शिवराज खनाल
देउखुरी, ७ फागुन । अपाङ्गता भएका नागरिकहरुको सहज पहुँचका लागि अपांगमैत्री संरचना निर्माणका लागि जोड दिइएको छ । नेपालको संविधानले राज्यका हरेक तहमा अपाङ्गमैत्री संरचना निर्माणका साथै अपांगता भएकाहरुका लागि सहज पहुँचको व्यवस्था गर्ने भनिए तापनि व्याबहारिक रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका ब्यक्तिहरु विभिन्न स्थानीय सरकारी तथा अन्य निकायहरुसम्मको पहुँचबाट बञ्चित हुनुपरेको बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल अपांग महासंघ गण्डकी प्रदेश अध्यक्ष होमराज शर्माले सरोकारवाला निकायहरुले अधिकारको क्षेत्रमा साझेदार गरेर अपांगता भएकाहरुको हितका लागि काम गर्न आवश्यक रहेको बताए । ‘भौतिक संरचना, सूचना, सेवा प्रबाहलाई अपाङ्गमैत्री बनाउन सकेमात्र त्यो मानवमैत्री हुने भएकाले सबैको सबै तहमा, पहुँचको लागि समस्याको पहिचान गरेर संरचना बनाउन जरुरी छ’, शर्माले भने ।
समाजभित्रको विविधतालाई ख्याल नगरेर संरचना बनाउँदा देशको व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिबर्तन हुन नसकेको उनको भनाइ थियो । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले नगरपालिकाले अपांगमैत्री संरचनामा जोड दिने प्रतिबद्वता ब्यक्त गरे ।
आफूले अपांगमैत्री संरचना बनाउने भने तापनि त्रुटिवश सबै संरचना अपांगमैत्री हुन नसकेको स्वीकार गर्दै अबदेखि सबै अपांगता भएकाहरुको उपयुक्त पहुँच पुग्ने हिसाबले नगरपालिकाले कार्य गर्ने आश्वासन दिए । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले अपांगता भएकाहरुको उपयुक्त पहुँचका लागि गाउँपालिकाले आगामी दिनमा सोहीबमोजिमको संरचना निर्माणमा ध्यान दिने बताए ।
लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा हामीलाई पनि समाबेश गर पहुँचयुक्तता परीक्षणसम्बन्धी तीन दिने तालिम उद्घाटन कार्यक्रम नेपाल अपाङ्ग महासंघका लुम्बिनी प्रदेश कोषाध्यक्ष हेमनाथ ज्ञवालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको विशिष्ट आतिथ्यमा भएको थियो ।
नेपाल अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका सहसचिव अजय शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल अपाङ्ग महासंघ लुम्बिनी प्रदेशको कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिइन् । तीन दिनसम्म चल्ने तालिममा लुम्बिनी प्रदेशका २० जनाको सहभागिता रहेको छ ।