रिसर्च सेन्टर खोलौः डा.सौरभ घिमिरे
एउटा सिर्जनशील विद्यार्थी अहिले फ्रान्सको बोर्दोस विश्वविद्यालयमा रिसर्च सर्पोटरका रुपमा काम गर्दैछन् । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा जन्मिएर प्राथमिक शिक्षा पनि यतै लिएका डा. सौरभ घिमिरेको शैक्षिक योग्यतालाई नेपाल सरकारले सम्बोधन गर्ने अवस्था अझै सिर्जना भएको छैन । तैपनि उनले एउटा विकल्प दिएका छन् । जुन विकल्प राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा रिसर्च सेन्टर सञ्चालन हुनुपर्ने माग राख्छन् । किनकि त्यो प्रतिष्ठानको व्यव्भारको विषय होइन । उनी आफैले दाता खोज्ने अभिव्यक्ति दिन्छन् । उनै दाङ जिल्लाका होनहार प्रतिभा डा. सौरभ घिमिरेसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।
तपाइको शैक्षिक पृष्ठभूमिको विषयमा सामान्य जानकारी गराइदिनुस् न ?
म दंगाली छोरो हुँ । मैले प्राथमिक शिक्षा दीपशिखा बोर्डिङबाट गरे, त्यसपछि हिन्दू विद्यापीठमा जोडिएँ । त्यसपछि नेपालगञ्जको ब्राइटल्याण्ड हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरें । प्लस टु काठमाडौको बुद्धनगरस्थित मोडल कलेजबाट सकाएँ । पोखरा विश्वविद्यालयबाट फार्मेसी विषयमा स्नातक तह उत्तीर्ण गरेपछि कोरियन सरकारको स्कलरसीपमा कोरियामा एक बर्ष भाषा शिक्षा अनि त्यसपछि दुई बर्ष मास्टर्स डिग्री कोरियामै गरे ।
त्यो पनि औषधि विज्ञानमै थियो । त्यसलगत्तै मैले फेरि त्यसपछि मेरीक्युरी फेलोसीपमा बेलायतको ग्रास्को युनिभर्सिटीमा विद्यावारिधि सुरुआत गरी तीन बर्ष दुई महिनामा सबै कोर्ष सकियो । त्यसपछि मैले नेपालमै केही काम गर्ने सोंच पनि बनाएको थिएँ । तर नेपालमा यो विषयमा कुनै स्पेस देखिएन । धेरै ठाउँमा कुरा पनि चलाएको हुँ तर उच्च टेक्नोलोजीको रिसर्च सेन्टर बनाउनेमा नेपाल सरकारका अधिकारीहरु कन्भिन्स हुन सक्नुभएन ।
अनि अहिले के गर्दै हुनुहुन्छ ?
नेपालमा एउटा बहस चलाएँ । किनकि मलाई औषधि विज्ञानका विषयमा धेरै जानकारी भैसकेको थियो । मैले विद्यावारिधि गर्ने समयमा मानव शरीरमा हुने पत्थरीका विषयमा अध्ययन गर्ने प्रस्ताव राखेको थिएँ । मलाई त्यहींकै प्रोफेसरहरुले सघाउनुभयो । पत्थरी कसरी हुन्छ ? त्यसको उपचार विधि के हुन सक्छ, अनि पत्थरी पर्नबाटै कसरी जोगिन सकिन्छ भन्ने विषयमा मेरो रिसर्च थियो । त्यससँगै सिकलसेल एनिमियाका विषयमा पनि मैले अध्ययन गरें । त्यसमा पनि मैले एउटा पेपर प्रस्तुत गरें । तर नेपालमा मेरो शिक्षाजस्तै सयौं नेपाली अध्येताको शिक्षाको कदर हुने खालका काम नेपाल सरकारले गर्न सकेको अवस्था छैन ।
दक्ष जनशक्तिहरु विदेश पलायन भइरहेको अवस्थामा नेपालमा भने कुनै सम्भावना देखिएको छैन । तपाइहरुजस्तै जनशक्ति मिलेर नेपालमा औषधि विज्ञानमा केही फड्को मार्ने विषयमा सोंच्नुभएको छैन ?
म मात्र यो विषयमा चिन्तित छैन । किनकि यो विषयमा अध्ययन गर्ने दर्जनौं नेपालीहरु छौं । नेपालमा आएर नेपाल विज्ञान प्रतिष्ठानमा पनि यो विषयमा धेरै पटक कुरा गर्यौ । तर सरकारले यो विषयमा प्रवेश गरेकै अवस्था छैन । त्यसैमा मात्रै हामीहरुको गुनासो हो । नेपाल सरकारले अवसर जुटाएर व्यवस्थापन गरेको अवस्थामा विश्व वैज्ञानिक संस्था नासामा समेत हामीहरुले अधिपत्य जमाउन सक्ने हैसियत राख्छौं । तर सरकार औषधि विज्ञानको विषयमा कत्ति पनि गम्भीर देखिएको अवस्था छैन ।
तपाई त दाङकै प्रतिभा हो, यदि तपाईले नेपालमा काम गर्न चाहनुभो भने कहाँ स्पेस देख्नुहुन्छ ?
पश्चिम क्षेत्रकै स्वास्थ्य शिक्षा तथा स्वास्थ्य उपचार सेवालाई केन्द्रित गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको मैले जानकारी पाएको छु । सोही प्रतिष्ठानको एउटा युनिट फार्मेसी रिसर्च सेन्टर पनि हुनसक्छ । तर प्रतिष्ठानलाई थप व्यभार पर्ने छैन । किनकि त्यसका लागि डोनर म आफैले खोज्ने छु । किनकि मलाई पढाउने प्राध्यापकहरुले यो विषयमा बारबार मलाई नेपालमै केही गर्न सकिन्छ भने हामी फाइनान्सियल्ली सपोर्ट गछौं पनि भन्नुभएको छ । तर यो विषयमा सबैभन्दा पहिले नेपाल सरकार गम्भीर हुनुपर्यो । त्यसपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि एउटा रिसर्च सेन्टरका रुपमा विकास गर्न सकिन्छ । सो रिसर्च सेन्टरमा मैले मेरा अग्रज प्राध्यापक पनि ल्याउन सक्छु भन्ने पूर्ण विश्वास छ ।
तपाईहरु जस्ताको शैक्षिक क्षमताको सम्मान गर्न राज्यले कस्तो नीति बनाउनुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिले नेपाल पनि अनुसन्धानको थलो बन्न सक्छ भन्नेमा नेपाल सरकार बढी गम्भीर हुन आवश्यक छ । नेपाल आफैमा पनि औषधिजन्य पदार्थको उर्वर थलो हो । आयुर्वेदिक औषधिका कच्चा पदाथ होस् वा एलोप्याथिक औषधिहरुको कच्चा पदार्थका सवालमा नेपाल आफैमा धनी मुलुक पनि हो । त्यसैले यो विषयमा व्यापक अनुसन्धानको आवश्यकता हामीजस्तै सयौं नेपालीहरुले देखेका छौं ।
औषधि निर्माण कसरी हुन्छ ? औषधिका श्रोतहरु के–के हुन् भन्ने विषयमा हामीले आम नेपालीहरु लगायत विश्व समुदायलाई पनि नेपाल तान्न सक्छौं । यसमा राज्यले धेरै आर्थिक व्ययभार पनि व्यहोर्नुपर्दैन । अनुसन्धाताहरु आफैले त्यसको आर्थिक व्यवस्थापन गर्न सक्छन् । तर हामीले सरकारलाई कन्भिन्स गर्न सकेको अवस्था छैन । त्यसैले आम सञ्चार माध्यम मार्फत हामीले राज्यको आँखा खोल्न चाहेका हौं । किनकि हामीले हासिल गरेको शिक्षाले नेपाललाई प्रतिफल दिन सकोस् ।
निजी औषधि उद्योगहरु पनि नेपालमा प्रशस्तै खुलेका छन्, त्यहाँ काम गर्न सकिन्न ?
जीविकोपार्जनका लागि मात्रै काम गर्न ती उद्योगहरुमा सकिन्छ, तर नेपालका कुनै पनि औषधि कम्पनीहरुले रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको अवधारणा ल्याएकै छैनन् । त्यसैले त नेपालमा थप औषधिहरु बन्ने र बजार पाउने अवस्था देखिएको छैन । तर अन्य मुलुकहरुमा भने औषधि उद्योगहरुले उत्पादनसँगै अनुसन्धान केन्द्र पनि खुलेका छन् । उनीहरुले औषधिको थप सिर्जनाको अभ्यास र गुणस्तरका विषयमा पनि अनुसन्धान हुन्छन् । तर नेपालमा त्यस्तो अभ्यास अझै देखिएको छैन । त्यसैकारण नेपालका औषधि उद्योगहरुले उत्पादनले विश्व बजार छाउन सकेका छैनन् । यो विषयमा औषधि व्यवसायीहरु पनि गम्भीर हुन आवश्यक देखिएको छ ।
अनुसन्धान के–के विषयमा गर्नुभो ?
अध्ययन सकिएसँगै औषधि विज्ञानकै अनुसन्धानका क्रममा विगत ४ बर्षमा विश्वका २२ वटा देशमा स्थलगत अध्ययन अवलोकन पनि भयो । त्यसमा मलाई मेरा अग्रज प्रोफेसरहरुले साथ दिनुभो । किनकि हामी ती सबै मुलुकका विभिन्न युनिभर्सिटीहरुमा घुमेका थियौं । औषधिको असर, औषधिको मोलिक्युलर बनावट, औषधिले मानव शरीरमा पार्ने प्रभावलगायतका विषयमा विस्तृत अध्ययन र अनुसन्धान गर्ने अवसर पनि पायौं । त्यसमा विश्व प्रख्यात मुलुक अमेरिका, जर्मनी, फ्रान्स, लगायत युरोपियन कन्ट्रीका २२ मुलुकमा अध्ययन अवलोकन भयो । तर नेपालमा भने यस्तो अवसर भएन । मभन्दा अग्रज अध्येताहरु पनि नेपालका थुप्रै व्यक्तित्व हुनुहुन्छ । मभन्दा अघिका अध्येता डा. नारायण भट्टराई पनि तुलसीपुरकै हुनुहुन्छ । उहाँहरुले पनि नेपालमै केही गर्न सकिन्छ कि भनेर नेपाल विज्ञान प्रतिष्ठानमा पनि सहकार्यको प्रस्ताव लग्नुभएको हो । तर दुर्भाग्य उहाँहरु पनि नेपालमा टिक्न नसकेर अमेरिकामै अनुसन्धानमा लागिरहनुभएको छ । हामी चाहन्छौं नेपालमै केही गर्न सकियोस्, किनकि हामी नेपाली आमाका सन्तति हौं । तर नेपाल सरकार यो विषयमा संवेदनशील छैन । यदि नेपाल सरकार गम्भीर भएको अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र होइन, दाङकै बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय पनि अध्ययन अनुसन्धानको थलो बन्न सक्छ । किनकि दाङमा प्रशस्तै जडिबुटीजन्य उद्योगको सम्भावनासँगै जडिबुटी अध्ययन र अनुसन्धानको उपयुक्त थलो पनि बन्न सक्छ भन्नेमा म विश्वस्त छु ।
अन्त्यमा यस दैनिक पत्रिकामार्फत केही भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले गोरक्ष राष्ट्रिय दैनिक पत्रिकालाई विशेष धन्यवाद दिन चाहन्छु । त्यसपछि समस्त नेपाली पाठकहरुलाई पनि धन्यवाद दिन चाहन्छु । अनि सबैभन्दा ठूलो कुरा देशप्रेम नै हो । कामको शिलशिलामा हामी विश्वका विभिन्न मुलुकमा हुन्छौं, तर मन भने नेपालमै हुन्छ, त्यसमा पनि विशेषगरी दाङको जन्मथलोमा । हामी आफ्नै देशमा केही गर्न चाहन्छौं । हामीले लिएको शिक्षालाई मातृभूमिमै पोख्न चाहन्छौं । यसमा तपाईजस्तै आम सञ्चारकर्मीको सधै सहयोगको अपेक्षा गर्दछु । जन्मभूमिभन्दा प्यारो स्वर्ग पनि हुन सक्दैन ।