तप्पापानीमा ओइरिए दीर्घरोगी

गोरक्ष समाचारदाता
तप्पापानी(तुलसीपुर), ८ फागुन । तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरकी पुष्पा थापा बिरामीको पर्चा कटाउन एकाबिहानै नजिकैको तप्पापानी स्वास्थ्य चौकी पुगेकी छिन् । पुष्पाकै भनाइमा उनको घाँटीमा पटक–पटक सास रोकिन्छ रे । स्वास फेर्न असजिलो, हातखुट्टा झमझमाउनेलगायतका समस्या रहेछन् । मोबाइलमा आएको फेसबुकको सूचनाले पुष्पालाई स्वास्थ्य चौकी डो¥यायो । ‘ठूला डाक्टर आउँछन् भनेर यहाँ आएकी हुँ, राम्रै उपचार हुन्छ कि भनेर’, पुष्पाको आशा थियो यो ।

कमला थापा पनि लाइनमै थिइन्, पुष्पाकै छिमेकी । उनलाई पनि लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याले सताइरहन्छन् । ‘स्वास्थ्य चौकीमा सधैँ भेटिने डाक्टरको औषधीले छुँदैछोएन, त्यसैले विशेषज्ञ डाक्टर आउने खबरले यहाँ आएकी हु’, कमलाले पत्रकारसँग भनिन् । तुलसीपुर सिटी अस्पतालले शनिवार तुलसीपुर उपमहानगरपालिकाको तप्पापानी स्वास्थ्य चौकीमा आयोजना गरेको विशेषज्ञ चिकित्सकको सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरमा पुष्पा र कमलाजस्तै छिल्लीकोटबाट समेत बिरामी आएका थिए, स्वास्थ्य परीक्षणका लागि ।

‘अहिले त केही भा‘छैन, दुई वर्ष अघि प्रेसरले हान्दा दायाँ खुट्टातिर झमझमाइरहन्छ’, कुटेचौरकै अर्का बिरामीले उपचारका लागि त्यहाँ पुगेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा हेमराज शर्मालाई बताइरहेका थिए । हाडजोर्नीका अधिकांश बिरामीको समस्या नै हातखुट्टा झमझमाउने, कम्मर दुख्ने र घुँडा बेस्सरी दुख्ने हो । डा शर्माले धेरै बिरामीलाई गह्राँै भारी नबोक्न सुझाइरहेका थिए तर सडकको सहज पहुँच समेत नभएको त्यो क्षेत्रमा भारी नबोकी गुजारा चलाउन मुस्किलजस्तै थियो ।

शनिवार दिनभरि तुलसीपुर सिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कम्तिमा ३ सय स्थानीय बिरामीहरूको स्वास्थ्य परीक्षण गरे । धेरै बिरामीहरू दीर्घरोगीहरू रहेको आयोजक तुलसीपुर सिटी अस्पतालले जनाएको छ । शिविरमा औषधी निःशुल्क वितरण गरिएको थियो भने युरिकएसिड, सुगर तथा सिबिसीलगायतका प्रयोगशाला परीक्षण पनि निःशुल्क उपलब्ध गराइएको थियो । थप उपचार सेवा चाहिनेलाई सुविधा भएका स्वास्थ्य संस्थामा जान पनि चिकित्सकहरूले सिफारिस गरिरहेका थिए ।

 इन्टरनल मेडिसिन विशेषज्ञ डा रेशम गौतम, हाडजोर्नी रोग विशेषज्ञ डा हेमराज शर्मा, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा शेखर थापा, नाक, कान, घाँटी रोग विशेषज्ञ डा सञ्जय महर्जन, कन्सल्टेन्ट रेडिओलोजिस्ट डा बसन्त रेग्मी र छाला तथा यौनरोग विशेषज्ञ डा समीर श्रेष्ठले चेकजाँच गरेका थिए । शिविरमा अन्य मेडिकल अफिसर तथा स्टाफ नर्स र हेल्थ असिस्टेन्टहरूले पनि सेवा प्रदान गरेका थिए । तुलसीपुर सिटी अस्पतालको आयोजनामा भएको शिविरमा सहयोगी भूमिकामा रोटरी क्लव अफ तुलसीपुर र रोट्रयाक क्लव अफ तुलसीपुरका दर्जन बढी युवाहरूको पनि प्रत्यक्ष सहयोग रहेको थियो ।

शिविर सुरु हुनु अघि अस्पतालका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा एक औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका–१९ का वडाध्यक्ष रामबहादुर योगीले उपमहानगरपालिका भएर पनि पिछडिएको यो बस्तीमा बेलाबेलामा यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरू आवश्यक रहेको भन्दै आयोजक तुलसीपुर सिटी अस्पताललाई धन्यवाद दिएका थिए ।

रोट्रयाक क्लव अफ तुलसीपुरका अध्यक्ष तथा तुलसीपुर सिटी अस्पतालका व्यवस्थापक हेमराज बस्नेतले विषय प्रवेश गराएको स्वास्थ्य शिविरमा स्वास्थ्य चौकी प्रमुख गोविन्द पार्धे, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष देवबहादुर केसी, रोटरी क्लव अफ तुलसीपुरका पूर्व अध्यक्ष कुशल तर्ताल, रोटरियन ललित घर्तीलगायतले स्वास्थ्य शिविरको सफलताको कामना गरेका थिए । कार्यक्रमको सहजीकरण रोट्रयाक क्लव अफ तुलसीपुरका महासचिव इनुप भण्डारीले गरेका थिए ।