सरकारमा बस्नेको नै दोहोरो चरित्र : महासचिव पोख्रेल

गोरक्ष समाचारदाता

लमही, ११ फागुन । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सरकारमा बस्नेहरूले एमसीसी परियोजनामा दोहोरो भूमिका खेलेको बताएका छन् । मंगलवार लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाको बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको र त्यसको विरोध एमालेले गरेको बताए ।

‘सरकारले एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो, प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन’, उनले भने, ‘नेकपा एमालेले भनेको छ– पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन ।’ एमसीसीको नाममा मुलुकमा एकप्रकारको द्वन्द्व मच्चाउने काम भइरहेको समेत उनले बताए । एमसीसीको मस्यौदा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताए । तर अहिले उनीहरू एमसीसी विरोधी भएको देखाउन नाटक गरिरहेको टिप्पणी गरे ।

‘शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उनीहरू छलफल गर्छन्, बैठक गर्छन्, बाहिर आफ्ना कार्यकर्तालाई ढुङ्गामुढा गर्न लगाउँछन्’, उनले भने, ‘यस प्रकारको गाईजात्राले नेपालको बामपन्थी आन्दोलन जनताको नजरमा कमजोर पार्ने काम माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गरेको छ ।’ महासचिव पोख्र्रेलले त्यही सत्ताले एमसीसी सम्झौता गर्न लगाउने र त्यही सत्ताले एमसीसीको विरूद्ध सडकमा उत्रेर जनतालाई अलमल्याउने काम गर्न खोजेको समेत बताए ।

मुलुक जटिल मोडमा उभिएको टिप्पणी गर्दै उनले पाँच दलीय गठबन्धन बनाएर पार्टी नेतृत्व र पार्टीका विरूद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताए । ‘हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित गर्ने संकल्प र अठोटका साथ निरन्तर रूपमा अघि बढेको समेत बताए । ‘पाँचदलीय गठबन्धन चुनासम्म गठबन्धन गरेर जाने भन्छन् तर चुनावको मिति तोक्ने भन्दा थररर काप्ने गर्छन्, हामी एक्लैसँग यो गठबन्धन डराएको छ ।’

सामाजिक अभियन्ताको रूपमा स्थापित व्यक्तिहरूले नेकपा एमाले रोजेका छन् । लामो समय देउखुरी क्षेत्रमा काम गर्दै आएका राप्ती गाउँपालिकाका गंगाराम भट्टराई, गढवा गाउँपालिकामा मोहन पाण्डे (शंकर), दीपककुमार यादवलगायतका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । लमहीमा आयोजित कार्यक्रममा ५१० व्यक्ति एमालेमा प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट दुई सय ७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट एक सय पाँच, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् ।

पार्टीका महासचिव पोख्रेलले पार्टी प्रवेश गराएका हुन् । एमाले दाङका अध्यक्ष हुकमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका इञ्चार्ज मनोहर बुढाथोकी, एमाले लेखा आयोगका केन्द्रीय सदस्य रेवतीमरमण शर्मा, गंगाराम भट्टराई, मोहन पाण्डे र दीपककुमार यादवलगायतले सम्बोधन गरेका थिए । एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मनोहर बुढाथोकीले गरेका थिए ।