महापरिवर्तनको सन्धिकाल : शिवरात्रि

ब्रह्माकुमार माधव तिमिल्सेना

सर्वधर्मका अनुयायीहरुले ईश्वरलाई एक “आत्मज्योर्तिमय सत्ता”को रुपमा मान्दछन् । परमात्मा एक हुनुहुन्छ– न्यम क्ष्क इलभ। परमात्मा देहधारी नभई ज्योती समान यादगारको रुपमा लिइन्छ । रामेश्वरम्, गोपेश्वरम्मा श्रीराम, श्रीकृष्णले शिवको आराधना गर्नु शंकरलाई ध्यानको अवस्थामा बसेको देखाइनुको साथै अमरनाथ, काशी विश्वनाथ, बबुलनाथ, सोमनाथ, पशुपतिनाथ, मुक्तिनाथ इत्यादिमा शिवकै प्रतिमा शिवलिंगका साथ गायन हुनु ।

यति मात्र होइन ईसा महीस(जिसस क्राइष्ट)ले न्यम क्ष्क ीष्नजत भन्नुु, मुस्लिम धर्ममा नूर–ए–इलाही एवं मक्कामा ‘स“ग–ए–असवद्’भनेर परमात्माको स्मरण हुनु, गौतम बुद्धलाई अनेक बर्षको तपस्या पश्चात ज्योतिको साक्षात्कार भएपछि ज्ञानको प्रकाश शान्ति र अहिंसाको मार्ग खुलेको देखिन्छ । मिश्रमा शिवलिंगको पूजन ‘ओसिरिस’का रुपमा गरिनु, बेविलोनमा ‘शिअन’ भनेर शिवको महिमा गर्नु, यहुदीहरुले वेलफेगो अर्थात वाल रुपमा शिवको ध्यान गर्छन् जुन भारत वर्षमा वालेश्वरका नामले पुजा हुने गर्दछ ।

सिक्ख धर्मका संस्थापक गुुरु नानकले ओमकार अकालेश्वर सत्नाम मान्नु, यूनानमा शिवलिंगको नाम फल्लुस रहनु र वैल अर्थात साँढेको मूर्ति समेत स्थापना गरिनु, पारसीहरुमा होली फायर अर्थात प्रज्वलित पवित्र ज्योतिको मान्यता हुनु, जापानमा चिंकोनसी अर्थात शान्तिका दाताका रुपमा तीन फुट अग्लो करनीको पवित्र पत्थरमा तीन फुट टाढा बसेर मन एकाग्र गर्ने अभ्यास गरिनुले ईश्वर एक भएको पुष्टि गर्दछ । ईश्वर, परमात्मा, अल्लाह, गड, भगवान यी सबै शिवका पर्यायवाची नाम हुन् । परमात्मा शिव सर्व मनुस्य आत्मा, देवआत्मा धर्मात्माका माता पिता हुनुहुन्छ । विश्वका विभिन्न धर्मस्थापक एवं मनुस्य आत्माहरुले शिवलाई परमसत्ताको अनेक नामले स्मरण गरेका छन् यसबाट उहाँको सार्वभौमिकता सिद्ध हुन्छ ।

शिवरात्रि परमात्मा शिवको अवतरण,दिव्य जन्मको घटना हो । रात्रिको अर्थ अन्धकार हो । जब मानवको मानसिक क्षितिजमा घोर अँध्यारो फैलिएको हुन्छ विश्व सृष्टि चक्रको अन्त समयमा समाजमा मिथ्या अन्धविश्वासको बोलवाला हुन्छ, लाखौँ धार्मिक व्यक्तिहरुको तर्क शक्तिमा शून्यता आउँछ । धर्मको ठेक्का हिन्दुमा पण्डितको कब्जामा, कुरान मूल्लाहको कब्जामा भैदिन्छ । भ्रष्टाचारले न केवल राजनैतिक, सामाजिक अपितु धार्मिक स्थल र उपवासका क्षेत्रमा समेत छोड्दैन । परिणामस्वरुप अधिकांश मानिसहरु अनिश्वरवादी हुन पुग्छन् तथा अनैतिक जीवन बिताउन थाल्दछन् ।

एक धार्मिक सम्प्रदायले अर्को धार्मिक सम्प्रदायलाई, नास्तिकबाट आस्तिकलाई उत्पीडन शुरु हुन्छ । नैतिक मूल्य मान्यताहरुमा आएको विचलनले विधिविहीनता,अराजकता एवं संभ्रमका ताण्डव नृत्य शुरु भैदिन्छ । जसलाई नै धर्मग्लानीको समय भनिन्छ जसको अर्थ हो नैतिक पतन, धार्मिक जिर्णता एवं आद्यात्मिक कमजोरी । यस्तै विषम परिस्थितिमा दूषित प्रवृत्तिको समाप्ति, नयाँ उच्च आदर्श, समुन्नत विश्व नव निर्माणका खातिर सर्व आत्माहरुका पिता शिवले प्रकृतिलाई बसमा पारेर एक बृद्ध मनुस्य तनमा परकाया प्रवेश गरी आद्यात्मिक पुर्नजन्म लिनु हुन्छ ।

गीतामा दिएको वचन अनुसार यदा यदा ही धर्मस्य…. परमात्मा शिवको अवतरण तब हुन्छ जब सारा विश्वमा घोर धर्म संकट, कर्म भ्रष्टता हुन्छ, यस जगमा हाहाकार मच्चिएको हुन्छ । सवै नरनारीहरु निशाचर अर्थात पतित बन्न पुग्दछन् । घोर कलियुगको अन्तिम अधर्मको पराकाष्ठाको क्षण यस पृथ्वीमा जन–जनमा दुख हरेर सुख दिने पर्वको रुपमा शिवरात्रिलाई लिइन्छ ।

बैज्ञानिक भौतिक विश्वमा अनेकतामा एकता ल्याउन, विश्व वन्धुत्वको भावना जागृत गर्न, हत्या–हिंसा त्रासको भयावह अवस्थाको अन्त्य गर्न परम पवित्र सुख शान्ति आनन्द प्रेम, पतित पावन विन्दुस्वरुप ज्योर्तिमय, दिव्यदृष्टि विधाता गुणहरुका भण्डार, मनुस्य सृष्टिका विजरुप परम शिक्षक परम सद्गुरु, अकालमूर्त, दुखहर्ता सुखकर्ता ब्रह्मा विष्णु महेशका रचयिता त्रिमूर्ति सदा शिव (कल्याणकारी) ले आत्मा जागृत गरी मनुस्यलाई ज्ञानामृत तथा सरल राजयोगको शिक्षा दिने सृष्टि रुपी कल्पको अन्त समयपुरुषोत्तम संगमयुगको घटना नै शिवरात्रि पर्व हो ।

आखिर हिन्दु, मुस्लिम, सिख, ईसाई आपसमा सब भाइभाइ हामी मनुस्यात्माहरुको दुश्मन छ भने केवल हामीभित्रैको मनोविकारहरु– काम, क्रोध, लोभ, मोह, अहंकार, ईश्र्या, द्वैष, घृणा हुन् भन्ने जागृति दिँदै परमात्मा शिव भन्नुहुन्छ– “मीठा प्यारा आत्मारुपी बच्चाहरु तिमी देह होइनौ, एक अविनाशी आत्मा हौं । तिमीहरु मेरा सन्तान हौ म तिम्रो पारलौकिक पिता हुँ । राजयोगको शिक्षा मविना कसैले दिन सक्दैन यो बृहत् नाट्यशालामा तिमीहरुले नाटक खेल्न शरीर धारण गर्दछौ, तर मेरो दिव्य अवतरण हुन्छ । म परमधामको निवासी हुँ ।”

शिवले नै मनुस्यात्माभित्रको गुप्त महान शक्तिलाई निकाल्ने भएकोले फलस्वरुप आत्माभित्र आत्मबल मनोवल जम्मा हुन्छ रोम रोममा प्यार गुञ्जयमान हुदै जान्छ तसर्थ परमात्मा शिवको गायन छ– ‘सागरभन्दा गहिरो गगनभन्दा उँचा शिवबाबाको प्यार महान’ अतिइन्द्रिय सुख राजयोगले प्रदान गर्दछ अनि दैहिक सुख–सुविधा विलासिता मिथ्या लाग्न थाल्छ, तथापी जीवन सरल बन्दैै जान्छ । राजयोग एक जीवन जिउने पद्धति हो ।

भक्तहरुले जन्म जन्म दूध चढाउँदै आए । परमात्माले यस समयमा अमर देवता समान बनाउन अमृतधारा बगाइरहनु भएको छ । ज्ञान प्रकाश हो, ज्ञान विना सद्गती सम्भव छैन । भक्ति आराधना अर्चनाको फल ज्ञान मिल्दछ । मन्दिरमा गएर घण्टी बजाउँदै शिवलाई जगाउने असफल प्रयास गर्ने तथा स्वयं अज्ञान घोर कुम्भकर्ण निन्द्रामा सुत्ने भक्तहरु अब स्वयं शिव तिमीलाई जगाउँदै हुनुहुन्छ । हिरा समान भाग्य बनाउने सुनौलो अवसर हो यो वर्तमान समय ।

उपवास (निकट+रहनु) रही रातभर अनेक कष्ट गर्नुको साटो आत्मा स्वरुपमा रही परमात्माको यादले जन्म जन्मको पाप समाप्त गर्ने सहज उपाय गर्नु उत्तम होला । विष, भाङ्ग, धतुरो शिवको मन्दिरमा चढाएर त्यसैलाई प्रसाद मानी सेवन गर्ने र अनेक कुकर्म गर्दै हिड्ने भक्तहरुलाई शिवको सन्देश छ विषालु पदार्थको सेवन हैन दृढताका साथ दान दिएर ज्ञानामृत पान गरेमा जीवन धन्य रमहान बन्नेछ । बेलका तीन पात चढाउनुको अर्थ हो परमात्मा शिव त्रिमूर्ति अर्थात ब्रह्मा–विष्णु–शंकरका रचयिता हुन् भन्न खोजिएको हो । यथार्थतालाई बुझ्ने प्रयास गर्नुको बदलामा स्वाद लिप्सा र देहअभिमानका कारण जीवनलाई सदाचार पावन बनाउनेतर्फ सचेत भएको नपाइनुको परिणाम दुनियांको यो हविगत भएको हो ।

शिव शंकरलाई एउटै भनेर मान्नु ठूलो भूल भएको छ । अतः शिव शंकरमा भिन्नता छ । शिव रचयिता हुनुहुन्छ भने शंकर रचता । शंकरलाई महेश भनिन्छ भने शिवलाई महेश्वर । शंकर देहभारी देवता हुनुहुन्छ भने शिव ज्योतिस्वरुप निराकार । शंकर र शिवको अलग–अलग प्रतिमाले समेत दुवै एउटै नभएको पुष्टि गर्दछ । शंकररात्रि नभनी शिवरात्री भनिनु शंकरले पनि कुनै शक्तिको ध्यान गरेको देखाउनु, सत्यम् शिवम् सुन्दरम्को सट्टा सत्यम् शंकरम् सुन्दरम् भनेको नपाइनुले दुवै बीचको फरक भएको स्पष्ट हुन्छ ।

शिवलाई नै शंकर भनी मनुस्यहरुले परमात्मालाई साधारण मनुस्य झै प्रेमालिंगन गरेका, गौरी, पार्वती गंगासँग बैवाहिक सम्बन्ध राखेका प्रसंग जोड्दै घोर ग्लानि वा निन्दा एकातर्फ गरेका छन् भने अर्कोतिर धर्म शास्त्रका व्याख्याताहरु परमात्मा अभोक्ता अकर्ता निराकार हुनुहुन्छ भन्दै पनि आएका छन् । विन्दुरुप चैतन्य शिवलाई सर्वव्यापी मानेर देहअभिमानी मनुस्यले देहसम्बन्धी कर्मकाण्ड र सांसारिक क्रियामा लिप्त देखाउँदै स्वयं विषय विकारको समुन्द्रमा गोता खान थाले साथसाथै भ्रष्ट पतित र कंगाल पनि बन्दै गए ।

परमात्मा शिववावाको एउटै मन्त्र छ–मन्मनाभवः मध्याजी भवः । ‘सर्वधर्म परित्यन्जम् मामेकम् शरण बज्र’ अर्थात देह र देहका सर्व धर्म तथा सर्व सम्वन्ध तोडेर आत्मिक रुपमा रही ज्योतिस्वरुप परमात्माको याद गर भन्ने महावाक्यलाई चरितार्थ गर्ने उत्तम बेला हो यो । अब त्यही युग परिवर्तनको महासन्धीकालमा हामी उभिएका छौं । यहाँहरु सबैमा खुसीको खवर परमात्मा शिवको यस धरतीमा अवतरण भएको ८६ वर्ष भैसकेको छ । तपाईहरु पत्याउनुहोस् वा नपत्याउनुहोस्, सत्यता यही हो ।

शास्त्रोक्त कथाहरुमा खुशी हुँदै भावनामा वहकिँदै अन्धभक्तिले गलत नशापान र धार्मिक आडम्वरमा तथा परम्पराको आधारमा मात्र यो पर्व मनाउनुको कुनै औचित्य छैन । यो शिव दिवस मुक्ति दिवस हो, खुशीको नियुक्ति दिवस हो साथै शक्ति सञ्चयको भण्डार एवं विकार विजयको युक्ति दिवस हो । सत्य ज्ञानको राज बुझेर दृढ संकल्प, श्वास, समय सफल गरी हदका इच्छाहरुदेखि अलग रहँदै समर्थ शुभ भावना र महान दैवीगुण धारण गर्ने प्रण गरौ । शिवको कुनै शारीरिक अथवा सांसारिक रुप छैन, दिव्य एवं आत्मिक रुप ज्योतिस्वरुप छ ।

अतः आत्मिकस्वरुपमा स्थित भएर अव्यक्त अवस्थाको अनुभूतिले परमात्मा समिपताको आभास गर्न सकिन्छ । यसबाट अभूतपूर्ण र अत्यन्त अनमोल सुख प्राप्त गर्न सकिन्छ जीवनको सच्चा सुख त आत्मा स्वरुपमा रहेर विदेही पिताको मधुर मिलनमा छ । यही हो सच्चा शिवरात्रि । आउनुहोस् परमपिता परमात्मा शिवको यस दिव्य जन्मको पावन अवसरमा मनोविकार, दुव्यर्सन तथा आपसी मतभेदलाई त्यागेर विश्व शान्ति, सद्भावना एकता एवं नैतिक र आध्यात्मिक चरित्र उत्थान गर्ने प्रतिज्ञा गरौ ताकि मानव जीवन मात्र हैन यो वसुन्धरा सुख शान्ति सम्पन्न वन्न सकोस् । महाशिवरात्रिको सबैमा हार्दिक मंगलमय शुभकामना एवं बधाई । ॐ शान्ति

लेखक ब्रह्माकुमारीज मधुवन आद्यात्मिक पुनजार्गरण केन्द्र, दाङका प्रवक्ता हुन् ।