तुलसीपुरमा बाथरोग सेन्टर

तुलसीपुर, ९ फागुन । नेशनल बाथरोग सेन्टर काठमाडौँको व्यवस्थापनमा तुलसीपुरको विपीचोक नजिकै बाथरोग उपचार क्लिनिक सञ्चालनमा आएको छ । कान्तिपुर आथ्रोईटीस एण्ड रुमाटिजम प्रा.लि. तुलसीपुरको नाममा सञ्चालित बाथरोग क्लिनिकको एक कार्यक्रमका बीच तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले उद्घाटन गरेका छन् ।

तुलसीपुरमा सेवा सुरु भएको सो क्लिनिकमा पहिलो चरणमा सातामा एकपटक काठमाडौबाट यो रोगका विशेषज्ञ आएर उपचारसेवा प्रदान गर्नेछन् । हाल बाथरोग सेन्टरमा ७ जना मात्रै विशेषज्ञ भएकाले सातामा एक दिनमात्रै विशेषज्ञ तुलसीपुर आउन समय मिलाइएको हो । नेपालभरी यस्तो रोगका विशेषज्ञ करिब १५ जना मात्रै छन् । सामान्य चिकित्सामा एमडी कोर्ष पूरा गरिसकेपछि कम्तीमा ३ बर्ष यो विधामा अध्ययन गरेपछि मात्रै बाथरोग विशेषज्ञ बन्न सक्छन् ।

बाथरोगको समस्या भएका व्यक्तिहरुलाई आफ्नै घरदैलोमा सेवा दिने उद्देश्यसहित शाखा विस्तार गरिएको सेन्टरका निर्देशक रोशन कक्षपतिले बताए । तुलसीपुरबाट प्रदान गरिने बाथरोग पहिचान र उपचार सेवा राजधानीबाट प्रदान गरिने सरहको हुने उनले दावी गरे । ‘बाथरोग उपचार सेवा हरेक जिल्लामा पुग्नुपर्छ भन्ने हाम्रो महत्वकांक्षी योजना हो, उनले भने– ‘त्यसैले हरेक वर्ष एउटा जिल्लामा बाथरोग सेन्टर स्थापना गर्ने संकल्पका साथ अघि बढेका छौं ।’

कान्तिपुर आथ्रोईटीस एण्ड रुमाटिजम प्रालिका मेनेजिङ डाइरेक्टर शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेशनल सेन्टरको तुलसीपुरमा शाखा विस्तार भएसँगै यहाँका बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको भन्दै खुसी व्यक्त गरे । ‘निम्न आयस्तर भएका बाथरोगीहरु उपचारका लागि जिल्ला बाहिर जान नसक्दा अकालमै ज्यान गुमाउन बाध्य थिए’, भण्डारीले भने– ‘अब भने त्यो समस्याबाट मुक्त हुनेछन् ।’

उनले सुलभ र गुणस्तरीय रुपमा शाखा सञ्चालन गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न आग्रह समेत गरे । कार्यक्रममा नेशनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बाथरोगको उपचार काठमाडौंमा मात्रै नभई नेपालभर फैलाउने र बाथरोगसम्बन्धी दक्ष जनशक्तिको देशभर विकेन्द्रीकरण गर्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको बताए । उनका अनुसार यो रोग १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका मानिसहरुमा बढी देखिने गरेको छ ।

बाथरोगीहरुमा हातका औलाहरु दुख्ने वा सुनिन्ने, राती र बिहानको समयमा ढाड दुख्ने, घुडा दुख्ने सुन्निने, पाइतला पोल्ने÷झम्झमाउने, चिसोमा काम गर्दा हातखुट्टा निलो हुने, जिउ गल्ने र छिटो–छिटो थकाम हुने जस्ता लक्षणहरु देखा पर्ने डा.बैद्यले बताए । साथै उनले बाथरोग एक खतरनाक बिरामी भएकोले यसको उपचार लक्षण सुरु भएको ३ महिनाबाट १ वर्षभित्र गरिएमा यसबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिने समेत जानकारी दिए ।

बाथरोगको पहिचानका लागि इम्युनोलोजिकल टेष्ट काठमाडौँमा स्याम्पल पठाएर गरिनेछ भने नशाको सूक्ष्म जाँच तथा कुर्कुरे हड्डीको जाँच भने इलेक्ट्रिक माध्यमबाट यही गरीने चिकित्सक बैद्यले बताए । सेन्टरका प्रबन्ध निर्देशक रमेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सेन्टरका पवित्रा कार्कीले गरेकी थिइन् ।