‘राजनीतिक स्वतन्त्रताले मात्रै प्रजातन्त्र टिक्दैन’

गोरक्ष समाचारदाता
तुलसीपुर, ८ फागुन । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले लोकतन्त्रलाई राजनीतिक स्वतन्त्रतालाई मात्र नजोडेर आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राकृतिक समृद्धिमा पनि जोड्नुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिका र ग्रीन फाउण्डेशन नेपालको संयुक्त आयोजनामा शनिवार तुलसीपुरमा आयोजित दिगो वन व्यवस्थापन र वन तथा कृषि उद्यमशीलता विषयक सञ्चार गोष्ठीमा नगर प्रमुख पाण्डेले यस्तो अभिव्यक्ति दिए ।

बहुसंख्यक नागरिक कृषि व्यवसायमा आश्रित हुँदा पनि नेपालको समग्र अर्थतन्त्र परनिर्भर रहेकाले यसलाई निर्यातमुखी अर्थतन्त्रका रूपमा विकास गर्न साझा पहल आवश्यक रहेको पनि नगर प्रमुख पाण्डेको अभिव्यक्ति थियो । ‘भान्सामा भारत, शरीरमा चाइना अनि खोइ त नेपाली उत्पादन ?’, कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख पाण्डेले प्रश्न गरे ।

उनले प्रकृति, संस्कृति र समृद्धिलाई सँगसँगै जोडेर अघि बढ्नसके मात्रै नागरिकले यथार्थमा लोकतन्त्रको अनुभूति गर्नसक्ने बताए । वनलाई काष्ठ पैदावारका रूपमा मात्र नलिएर हस्तकला उद्योग, औषधी तथा जडिबुटीजन्य उद्योग तथा पर्यटनसँग पनि जोडेर समृद्धिको पक्षमा अघि बढ्न पनि उनको सुझाव थियो । त्यसका लागि स्थानीय सरकारले प्राविधिक, आर्थिक एवं अन्य व्यवस्थापकीय सहयोग गर्न पनि तयार रहेको बताए । ‘तपाईंहरू उत्पादनमूलक सिर्जनात्मक काममा लाग्नुस्, आवश्यक पर्ने कच्चा पदार्थको व्यवस्थापन तथा तयार भएको वस्तुको बजारीकरणमा हाम्रो सहयोग रहने छ’, नगर प्रमुख पाण्डेले भने ।

ग्रीन फाउण्डेशनले तुलसीपुर उपमहानगरपालिकासँगको सहकार्यमा दिगो वन व्यवस्थापन सँगै उपभोक्ताहरूलाई वनलाई उद्यमशीलतासँग जोड्न विभिन्न सीप सिकाउनेलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । विभिन्न क्षेत्रमा समूह बनाएर हस्तकला उत्पादनलाई पनि फाउण्डेशनले प्रबद्र्धन गर्दै आएको छ । ग्रीन फाउण्डेशन दाङका कोषाध्यक्ष खुमप्रसाद भण्डारीको खुमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्कृतिविद अशोक थारूले हस्तकला पुनः ब्युँझिन थालेको भन्दै यसलाई अब अन्तर्राष्ट्रिय बजारमा निर्यातमुखी व्यावसायका रूपमा स्थापित गर्न सुझाव दिए ।

‘भौतिकवादका कारण हस्तकला हराउँदै गएको थियो तर अब फेरि अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका उत्पादनको माग बढेको छ’, संस्कृतिविद थारूले भने । हस्तकला व्यापार व्यवसायसँग मात्र नजोडिएर पारिवारिक स्नेहसँग पनि जोडिएकाले यसलाई प्रबद्र्धन गर्नसके मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नसक्ने पनि संस्कृतिविद थारूको सुझाव थियो । संस्कृतिविद थारूले सबैले आफ्नो धरातल नबिर्सिएर आधुनिकतामा प्रवेश गर्न पनि सुझाव दिए ।

सञ्चार अभिमुखीकरण कार्यक्रममा पत्रकार तथा मानव अधिकारकर्मी सुशीmल बस्नेतले हस्तकलाजन्य उद्योगलाई व्यवसायीकरण गर्न सरकारले कच्चापदार्थको सहज उपलब्धता तथा उत्पादित वस्तुहरूको बजारीकरणमा सहयोग गर्नुपर्ने सुझाव दिए । तुलसीपुर उपमहानगरपालिकाका वडाध्यक्ष नवराज लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पत्रकार खेमराज रिजाल, नारायण खड्का, तुलसीपुर—११ कृषि उद्यम समूहका जागेश्वर भण्डारी, पकर्रे कालिका कृषि उद्यम समूहका उपाध्यक्ष कूलबहादुर केसी, सर्वोदय ढकिया समुल समूहका सरमा चौधरी, तुलसीपुर उपमहानगरपालिका उद्योग शाखा प्रमुख रेवा रावतलगायतले घरेलु उत्पादनको बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशनका तेजराज वलीले गरेका थिए । सो अवसरमा वनको दिगो व्यवस्थापनको विषयमा सिर्जना शर्माले प्रस्तुती गरेकी थिइन् । सो अवसरमा विभिन्न समूहले निर्माण गरेका हस्तकलाजन्य सामग्रीहरू ढकिया, बेलिया, मन्दिरलगायतका काष्ठजन्य उत्पादनहरू प्रदर्शन गरिएका थिए ।