छोरीको जन्म उनलाई लक्ष्मीकै जन्मजस्तै भयो । गते याद भएन, विसं २०४७ सालको असोज महिना उनले छोरी सपनालाई जन्म दिइन्, त्यसैबेला उनको जागिरे जीवनको पनि सुरुआत भयो । छोरीको नाम पनि सपना राखेकी छिन्, उनले । सायद सपना जन्मिएपछि उनको जागिरे सपनाको सुरुआत भएको थियो, खरिदारको जागिरबाट, त्यो पनि संस्थानमा । पढ्ने जाँगर सन्तान जन्मिएपछि हराउँछ भन्छन् तर उनको जीवनमा त्यसो भएन ।
छोरी जन्मिएपछि नै उनले लोक सेवा उत्तीर्ण गरेर अहिले अधिकृत पदसम्म चुम्दैछिन् । गोरक्ष साप्ताहिक खुसीको यात्रामा उनले भनेकी छिन्, लेखिदिनुहोला मेरो खुसी छोरी सपना …। सपना जन्मेको दिन परिवारमा पनि वहार आएकोजस्तै खुसियाली थियो । पहिलो सन्तानका रूपमा जन्मिएकि छोरीलाई घरपरिवारले पनि लक्ष्मी आएजस्तै अनुभूति गरेको थियो । परिवारमा खुसियाली साटासाट भएको थियो । माथि उल्लिखित खुसीका अभिव्यक्ति हुन्, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता शाखाका प्रमुख रेखा शर्माका ।
रेखाको खुसी सपना हुन् । सपनाले रेखालाई जीवन जिउन सिकाइन् । त्यो बेला सुत्केरी बिदा १५ दिन मात्रै हुन्थ्यो । रेखा त्यो बिदा बिताएपछि छोरीलाई काखमै च्यापेर पनि खाद्य संस्थानको जागिरे जीवन बिताइन्, त्यो बेला । रेखा भन्छिन्, ‘खाद्य संस्थानमा त्यत्ति भिडभाड र सेवाग्राही बढी हुन्नथे, त्यसैले कैयन दिन त छोरी बोकेरै कार्यालय समय बिताएँ । ‘मेरो बाल्यकाल रमाइलो र खुसीसँगै बितेको थियो । म घरकी जेठी, छोरी ५ बहिनी र एउटा भाइको जेठी छोरी मलाई बुबाआमाले सबैभन्दा बढी माया गर्नुहुन्थ्यो । पढ्दै गर्दा मेरो विवाह भयो’, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख रेखा शर्माले भनिन् ।
त्यसो त अचेल उनको खुसी जागिरसँग पनि जोडिएको छ । त्यो पनि उपभोक्ता हकहित शाखामा । उपभोक्ताको हक अधिकारका लागि सचेतना एवं खराब प्रवृत्तिका काम गर्ने व्यवसायीलाई कारबाही गर्ने समेत जिम्मेवारी छ, उनलाई । दिनभर बजार अनुगमन गरी बजारका त्रुटिहरू सच्याउन पाउँदा पनि उनलाई खुसी लाग्छ । बजारमा रहेका यस्ता कति अखाद्य वस्तु आफ्नै परिवारले पनि उपभोग गरिरहेका हुन्छन् । यस्तो जानी वा नजानी भएको त्रुटिलाई सच्याउनका लागि उनी निरन्तर अभियानमा छिन् । यसका लागि उनलाई स्थानीय सरकारले कार्यविधि बनाइदिएको छ, काममा सहजताका लागि । बजारमा दैनिक उपभोग्य सामान वल्टाइपल्टाइ हेर्छिन्, रेखाले । उनको दैनिकी केही महिनादेखि यसैमा बितेको छ । भन्छिन्, ‘स्वस्थ बजार मेरो खुसी …।’
जीवनका उकालीओरालीहरूमा खुसी तथा दुःखका पलहरू धेरै रहेको बताइन् । उनले दुःखभित्र पनि धेरै खुसीका पलहरू रहेको सुनाइन् । उनले विवाहपछि छोरी जन्मेको ६ महिनामै संस्थानमा जागिर खाएको बताइन् । ‘जुन वर्ष मेरो घरमा लक्ष्मी भित्रिएकी थिइन्, त्यसै वर्ष मेरो जागिरमा नाम पनि निक्लियो छोरी मेरो लागि लक्की’, उनले भनिन् । मेरो पहिलो खुसी त्यही लेखिदिनुहोला, ‘छोरीसँगै पहिलो पटक जागिर ।’ तुलसीपुरमा खाद्य संस्थामा अन्तर्वार्ता दिएर खरिदार पदमा जागिर खाँदा निकै खुसी लागेको सुनाइन् ।
मिजासिली मिलनसार रेखा शर्माले आफू सबैसँग चाँडो घुलमिल गर्न सक्ने भएको भन्दै करिब ७ वर्ष खाद्य संस्थान तुलसीपुरमा जागिर खाएको र त्यहाँ काम गर्दा खुसीका साथ आफ्नो जिम्मेवारी पूरा गरेको बताइन् । त्यससँगै शर्माले २०५६ सालमा लोक सेवाको तयारी गरी नेपाल सरकारको कर्मचारी भएर जागिर खाने प्रतिबद्धता गर्दै लोक सेवा आयोगको परीक्षामा पास भइ नाम निकाल्दा अर्को खुसी थपिएको बताइन् ।
उनले लोक सेवा आयोगमा नाम निकालेपछि रुकुम, सल्यानलगायतको क्षेत्रमा काम गर्ने अवसर मिलेको बताइन् । ‘त्यो द्वन्द्वकालमा एउटा सानो बच्चाबच्ची हुर्काउँदै मैले विभिन्न कार्यालयमा सेवा गरेँ, एउटा नेपाल सरकारको वफादार कर्मचारीको रूपमा जनतालाई सेवा गर्न पाउँदा मलाई निकै खुसी लाग्ने गथ्र्यो’, उनले भनिन् ।
शर्माले त्यतिबेला मोटरगाडीको बाटोको यस्तो सुविधा नभएको र काँधमा बच्चा बोकेर पिठ्यूँमा झोला र हातमा मट्टीतेलको जर्किन बोकेर जागिरका लागि हिडेको सम्झिइन् । उनले त्यही क्रममा २०५९ सालमा आफू जागिरको सिलसिलामा सल्यान जाँदै गर्दा आर्मीले कपुरकोटमा डेढघन्टा रोकेको पनि बताइन् । ‘मेरो र अर्को एक जना पहिलाको नाम मिल्ने भएर मैले त्यस दिन निकै दुःख पाएँ, जागिर खान जाँदा, त्यस दिन त्यहाँबाट डेढघण्टा पछि छुटेर जागिरमा जाँदा मलाई निकै खुसी लागेको थियो’, शर्माले भनिन् ।
त्यस्तै शर्माले नेपाल सरकार त्यतिबेला एउटै तहमा भएको र पछि राजनीतिक परिवर्तनसँगै देशमा संघीयता कार्यान्वय भइ तीन तहको सरकार भएपछि २०७५ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहमा समायोजन गरी आफूहरूको एक तह बढुवा गर्ने निर्णयले पनि थप खुसी थपेको बताइन् । उनले त्यतिबेला नासु पदबाट बढुवा भइ अधिकृत पदमा तुलसीपुर उपमहानगरपालिकामा समायोजन भइ यहाँ विभिन्न शाखाको प्रमुखको जिम्मेवारी सम्हालेर कार्य गर्न पाउँदा अर्को खुसी थपिएको बताइन् ।
त्यस्तै शर्माले अर्को खुसी हाल तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखको प्रमुखको रूपमा जिम्मेवारी निभाउन पाउँदा लाग्ने गरेको बताइन् । उपभोक्ताको हितको लागि बजार अनुगमन, मुल्याङ्कन तथा नियमन तुलसीपुर उपमहानगरपालिकाभित्रका बजारको व्यवस्थापन गर्ने जिम्मेवारी कुशलतापूर्वक निभाउन पाउँदा निकै खुसी भएको सुनाइन् । ‘उद्योगी व्यवसायीहरू र उपभोक्ताहरूलाई बिलिङ, व्याकेजिङ र गुणस्तरजस्ता कुराहरूमा पहिलेको अनुपातमा धेरै सचेतना जगाउन सफल भएका छौँ, शाखाको जिम्मेवारी पूरा गरेजस्तो लाग्छ म यसमा धेरै खुसी छु’, शर्माले भनिन् ।
उनले आफू बाहुनकी छोरी ठकुरीको बुहारी बन्न पुगेको र त्यतिबेला अन्तरजातीय विवाह भएको भन्दै केही समस्या भएको, पछि माइती पक्षले पनि सम्झाइ–बुझाइ गर्दा स्वीकार गरेको भन्दै त्यसमा पनि आफू निकै खुसी भएको बताइन् । ‘पहिले–पहिले अलि मलाई माइतीले पनि स्वीकार नगर्दा केही समस्या भयो, दिनहरू बित्दै जाँदा अहिले रमाइलो छ, म यसमा पनि खुसी छु’, उनले भनिन् । त्यस्तै शर्माले २०५९ सालमा घरमा तत्कालीन माओवादीले आक्रमण गरेको र घरपरिवारका सदस्यहरूलाई कुटपिट गरे पनि त्यस्तो अप्रिय घटना नभएको भन्दै ती दिन पनि सम्झिइन् ।
‘म त्यतिबेला सल्यानमा डेढ वर्षको छोरा घरमै छोडेर जागिरमा गएको थिएँ, सानो छोराछोरीहरूलाई ७ वटा सिरकले मोडेर मेरो देउरानीले बचाएको रहिछन्, मैले दुई दिनपछि त्यो खबर पाएँ, म त्यो सुन्दा दुःखी थिएँ तर कुनै अप्रिय घटना नभएको सुन्दा र बच्चाबच्ची सकुशल भएको सुन्दा त्यस दिन निकै खुसी लागेको थियो’, शर्माले भनिन् ।
त्यस्तै शर्माले घरपरिवारमा छोराछोरीहरूले पनि पढेर राम्रो बाटोमा लागेको र सबैको साथ र सहयोग पाएकोमा खुसी व्यक्त गरिन् । शर्माले आफ्नो सानो सहयोगले सेवाग्राहीहरूले सहज सेवा पाएकोमा खुसी व्यक्त गरिन् । साविक हलवार–४, हाल तुलसीपुर –४ बनहरीमा जन्मिएकी रेखा शर्माले बिजौरीबाट एसएलसी पास गरेको र त्यतिबेला आफूहरूको व्याचमा ३ वटा मात्र महिलाले परीक्षा दिएको भन्दै एसएलसी पास हुँदा पनि खुसी लागेको बताइन् । हाल तुलसीपुर–६ निवासी रेखा शर्मा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी प्रमुख हुन् ।
प्रस्तुती : बालाराम खड्का