सकसमा एमसीसी

काठमाडौँ, ७ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘सकस’ थप दुई दिन लम्बिएको छ । सत्तारुढ दलका नेताहरुबीच बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै छलफलमा आगामी आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्न र त्यसबेलासम्म दलहरुबीचको वार्ता र संवादलाई पनि निरन्तरता दिँदै निकासको बाटो पहिल्याउन नेताहरु सहमत भएका हुन् ।

सत्तारुढ दलबीच आइतबार बिहान पुनः छलफल गरी सोही दिन एमसीसी टेबल हुने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । फागुन ७ गते शनिबार सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्नेछ । फागुन ७ गते बस्ने एकीकृत समाजवादीको बैठकले एमसीसीबारे पार्टीको स्पस्ट धारणा सार्वजनिक गर्नेछ । शुक्रबारकै प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने जोडबलमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दल नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आग्रहमा आइतबारसम्म कुर्न तयार भएका हुन् ।

नेकपा माओवादीसँगै एमसीसीको विरोधमा रहेको नेकपा समाजवादीले अहिलेसम्म संस्थागत निर्णय नगरे पनि सकारात्मक बन्न सकेको छैन । बिहीबार बेलुका र शुक्रबार बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको छलफलमा अध्यक्ष नेपाल एमसीसीप्रति केही ‘लचक’ बनेको कांग्रेस नेताहरुको दावी छ । ‘माधव नेपालले चाहीँ एमसीसी टेबल गर्ने विषयमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुअघि सहमति जनाउनुभएको हो, त्यो सहमतिमा उहाँ अहिले पनि इमान्दार हुनुहुन्छ ।

गठबन्धनको पछिल्लो बैठकमा पनि उहाँले सोही सहमतिअनुसार अघि बढ्न तयार भएको प्रतिबद्धता जनाउनुभएको छ’, कांग्रेसका एक नेताले भने । कांग्रेस महामन्त्रीसमेत रहेका नेता गगन थापाले पनि एमसीसी अघि बढाउने कुरामा माधव नेपाल लचक देखिएको बताए । ‘७ गतेसम्म कुरिदिनुस् भन्ने कुरा नै उहाँको हो । ७ गते उहाँको पार्टीबाट एमसीसीबारे संस्थागत निर्णय नै आउछ । उहाँ एमसीसीको पक्षमै उभिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ’, महामन्त्री थापाले भने ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा पनि अध्यक्ष नेपाल अन्य दिनको तुलनामा फरक शैलीमा प्रस्तुत भएका थिए । ‘पार्टीमा छलफल गरेर सहमति जुटाउने प्रयास गर्छु । त्यसैले दुई दिन एमसीसी टेबल गर्न नहतारिऔँ’, अध्यक्ष नेपालले बालुवाटार छलफलमा भनेका थिए । अध्यक्ष नेपालको यस्तो आग्रहपछि प्रधानमन्त्री देउवा पनि कन्भिन्स हुँदै आइतबारसम्मका लागि पर्खन तयार भएका थिए ।

‘प्रधानमन्त्रीजी आजै एमसीसी टेबल गराउने पक्षमा हुनुहुन्थ्यो, मैले ८ गतेसम्मका लागि यो विषय अगाडि नबढाउन भनेर आग्रह गरेँ, उहाँले त्यो कुरा मानेर एमसीसी टेबल गर्ने विषयमा दुई दिन कुर्न तयार हुनुभयो’, देउवासहितको छलफलपछि नेपालले बालुवाटारमा प्रतिक्रिया दिँदै भनेका थिए । बालुवाटार बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि (एमसीसी) को अन्तिम निर्णय आइतवार हुने बताए ।

‘एमसीसी परियोजनालाई सार्वभौम संसदमा छलफल गराएर एउटा निष्कर्षमा पु¥याउने विषयमा नै संक्षिप्त छलफल भयो । अर्को बैठक ८ गते विहान १० बजे बसेर हामी यसलाई निर्णयमा पु¥याउँछौँ’, मन्त्री कार्कीले भने । उनले संसदको अवरोध हटाउनकै लागि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीसँग बिहीबार बेलुका कुराकानी गरेको भन्दै यसकै निमित्त प्रधानमन्त्री देउवा बालकोट गएको जानकारी गराए । ‘विपक्षी दलको नेताबाट जुन परियोजना छ यसलाई निष्कर्षमा पु¥याउने प्रधानमन्त्रीजीको प्रस्तावमा सकारात्मक विचार विमर्श भएको छ’, कार्कीले भने ।

विकल्प खोज्दै देउवा
फागुन १६ सम्म जसरी पनि एमसीसी टेबल गर्ने र पास–फेल संसदकै जिम्मामा छोड्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा एमसीसी प्रकरणमा गठबन्धनमा गडबड भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग निरन्तर सम्वादमा छन् ।

एमसीसीमा सत्तारुढ दलले साथ नदिए एमालेको सहयोग लिएर भए पनि पास गर्नुपर्ने अडानमा देउवा छन् । सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति सकारात्मक बन्न नसक्दा देउवा विकल्पमा ओलीको सहयोगका लागि हात अघि बढाएका हुन् । संसदमा एमाले र कांग्रेसका सांसद संख्या १४९ छन् ।

तर एमालेको साथ लिएर देउवा अघि बढ्न खोजे गठबन्धन टुट्ने निश्चित रहेको सत्तारुढ दलकै नेताहरुले स्वीकार गरिसकेका छन् । यस्तो अवस्थामा वर्तमान राजनीतिक समीकरणमा समेत उथल–पुथल आउने र अगामी बैशाख ३० गतेलाई तोकिएको स्थानीय निर्वाचन समेत प्रभावित हुने निश्चित छ । देउवाको यस्तो प्रयास भए पनि एमालेले अहिलेसम्म एमसीसीको पक्ष वा विपक्षमा के गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

एमालेमा एमसीसीका सम्बन्धमा दुई लाईन दृष्टिकोण रहँदै आएको छ । नेपाली जनमत समेत एमसीसीका सवालमा धु्रवीकृत भइरहेकाले एमालेलाई सहजै एमसीसीको पक्षमा उभिन निकै कठिन हुने देखिन्छ । एमसीसीको पक्षमा उभिदा अराष्ट्रवादीको ट्याग लाग्ने र निर्वाचनमा जनताले भोट नदिने भय एमालेमा कायमै छ ।

प्रतिनिधिसभाको बैठक

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७÷७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७÷७८ पेश गरेका हुन् ।

शुक्रवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको अवरोध जारी राखेको छ । बैठकमा एमाले सांसदहरुले पक्षपातपूर्ण व्यवहार मूर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन, गैर सांसदलाई बैठकमा प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर, हाम्रो बिरोध जारी छलगायतका नाराबाजी गरी सदनको अवरोध कायमै राखेका थिए । प्रतिनिधि सभाको आगामी बैठक फागुन ८ गते आइतवार दिउँसो १ बजे बस्ने भएको छ ।

एससीसीको विरोधमा प्रदर्शन

एमसिसीको विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले शुक्रवार प्रदर्शन गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको थियो । उनीहरूले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका थिए । प्रदर्शनकारीहरुले ‘नो एमसीसी’ लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए । एमसीसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरेका थिए । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको थियो ।