बिक्री–वितरण समेत गर्ने गरेका छन् । तर विगतका वर्षमा भन्दा यसको प्रयोग कम भएको व्यवसायीले बताउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले सीमा क्षेत्रदेखि सबै क्षेत्रका कडाइँ गरेको बताए । ‘पटाकाको आवाज आउने गरेको छ । त्यसको निगरानीसमेत बढाएका छौं’, प्रहरी प्रमुख भट्टराईले भने । उनका अनुसार प्रहरीले बजार र अन्य क्षेत्रबाट पटाकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ । ‘पटाकाजन्य पदार्थको प्रयोगमा शून्य सहनशीलताको नीति अख्तियार नै हो’, उनले भने– ‘पटाका र बारुद प्रयोग गर्नेलाई पक्राउ गरी सार्वजनिक हितविरुद्धको अपराधमा र कारोबार गर्नेहरूलाई विस्फोटक पदार्थ ऐनअन्तर्गत कारबाही चलाइने छ ।’

तिहारलाई लक्षित गरेर व्यावसायिकरूपमा जुवाका खालहरू सञ्चालन गर्ने गतिविधि बढेको छ । चाडबाड लक्षित र हार–जित हुने गरी ठूलो रकममा खेलिने जुवाका खालहरूमा प्रहरीले निरन्तर छापा मार्दै आएको छ । ‘व्यावसायिक जुवा खेलाउने समूहहरू चाडबाडका बेला सक्रिय हुन्छन्’, उनले भने– ‘चाडबाड लक्षित सुरक्षा योजनाअन्तर्गत जुवा खेल्ने खेलाउनेलाई कारबाहीको दायरामा ल्याउने काममा तीव्रता दिएका छौं ।’ उनका अनुसार जिल्लाका धेरै ठाउँबाट जुवाडे र पैसासमेत पक्राउ परेको छ ।

प्रहरीले सार्वजनिक अपिल निकालेर तिहार पर्व अनुशासित, सभ्य, शालीन र मितव्ययीरूपमा मनाउन अनुरोध गरेको छ । तिहारको सुरक्षा कडा पार्न २४सै घण्टा प्रहरी परिचालन गरिएको पनि जनाएको छ । प्रहरीले अवाञ्छित गतिविधिमाथि निगरानी बढाउने र त्यस्तो काममा संलग्न हुनेलाई कानुनअनुसार कारबाही गरिने बताए । प्रहरीले राति १० बजेसम्म मात्र भैलो खेल्न अनुरोध गरेको छ ।

गृहमन्त्रालयले पत्राचार गरेपछि स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी–भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्ति सुरक्षा व्यवस्थापनमा खलल पु¥याएको अभियोगमा कारबाही गरिने प्रशासनले जनाएको छ । देउसी–भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्ने गरी कुनै पनि गतिविधि नगर्न समेत स्थानीय प्रशासनले सचेत गराएको छ ।

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनै पनि कार्यक्रम नगर्न स्थानीय प्रशासनले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् । ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्वलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न स्थानीय प्रशासनले सबैमा अपिल गरेको छ । ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी–भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं’, प्रहरी प्रमुख भट्टराईले भने– ‘प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा कारबाही गरिने छ ।’