पकर्रेमा बेलझुण्डी खानेपानीको ट्याङ्की बन्दै

गोरक्ष समाचारदाता
तुलसीपुर, ८ फागुन । निर्माण सुरु भएको ६७ वर्षपछि फेरि बेलझुण्डी खानेपानीले आफ्नो सेवाक्षेत्र विस्तार थालेको छ । त्यसका लागि कम्तिमा ३० करोडभन्दा बढीको लगानीमा पाइपलाइन विस्तारदेखि थप मुहान र पानी रिजर्भायर टेङ्की निर्माणको कामले गति लिन थालेको छ ।

बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सहलगानी आयोजना अन्तर्गत् तुलसीपुर उपमहानगरपालिका–१९ को पकर्रेमा नयाँ पानी रिजर्भायर टेङ्की शुक्रवार शिलान्यास गरिएको छ । कतुलसीपुर–१९ पकर्रेमा चार लाख लिटर पानी अट्ने रिजर्भ टेङ्कीको शुक्रवार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको छ । कम्तिमा दुई वर्षपछि निर्माण सम्पन्न हुने यो आयोजनाले कम्तिमा एक हजार थप उपभोक्तालाई खानेपानी सुविधा पुग्ने बेलझुण्डी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रदीप गौतमले जानकारी दिएका छन् ।

संस्थाले उपभोक्तालाई सहज रूपमा खानेपानीको व्यवस्थापन गर्न र सेवा थप विस्तारका लागि नयाँ रिजर्भ टेङ्की निर्माण गर्न लागेको हो । पकर्रेमा निर्माण गर्न लागिएको रिजर्भ टेङ्कीले तुलसीपुर १८ र १९ को चौवाखोलादेखि पुर्वपट्टिको करिब ९ सय घरधुरीमा खानेपानीको धारा विस्तार गर्न सकिने अध्यक्ष गौतमले बताए । नगर प्रमुख पाण्डेले सहलगानीको आयोजना सम्पन्न भएपश्चात् खानेपानीको दीर्घकालीन समस्या समाधान हुने बताए । उनले नागरिकलाई खानेपानीको सहज व्यवस्थापनमा सरकारको दायित्व रहेको बताउँदै बेलझुण्डी खानेपानी संस्थामार्फत् धेरै उपभोक्ता लाभान्वित हुने बताए ।

खानेपानी संस्थाले सेवालाई थप विस्तार गरी दीर्घकालीन खानेपानीको समस्या समाधानका लागि करिब ३१ करोडको सहलगानीमा आयोजनाको काम अघि बढाइएको हो । कूल रकमको ७० प्रतिशत नेपाल सरकारको अनुदान रहनेछ भने ३० प्रतिशत उपभोक्ताले उठाउनुपर्ने छ । आयोजनाको काम अन्तर्गत् ५ वटा मुहान, ५ वटा रिजर्भ टेङ्की, ९४ किलोमिटर शाखा पाइपलाइन विस्तार, १५ किलोमिटर मुख्य पाइप लाइन विस्तार हुनेछन् ।

आयोजना सम्पन्न भएमा २४ घण्टा धारामा पानी आउने र मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पिउने पानी प्राप्त गर्ने अध्यक्ष गौतमले बताए । सहलगानी आयोजनाको काम मृतसंजीवनी स्वामीनारायण सगुन जेभी रूपन्देहीका सञ्चालक सहदेव खड्काले सम्झौता मिति अगावै कामसक्ने बताए । सहलगानी आयोजनाको काम २०८० साल भदौ १५ गतेसम्म सक्नुपर्ने सम्झौता छ ।

संस्थका अध्यक्ष प्रदीप गौतमको अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा रिजर्भ टेङ्कीको शिलान्यास गरिएको हो । संस्थाका सदस्य देवकला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नं. १७ का अध्यक्ष थलराज पुरी, १८ का अध्यक्ष माधव वली, १९ का अध्यक्ष रामबहादुर योगी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, बेलझुण्डी खानेपानीका पूर्व अध्यक्ष ईश्वर पोख्रेललगायतले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य पुष्कर रावतले गरेका थिए ।

फाइल फोटो