उपयोगमा भन्दा निर्माणमा अग्रसर
खेमराज रिजाल
बेलझुण्डी, १६ फागुन । नेपाल संस्कृत विश्वविद्यालय पछिल्लो समयमा उपयोगमा भन्दा भौतिक निर्माणमा बढी केन्द्रित देखिन थालेको छ । यो दशकमा नेपाल संस्कृत विश्वविद्यालयले जति संरचना निर्माण ग¥यो, प्रायः सबै संरचनाको निर्माण अर्थहीन र उपयोगविहीनजस्तै देखिएको स्थानीय सरोकारवालाहरुले बताएका छन् ।
भौतिक निर्माणमा पहुँच र बजेट मात्रै भए पुग्ने तर उपयोगमा दीर्घकालीन सोच आवश्यक हुने अवस्थामा विश्वविद्यालयका पदाधिकारीमा दीर्घकालीन योजनाको सोच नहुँदा निर्माण भइसकेका संरचनाहरु समेत प्रयोगविहीन भइरहेका छन् । यस्ता धेरै संरचनाहरुको आवश्यकताको औचित्य पुष्टि हुन नसकेको पनि स्थानीयको आरोप छ । उनीहरुले निर्माण भएका संरचनालाई कम्तीमा उद्देश्यअनुरुप प्रयोग गर्न विश्वविद्यालयलाई पटक–पटक आग्रह गरे पनि विश्वविद्यालयका पदाधिकारीहरु उपयोग नीतिमा असफल भएको बेलझुण्डी क्षेत्र विकास समितिका एकजना अधिकारीले बताएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठमा कम्तीमा १० कोठाको नयाँ छात्राबास निर्माण भएको करिब ५÷६ बर्ष पूरा भए पनि त्यो छात्राबास प्रयोगविहीन भएर फेरि जीर्ण बन्दै आएको छ । पुरानो भवन प्रयोग नै नभएर भत्कन थाले पनि नेपाल संस्कृत विश्वविद्यालयले नयाँ छात्राबास भवन निर्माण गरेको थियो । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा ई–लाइब्रेरी सञ्चालनको उद्घोष गरिए पनि लाखौं बजेट खर्च गरेर निर्माण गरिएको पुस्तकालय सञ्चालनमा आउन सकेको छैन । सूचना प्रविधिको यसमा पहँुच स्थापित हुन नसक्दा यो समस्या देखिएको विश्वविद्यालय सम्वद्ध कर्मचारीहरुले बताएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयले बिजौरीमा सभाहल निर्माण ग¥यो । फेरि केही उच्च पदाधिकारीकै प्रयासले फेरि नेपाल संस्कृत विश्वविद्यालयमा अर्को सभाहल पनि बनाउने प्रयास गरियो । तात्कालीन मुख्यमन्त्री शंकर पोख्रेललाई प्रभाव पारेर बजेटसमेत पारिएको थियो । संयोगले सरकार फेरिएपछि अर्को सरकारले बजेट कटाइदिएपछि विश्वविद्यालय मातहतमै दुईवटा सभाहल निर्माणको औचित्य पुष्टि हुन सकेन ।
नेपाल संस्कृत विश्वविद्यालयले बिजौरीमा रहेको जग्गामा विश्वविद्यालय कर्मचारी प्राध्यापक आवासगृह निर्माण ग¥यो तर त्यो आवासगृह पनि अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान मातहतमा कम्तीमा २४ करोड रुपैयाँको लगानीमा बिएएमएस भवन बन्यो । बिएएमएस पठन–पाठनसँगै सो भवनमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी पनि भयो । ओपिडी सेवाका नेमप्लेटहरु पनि राखिए, विभिन्न चिकित्सकका । तर ओपिडी सेवा सञ्चालन हुन सकेन । विद्यार्थीहरुले काठमाडौँसम्म पुगेर ओजेटी अभ्यास गर्न बाध्य छन् ।
अहिले फेरि एकीकृत अस्पताल निर्माणको हावा चलिरहेको छ । ५५ करोडको लागतमा एकीकृत अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट ल्याउने अभ्यास पनि सुरु भएको छ । अस्पताल निर्माणका लागि रुख कटानलगायत माटो परीक्षणको काम भइरहेको छ । एउटा शिक्षण अस्पताल भवन भएर पनि सञ्चालनमा ल्याउन नसक्ने विश्वविद्यालयले फेरि एकीकृत अस्पताल भवन निर्माणको तयारी थाल्नुलाई पनि स्थानीय सरोकारवालाहरुले अर्थपूर्णरुपमा लिइरहेका छन् ।
यसले संस्कृत विधाको आयुर्वेद चिकित्सा शिक्षालाई नै क्रमशः विस्थापित गर्दै अर्को अस्पतालको अवधारणा पदाधिकारीहरुले ल्याउन थालेको पनि आरोप लाग्न थालेको छ । ‘निर्माणमा कमिशन हुन्छ, सञ्चालनमा विभिन्न समस्या हुन्छन्, त्यसैले निर्माण सम्पन्न भएका संरचनाहरु उपयोगविहीन बन्दै आएका छन्’, नेपाल संस्कृत विश्वविद्यालयका एकजना अधिकारीले भने ।
गेट बनाउनै ११ बर्ष
नेपाल संस्कृत विश्वविद्यालयको मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ११ बर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । यसले नेपाल संस्कृत विश्वविद्यालयको प्रशासनिक एवं व्यवस्थापकीय हविगतलाई छताछुल्ल बनाइदिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रवेशद्धार निर्माण गरेर सञ्चालन गर्नमात्रै एक दशकभन्दा बढी समय लाग्छ भने विश्वविद्यालय व्यवस्थापनबाट समग्र समृद्धिको कस्तो अपेक्षा गर्ने ? आम नागरिकलाई यसले एकपटक सोचनीय बनाएको छ ।
विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रशासन शाखामा यो गेट निर्माण कहिलेदेखि सुरु भयो ? कति लागत लाग्यो ? कति समय काम भयो ? भन्ने लगायतका धेरै प्रश्नहरुको उत्तर पाउन सकिँदैन, तर पनि प्रशासन शाखाले बडो मेहनत गरेर खोजीखोजी उपलव्ध गराएको तथ्यांकले यो गेट निर्माणको प्रक्रिया वि.सं. २०६७ फागुन १४ गतेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले घोराही तुलसीपुर राजमार्गसँग जोडेर केन्द्रीय कार्यालयको उत्तरतर्फ मुख्य प्रवेशद्वार बनाउने निर्णय गरेको देखाउँछ ।
केही भेटिएका कागजात अनुसार सोही बर्ष गेट बनाउने ठेकेदारलाई २ लाख ७३ हजार ८ सय १५ रुपैयाँ भुक्तानीका लागि टिप्पणी उठाएको देखिन्छ । तर ठेकेदारले अझैसम्म पनि आफूले भुक्तानी नपाएको गुनासो विश्वविद्यालय प्रशासनसमक्ष गर्दै आएका छन् । अमानतमा निर्माण सुरु भएको सो गेट यहीकै ठेकेदार लालबहादुर पुनले निर्माण गरेका थिए ।
‘माथि उल्लिखित रकम त मजदुरहरुको ज्याला मात्रै हो, यसमा के–कति सामान प्रयोग भयो भन्ने एकिन विवरण अहिले उपलब्ध हुन सकेन’, नेपाल संस्कृत विश्वविद्यालय प्रशासन महाशाखा प्रमुख गिरिराज अधिकारीले भने । गेट निर्माण त सुरु भयो । तर विभिन्न प्राविधिक कारण देखाइ पटक–पटक निर्माणलाई अन्तिम स्वरुप दिन रोकियो ।
तत्कालीन रजिष्टार कार्तिकेय झाका पालामा सुरु भएको यो गेट निर्माण अझैसम्म पनि सकिएको छैन । यसबीचमा नेपाल संस्कृत विश्वविद्यालयमा चारजना उपकुलपतिहरु नियुक्त भैसकेका छन् । कैयन कर्मचारी एवं विभागीय प्रमुखहरु पनि पेन्सनमा निस्किसकेका छन् । तर गेट सञ्चालनमा आउन सकेको छैन । ‘के–कति कारणले निर्माण सम्पन्न हुन सकेन, त्यो त जानकारी भएन, तर निर्माणकै क्रममा पटक–पटक ब्रेक भएको भने यथार्थ हो’, विश्वविद्यालयका एकजना कर्मचारी भन्छन्– ‘रोक्नुको कारण कर्मचारीलाई जानकारी हुँदैन, पदाधिकारीलाई नै सोध्नुहोला ।’
गेटलाई गुणस्तरीय एवं नेपालकै विश्वविद्यालयको नम्बर १ बनाउन तात्कालीन रजिष्टार कार्तिकेय झाले सिमेन्टसमेत हेटौडा सिमेन्ट उद्योगमै पुगेर त्यहीकै गाडीमा यहाँ ल्याएका थिए । सरिया पनि बाहिरकै ल्याइएको थियो । अन्य कच्चा पदार्थ के–कति रकमको खर्च भए, विश्वविद्यालयसँग कुनै रेकर्ड देखिँदैन, देखिन्छ त गेट दश बर्ष बितिसक्दा पनि नबनेको ।
सडक विभागले आफ्नो क्षेत्राधिकार लिन थालेपछि नेपाल संस्कृत विश्वविद्यालयले पनि सडकको क्षेत्र छाडेर उत्तरतर्फको पर्खाल केही पर सारेको थियो, दक्षिणतर्फ तारजाली मात्र भएकाले नयाँ पर्खाल त्यसैताकादेखि निर्माण गरिएको थियो । पक्की पर्खाल बनाएसँगै विश्वविद्यालयको प्रवेशद्वार पनि उत्तरतर्फबाटै सञ्चालनको प्रयासस्वरुप गेट निर्माण सुरु भएको विश्वविद्यालयका पुराना कर्मचारीहरु बताउँछन् ।
धेरै बर्षसम्म मौन रहेको गेट निर्माण कार्यले फेरि निरन्तरता पाउन थालेको छ । विश्वविद्यालयमा माधवप्रसाद अधिकारी रजिष्टार नियुक्त भएपछि निर्माणले निरन्तरता पाउन थाल्यो । रंगरोगनलगायत विश्वविद्यालयको नाम आर्ट गर्ने काम सुरु भएको छ । तर यो काम पनि विश्वविद्यालयको गतिविधिजस्तै सुस्त छ । ‘एक महिनाभन्दा बढी भयो, चार लाइनको साइनवोर्ड तयार भएको छैन’, एकजना कर्मचारीले भने– ‘यो विश्वविद्यालयको पुरानै संस्कार हो । संस्कृत विश्वविद्यालय कहिल्यै हतार गर्दैन ।’
साइनबोर्ड लेखनको काम सम्पन्न भएपछि विश्वविद्यालयले एउटा सुन्दर र आकर्षक डिजिटल बोर्ड पनि सोही प्रवेशद्वारमा राख्ने तयारी गरेको छ । प्रति स्क्वायरफिट करीब ५ हजार मूल्यले डेढलाख मूल्य तिरेर डिजिटल बोर्ड ल्याइसकिएको छ । तर कहिले डिजिटल बोर्ड राख्ने हो, कुनै निश्चित छैन । प्रवेशद्वार एक महिनाभित्रै सञ्चालनमा आउने नेपाल संस्कृत विश्वविद्यालयले जनाएको छ । यो गेट सञ्चालनमा आएपछि उत्तरतर्फको प्रवेशद्वार बन्द गर्ने भनिएको छ ।
तर चारलेनले खस्रेको खाडल तरेर कसरी सवारी आवतजावत गर्लान् यो गेटबाट ? यसको कुनै योजना विश्वविद्यालयसँग छैन । लाग्छ, गेट तयार भैहाले पनि चाँडै यो सञ्चालनमा आउने छैन । फेरि बहाना बनाइनेछ, प्रवेशद्वार सञ्चालनलाई चारलेनले छेक्यो । तर चारलेन सडक विवादको भुमरीमा परिरहेको छ । यसले विश्वविद्यालयको प्रवेशद्वार सञ्चालनलाई पनि पछि धकेल्ने विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।