सराहनीय व्यावसायिक सहजीकरण

तुलसीपुर उद्योग वाणिज्य संघले पछिल्लोपटक व्यावसायिक सहजीकरणको अभियान थालेको छ । संघले तुलसीपुर उपमहानगरपालिकासँग आधिकारिकरुपमा औपचारिकरुपमै सम्झौता गरेर व्यवसायी र तुलसीपुर उपमहानगरपालिकाबीच विभिन्न व्यवसायी गतिविधि, आर्थिक गतिविधि, व्यवसाय दर्ता तथा व्यावसायिक कर उठाउनेलगायतका विषयमा सम्झौता गरेको छ ।

सम्झौतासँगै प्रचलित स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा रहेर उद्योग वाणिज्य संघले उपमहानगरपालिकाले गर्दै आएको काममा हातेमालो र सहकार्य थालेको छ । यसले आम व्यवसायीहरुलाई स्थानीय करका विषयमा सहज वातावरण सिर्जना भएको छ भने संस्था दर्ता, संस्थाको नवीकरणलगायत संस्थागत साझेदारीका हरेक काममा समेत सहजता मिलेको स्वयं व्यवसायीकै अनुभूति रहेको छ । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघले यहाँको विमानस्थलमा अर्को सराहनीय कदमको सुरुआत गरेको छ ।

हाल सञ्चालनमा आएको टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि सरकारी पक्षबाट पहल हुन नसकेपछि सार्थक पहलमा नैतिक दबाव सिर्जना गर्न विमानस्थल स्तरोन्नति खुत्रुके अभियानसमेत सञ्चालन गरेको छ । सञ्चालनमा आइसकेको विमानस्थललाई स्तरोन्नति गरेर मात्र अन्य विमानस्थलको विकल्पको खोजीमा लाग्न आग्रह गर्दै तत्काल सो विमानस्थलमा धावनमार्गको लम्वाइ बढाउन अर्थपूर्ण रुपमा पहल थालेको छ । सम्भवतः यो कामले अन्तिम स्वरुप नलिएसम्म आफ्ना दबावका कामलाई निरन्तर जारी राख्ने पनि तुलसीपुर उद्योग वाणिज्य संघको अभियान रहेको छ ।

उद्योग वाणिज्य संघकै समन्वयमा तुलसीपुरको आन्तरिक राजश्व कार्यालयमा व्यवसायी हेल्प डेस्कको सञ्चालनमा दाङ जिल्लाभरीका उद्योग वाणिज्य संघहरुसँग समन्वयको भूमिकासँगै मुलुक कोरोनाले व्याकुल भएको अवस्थामा बिरामीको उपचारदेखि अक्सिजनको व्यवस्थापनमा समेत तुलसीपुर उद्योग वाणिज्य संघको जनप्रतिनिधिको जत्तिकै भूमिका रहेकोमा कसैको पनि विमति छैन ।

व्यवसायीहरुलाई करको सहजीकरणदेखि पछिल्लो समयमा विदेश जानका लागि आवश्यक पर्ने क्युआर कोड उपलव्ध गराउने सन्दर्भमा पनि तुलसीपुर उद्योग वाणिज्य संघको सराहनीय भूमिका रहेको छ । यी भूमिकाहरुले तुलसीपुर उद्योग वाणिज्य संघलाई व्यावसायिक हकहितका लागि मात्र नभएर सबै नागरिकका विभिन्न व्यावसायिक एवं कर सम्बन्धी सबै प्राविधिक समस्या समाधानका लागि पनि सहयोगी निकायका रुपमा तुलसीपुर उद्योग वाणिज्य संघ स्थापित हुन थालेको छ ।

त्यस्तै व्यवसायीलाई समस्या परेको समयमा राहत उपलव्ध गराउनेदेखि व्यवसाय प्रवद्र्धनका लागि विभिन्न तालिमलगायत लगानीमा समेत सहजीकरण गर्ने अर्को भूमिकाले पनि तुलसीपुर उद्योग वाणिज्य संघको सामाजिक उत्तरदायित्वलाई झल्काएको छ । यी सबै समस्या व्यवसायीका मात्र होइनन् । बजारको सरसफाई करको भुक्तानीदेखि विद्युत र खानेपानीको बिल भुक्तानीलाई पनि सामाजिक उत्तरदायित्वकै रुपमा लिनु आवश्यक हुनेछ ।

अब तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरको समग्र व्यापार व्यवसायको प्रवद्र्धनमा पनि उत्तिकै भूमिका निर्वाह गर्न आवश्यक छ । त्यसका लागि तुलसीपुरमा बाह्य लगानीको वातावरण सिर्जना, व्यावसायिक सुरक्षाका सन्दर्भमा स्थानीय सरकार र प्रहरी प्रशासनसँगको निरन्तर सहकार्यलगायतका विषयमा पनि त्यत्तिकै ध्यान आकृष्ट गर्न आवश्यक छ । यति गरिरहँदा रहँदै पनि तुलसीपुरमा एउटा ठूलो सुविधासम्पन्न होटल छैन ।

स्वास्थ्य क्षेत्रमा ठूलो लगानीमा कुनै स्तरीय अस्पताल सञ्चालनमा आउन सकेको छैन । स्तरीय खेल मैदान तथा पर्यटकीय क्षेत्र बन्न सकेको छैन । कृषिजन्य उद्योगको स्थापना तथा सञ्चालन हुन सकेको छैन । यी सबै सवालमा स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकारसँग पनि संघले पहल गर्न आवश्यक छ । ठूलो लगानीका योजना तुलसीपुर क्षेत्रमा ल्याउनका लागि नेपाल उद्योग वाणिज्य संघसँगको पहल र सहलगानीको वातावरण बनाउनेतर्फ पनि तुलसीपुर उद्योग वाणिज्य संघ निरन्तर लाग्न आवश्यक छ । अहिलेसम्म संघले निर्वाह गर्दै आएका भूमिका सराहनीय छन् । अब यी भूमिकालाई थप क्रियाशील बनाउन पनि प्रयत्न गरौँ । तुलसीपुरलाई व्यावसायिक हवका रुपमा स्थापित गर्न पहल गरौं ।