खेमराज रिजाल
दाङ,९ फागुन । स्थापनाको चारबर्ष पुग्नै लाग्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य उपचार सेवाको विस्तार गर्दै आएको छ । यसै सातादेखि प्रतिष्ठानमा मृगौलाका बिरामीका लागि डायलासिस सेवा थप विस्तारका साथै मुटु तथा बालरोग विशेषज्ञको सेवासमेत सुचारु गरेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिष्ठानमा मृगौलाका बिरामीहरुबाट नियमित हेमो डायलासिस सेवाको माग बढेसँगै यसै सातादेखि प्रतिष्ठानले डायलासिसका मेसिन थपेर ७ पु¥याएको छ । ७ वटा डायलासिस मेसिन दुई सिफ्टमा सञ्चालन भएसँगै अब घोराहीमा मात्रै एक दिनमा कम्तीमा १४ जना मृगौलाका बिरामीहरुले डायलासिसको सेवा पाउने छन् । यसअघि ३ वटा मात्रै डायलासिस मेसिनबाट बिरामीहरुलाई सेवा प्रवाह गरिँदै आएको थियो । विशेषज्ञ चिकित्सा सेवालाई थप विस्तार गर्दै प्रतिष्ठानमा सोमवारदेखि गौतमबुद्ध मुटुरोग अस्पतालका रुपन्देहीमा विगत ५ बर्ष काम गर्दै आएका डा. रिकेश सापकोटा तथा एकजना बालरोग विशेषज्ञद्वारा पनि सेवा सुरु भएको प्रतिष्ठानका निमित्त उपकुलपति डा. बसन्त लामिछानेले गोरक्षलाई बताएका छन् ।
बिरामीको आवश्यकता अनुसार धेरै रोगका विशेषज्ञको सेवा प्रतिष्ठानमा उपलव्ध भइरहेको छ, डायलासिस सेवा नपाएर अब कुनै पनि विरामीले फर्कनुपर्ने छैन’, निमित्त उपकुलपति लामिछानेले भने । अस्पतालमा तीनजना फिजिसियनलगायत हाडजोर्नी, सामान्य चिकित्सा, दन्तरोग, आँखा रोग, यौन तथा चर्मरोग, नाक–कान घाँटी, स्त्री तथा प्रसुति रोग विशेषज्ञलगायतका सेवा उपलव्ध भइसकेको पनि प्रतिष्ठानले बताएको छ । गम्भीर प्रकारका बिरामी तथा दुर्घटना तथा सर्पदंशबाट गम्भीर भएका बिरामीहरुका लागि आइसियु तथा भेन्टिलेटर सेवा समेत प्रतिष्ठानमा उपलव्ध छन् ।
त्यसैगरी प्रतिष्ठानमा नेपाल सरकारले निःशुल्क उपलव्ध गराएको आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । प्रतिष्ठानमा कार्यालय समयभित्र सबै बिरामीले निःशुल्करुपमा प्रसुति सेवा तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्नेछन् । नर्मल डेलिभेरीका लागि चौबीसै घण्टा प्यारामेडिक्सलगायतका स्वास्थ्यकर्मीको सेवा प्रतिष्ठानमा उपलव्ध रहेको बताइएको छ । प्रतिष्ठानको विस्तारित सेवाअन्तर्गत केही अतिरिक्त शुल्कमा दिउँसो ३ बजेपछि पनि गर्भवती महिलाहरुको शल्यक्रियाबाट बच्चा निकाल्ने काम पनि भइरहेको प्रतिष्ठानका अधिकारीहरुले जनाएका छन् ।
अन्य सुविधासम्पन्न अस्पतालहरुमा जस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि दूरबिन प्रविधिबाट पित्तथैली, पाठेघरलगायत विभिन्न शल्यक्रियाहरु हुन थालेका छन् । यसका लागि आधुनिक शल्यक्रिया कक्षको समेत व्यवस्थापन भइसकेको बताइएको छ । प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरुको उपचारका लागि अत्याधुनिक प्रविधिबाट शल्यक्रिया सेवा उपलव्ध हुन थालेका छन् । कृतिम लिम्व प्रत्यारोपणलगायतका विभिन्न शल्यक्रियाका लागि चार जना हाडजोर्नी विशेषज्ञले सेवा प्रदान गरिरहेका छन् । फिजिसियन ३ जनाको सेवासँगै पछिल्लो समयमा प्रतिष्ठानमा दैनिक करिब ३ सय जति बिरामीहरुले स्वास्थ्य सेवा लिइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
शैक्षिक कार्यक्रमको अन्तिम तयारी
यसैबीच प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि ३ वटा शैक्षिक कार्यक्रम लञ्च गर्ने अन्तिम तयारी गरेको छ । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका निमित्त उपकुलपति डा. लामिछानेका अनुसार आउँदो शैक्षिक सत्रदेखि ३ बर्षे बिएनएस, ४ बर्षे बि. फार्मेसी तथा ४ बर्षे बिएससी नर्सिङ कक्षा सञ्चालनको तयारी भइरहेको छ । त्यसमा पनि पहिलो चरणमा प्रतिष्ठानले ४ बर्षे बिएससी नर्सिङको सबै तयारी पूरा भएको बताएको छ ।
‘चिकित्सा सेवा आयोगको अनुगमनपछि स्वीकृति पाएमा आउँदो शैक्षिक सत्रदेखि यी तीनवटै शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने अन्तिम तयारीमा छौं, यसका लागि जनशक्तिको व्यवस्थापनलगायत इन्फास्ट्रक्चर निर्माणको काम पनि करिब करिब पूरा भैसकेको छ’, शिक्षाध्यक्ष लामिछानेले भने । आयोगको अनुगमन कहिले आउने भन्ने निश्चित नभएको प्रतिष्ठानको भनाइ छ । सम्भवतः यही महिना आयोगको अनुगमन आएर स्वीकृति दिएमा जेठ पहिलो सातादेखि नै कम्तीमा एक विधामा कक्षा सञ्चालन हुने डा. लामिछानेले बताएका छन् ।
चिकित्सा शिक्षा आयोगको मापदण्डअनुसार यी शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्फ्रास्टक्चरका साथै कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन भएको हुनुपर्ने छ । तर प्रतिष्ठानमा अहिले नै करिब पौने २ सय बेड सञ्चालनमा छन् । शैक्षिक भवन, प्रयोगशाला, पुस्तकालय, क्यान्टिनलगायतका पूर्वाधार पनि तयार भइरहेका छन् ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रतिष्ठानले वरिष्ठ नर्स अम्बिका पौडेललाई एकेडमिक कोअर्डिनेटरका रुपमा नियुक्तसमेत गरिसकेको छ भने पढाइ सञ्चालनका लागि आवश्यक प्राध्यापकको भ्याकेन्सी सार्वजनिक गरी छनोट प्रक्रियासमेत सुरु भइसकेको छ । ‘हामीले विएससी नर्सिङको करीकुलम निर्माणको काम सकिसकेका छौं, अन्य शैक्षिक कार्यक्रमको पनि करीकुलम निर्माणलगायतका सबै प्रक्रियाहरु केही सातामै पूरा हुनेछन्’, प्रतिष्ठानका एकेडेमिक कोअर्डिनेटर अम्बिका पौडेलले गोरक्षलाई भनिन् । उनले चिकित्सा सेवा आयोगबाट स्वीकृति प्राप्त भएमा जेठ महिनादेखिनै पठन–पाठनको काम सुरु हुने बताइन् । स्वीकृति पाएमा एक शैक्षिक कार्यक्रममा ४० जना विद्यार्थीहरुलाइ पढाउने प्रतिष्ठानले तयारी गरेको छ ।
प्रतिष्ठानको नयाँ भवनको निर्माण सम्पन्न हुने क्रममा छ । प्रतिष्ठानले अशक्त बिरामीहरुका लागि लिफ्ट तथा ¥यामको समेत सुविधासहितको भवनको ग्राउण्ड फ्लोरमा अत्याधुनिक आकस्मिक उपचार कक्ष सञ्चालन गर्नेछ । कम्तीमा ४० जना बिरामीले एकैपटक आकस्मिक उपचार सेवा पाउनेछन् । आकस्मीक कक्षमा स्क्रीनिङ भएका बिरामीहरुलाई सम्बन्धित विभागीय उपचारमा पठाइने छ ।
पहिलो तल्लामा लेक्चर हल निर्माण भइरहेको छ । दोस्रो तल्लामा ओटी, एनआइसियु, आइसियु, पिआइसियु र मेट्रानिटी वार्ड राखिने छन् । तेस्रो तल्लामा साधारण बिरामी भर्ना कक्ष र चौथो तल्लामा प्रशासनिक कक्ष सञ्चालन हुने तयारी भइरहेको छ । निर्माणको काम सम्भवतः बैशाख महिनाभित्रै सम्पन्न हुने बताइएको छ ।