बालाराम खड्का
तुलसीपुर, ११ फागुन । दाङका एक जना युवा साउदीअरब जानका लागि काडमाडौंमा ३ हजार तिरेर कोभिड–१९ विरूद्धको पूरा मात्रा खोप लगाएको क्यूआर प्रमाणपत्र लिन बाध्य भए । तर बबई–६ का भूपेन्द्र वलीले भने रोजगारीका लागि विदेशिँदा कोभिड–१९ विरूद्धको पूरा मात्रा खोप लगाएको क्यूआर कोडयुक्त प्रमाणपत्र तुलसीपुर उद्योग वाणिज्य संघमा १ सय रूपैयाँमै बनाए ।
अर्का तुलसीपुर–१३ का सन्तोष डाँगी पनि क्यूआर कोड भनेको के हो र कहाँ बनाउने भन्ने तनावमा थिए तर तुलसीपुरमै सर्वशुलभ रूपमा उनले प्रमाणपत्र बनाएपछि खुसी भए । ‘यहीँ कार्ड बलाउन अरुले एक हजार ५ सयदेखि ५ हजारसम्म लिने गरेको पाएँ, मैले १ सयमै गराए’, उनले खुसी हुँदै भने । उनीजस्तै तुलसीपुर–४ का बालकृष्ण खड्काले पनि सहजै एकै दिनमा क्यूआर कोड प्रमाणपत्र पाएको भन्दै खुसी व्यक्त गरे ।
व्यावसायिक हकहित र व्यवसायीकहरूको छातासंगठनको रूपमा रहेको तुलसीपुर उद्योग वाणिज्य संघले व्यावसायिक सेवा केन्द्रबाट आवश्यक परेकालाई क्युआर कोड मात्र होइन, खानेपानीको बिल भुक्तानी तथा विद्युतको बिल भुक्तानी, विभिन्न कर भुक्तानीदेखि व्यावसायिक दर्ता, राष्ट्रिय परिचयपत्रको फर्म भर्नेलगायत विभिन्न अनलाइन फारम भर्नका लागि सहजता ल्याएपछि धेरै सेवाग्राही तुलसीपुर उद्योग वाणिज्य संघबाट लाभा उठाइरहेका छन् ।
सूचना प्रविधिको पहुँचमा यस क्षेत्रका व्यवसायी एवं आम नागरिकलाई जोडेर काममा सहजता ल्याउनका लागि तुलसीपुर उद्योग वाणिज्य संघले यो अभियान थालेको हो । यो सेवा दिएवापत उद्योग वाणिज्य संघले नाम मात्रैको शुल्क लिने गरेको छ । यसबाट कर्मचारीको पारिश्रमिक भुक्तानी बाहेक कुनै थप शुल्क नलिइने पनि उद्योग वाणिज्य संघले जनाएको छ । ‘संघले यो काम व्यावसायिक मुनाफाका लागि गरेको होइन, तुलसीपुरका व्यवसायी तथा नागरिकको सहजताका लागि एजेन्टका रूपमा मात्रै आफ्नो भूमिका निर्वाह गरेको हो’, संघका महासचिव विनिल केसीले भने । संघकै कर्मचारीमा प्राविधिक दक्षता समेत भएको, समय र श्रमको बचत गर्नका लागि पनि यो अभियान थालिएको बताइएको छ ।
मुलुक कोरोना भाइरसको संक्रमणका कारण त्राही–त्राही भइरहेको अवस्थामा विद्युतदेखि खानेपानीको बिल भुक्तानीमा पनि ठूलो भिडभाडको अवस्था देखिएपछि उद्योग वाणिज्य संघले यो सोच बनाएको थियो । अनलाइनबाटै बिल भुक्तानीको व्यवस्था भइरहँदा पनि कतिपय व्यवसायी तथा उपभोक्ताहरू यसबारे जानकारी नभएर वा नजानेर दिनभरि लाइनमा बस्ने परम्परा अझै पनि विद्यमान छ । यसलाई पूर्ण रूपमा निरुत्साहित गर्न ‘ई–पे’ अभियान सञ्चालन गरिएको पनि महासचिव केसीले बताए ।
त्यस्तै तुलसीपुर–८ की मनकला भट्टराईले उद्योग वाणिज्य संघले बत्ती–पानीको महशुल तिरिदिने व्यवस्था गरेपछि आफूहरूलाई सहज भएको बताइन् । ‘हामी दिनभर विजी हुनुपर्ने हुन्छ, कतिबेला बिल तिर्न जाने, उद्योग वाणिज्य संघमा पैसा र कार्ड छोड्छौँ, बिल तिर्न सहज भएको छ’, उनले भनिन् । उनले उद्योग वाणिज्य संघले गरेको यो कार्यबाट आफूहरू खुसी भएको बताइन् । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायी तथा अन्य सर्वसाधारणका लागि व्यावसायिक सेवा केन्द्रबाट विभिन्न सेवाहरू सशुल्क तथा निःशुल्कमा दिन सुरु गरेपछि धेरैलाई राहत मिल्नुका साथै सहज भएको छ ।
बाहिर काम गराउँदा धेरै रकम तिर्नुपर्ने र झन्जटिलो हुने गरे पनि आफूहरूले सहज र सर्वशुलभ रूपमा व्यावसायिक तथा अन्य नागरिकलाई सेवा दिन सुरु गरेको उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । उनले विभिन्न व्यावसायिक कर, उद्योग दर्ता, नवीकरण तथा विद्युत, खानेपानीको बिल, व्यवसायीहरूको बिलको भुक्तान समेत आफूहरूले गर्ने व्यवस्था गरेको बताए ।
करमा सहजीकरण
सुरुमा तुलसीपुर उद्योग वाणिज्य संघ र जिल्लाका अन्य उद्योग वाणिज्य संघहरू मिलेर तुलसीपुर स्थित कर कार्यालय परिसरमा हेल्प–डेक्स राखेपछि धेरैलाई सेवा लिन सहज भएको भन्दै विस्तारै व्यवसायीहरूको सहजताका लागि व्यवसायिक सेवा केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरेको केसीले बताए । ‘कर कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन ५÷७ हजार बाहिर तिरेर सेवा लिने गरेका थिए, अहिले २५ रूपैयाँमै सेवाग्राहीहरूले सहज रूपले सेवा लिने गरेका छन्’, महासचिव केसीले भने ।
‘आफैमा व्यवसायीहरूको व्यस्तता हुन्छ, कतिबेला कर तिर्न जाने कतिबेला व्यवसाय नवीकरण गर्न जाने, व्यवसायीकहरूको सहजताका लागि हामीले विभिन्न सेवाहरू कार्यालयले दिने व्यवस्था मिलाएका हौँ’, उनले भने । उनले केही दिनमै उपमहानगरपालिकासँग समन्वय गरेर व्यावसायिक दर्ता, अन्य व्यावसायिक करहरू भुक्तिानीका लागि सेवा संघले व्यवस्था गर्ने बताए ।
त्यस्तै हाल कोभिड–१९ का लागि क्यूआर प्रमाणपत्र, राष्ट्रिय परिचय–पत्रको फर्म भर्ने, घरेलुमा फर्म दर्ता, नवीकरणका लागि केही न्यून सुल्क लिएर आफूहरूले सेवा दिएको तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय सचिव पारेश्वर भट्टराईले जानकारी दिए । उनले क्यूआर कार्ड प्रमाणपत्रका लागि १ सय रूपैयाँ, राष्ट्रिय परिचय पत्रको फर्म भर्नका लागि एक सय र घरेलु तथा साना उद्योग कार्यालयमा प्राइभेट फर्म दर्ता, नवीकरण, खारेजीलगायतका सेवाका लागि ५ सय रूपैयाँ सेवा शुल्क लिने गरेको बताए ।
‘त्यही सेवा लिन दिनभर लाग्छ अनि बाहिरबाट काम गराउँदा अन्य थप शुल्क तिर्नुपर्छ तर हामीले सर्वशुलभ रकममा व्यवसायी तथा अन्य नागरिकलाई सेवा दिएका छौँ’, –कार्यालय सचिव भट्टराईले भने । उनले संस्थालाई पनि आय स्रोत हुने र नागरिक तथा व्यवसायीहरूले पनि आफ्नो काम सहजताका साथ हुने भएकाले पनि व्यावसायिक सेवा केन्द्रमार्फत् विभिन्न कामहरू गर्ने गरेको बताए । ‘यसले गर्दा समय तथा पैसा सबै बचत भएको छ, हामीले पनि सेवा गर्न पाएका छौँ’, उनले भने । अन्य सर्वसाधारण तथा व्यवसायीहरूले पनि उद्योग वाणिज्य संघले गरेको कामबाट सन्तुष्टि मिलेको बताए ।