व्यावसायिक सुरक्षामा हाम्रो ध्यान केन्द्रित हुनेछ : अध्यक्ष योगी

युवा व्यवसायी प्रेमनाथ योगी भर्खरै सम्पन्न दाङ देउखुरी इटा व्यवसायी संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका योगी राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी प्रालिको पनि पदाधिकारीको जिम्मेवारीमा छन् ।

टिप्पर व्यवसायलगायत अन्य व्यवसायमा समेत जोडिएका योगीले अरु जिल्लामा सञ्चालित इटा उद्योगहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरी इटा व्यवसायीहरुको व्यावसायिक सुरक्षा, वातावरणमैत्री उद्योग व्यवस्थापन, गुणस्तर र उपभोक्ता मूल्यमा एकरुपतालगायतका अभियानमा छन् । उनले अध्यक्षको जिम्मेवारी सम्हालेसँगै इटा उद्योगहरुमा वर्षेनी हुने बेमौसमी वर्षातको क्षतिलाई न्यूनीकरण गर्ने तथा इटा व्यवसायलाई पनि बिमाको पोलिसीमा लैजाने अभियान सञ्चालनमा पनि अहोरात्र खट्ने बताएका छन् ।

शिव इटा उद्योग प्रालिका सञ्चालक तथा उनै अध्यक्ष प्रेमनाथ योगीसँग इटा व्यवसायको वर्तमान अवस्था, व्यावसायिक सुरक्षालगायतका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 सर्वप्रथम त बधाई छ, दाङ देउखुरी इटा व्यवसायी संघको गरिमामय अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा ।

 धन्यवाद, तपाई अनि तपाईंको लोकप्रिय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई ।

 जिल्लामा इटा उद्योगको वर्तमान अवस्थाका विषयमा बताइनिदनुस न ।

 दाङ जिल्लाको कुरा गर्नुहुन्छ भने हामी देउखुरीदेखि दाङ उपत्यकाभित्र कम्तिमा ४० वटा इटा उद्योगहरू सञ्चालनमा ल्याएका छौँ । यो व्यवसाय कहीँकतै एक्लैले सञ्चालन गरेको भए पनि अधिकांश उद्योगहरू पार्टनरसिपमा सञ्चालित छन् । चालिस उद्योगहरूमध्ये ३५ वटा इटा उद्योगहरू हाम्रो संघमा आबद्ध भएका छन् । मलाई लाग्छ एउटा उद्योग सञ्चालन गर्न कम्तिमा पनि ८ करोड रूपैयाँको लगानी गर्नुपर्छ ।

एउटा उद्योगमा कम्तिमा ५ सय जनालाई रोजगारीको व्यवस्था पनि सिर्जना भइरहेको मैले यही पत्रिकामार्फत् आम जिल्लाबासीलाई जानकारी गराउन चाहन्छु । मलाई लाग्छ जिल्लामा सबैभन्दा बढी आन्तरिक रोजगारीको अवस्था छ भने इटा उद्योगहरूमै छ । जिल्लाभरकै अनुमानति तथ्याङ्क हेर्ने हो भने करिब ४० हजार व्यक्ति इटा उद्योगमै रोजगारीमा आश्रित छन् । सुरुआतीका चरणमा केही संख्या भारतीय नागरिक भए पनि क्रमशः यो व्यवसायमा श्रमिकको रूपमा अधिकांश नेपाली र यही जिल्लाकै छन् भन्ने पनि मैले स्पष्ट पार्न चाहन्छु ।

यी उद्योगहरूले राज्यलाई पनि अर्थपूर्ण रूपमा कर तिरिरहेको अवस्थामा इटा व्यवसायीहरूबाट पनि राज्यमा केही योगदान पुगेको छ भन्नेमा हामी विश्वस्त छौँ तर राज्यले हामीलाई जुन ढङ्गबाट सपोर्ट गर्नुपर्ने हो त्यो व्यावसायिक आत्मसम्मान हामीले पाउन सकेका छैनौँ ।

 राज्यले हामीलाई हेरेन भन्नुभयो, राज्यबाट के–कस्ता अपेक्षा गर्नुभएको छ ?

 यसै वर्ष पनि तपाईंले देख्नुभयो, बेमौसमी झरीका कारण कुनै पनि इटा उद्योगले नोक्सानी नव्यहोरेको अवस्थै रहेन । हाम्रा मजदुरहरूले मिहिनेतका साथ हप्तौँ लगाएर तयार पारेका लाखौँ काँचा इटाहरू पुनः माटोमै परिणत भए । भर्खरै इटा पकाउन बालिएका सबै चिम्नीहरू निभ्न पुगे । एउटै उद्योगबाट कम्तिमा पनि १० देखि १५ लाखसम्म काचो इटा नोक्सान भए । एउटा काचो इटाकै मूल्य हिसाब गर्दा सरदर ८÷९ रूपैयाँ पर्न आउँछ ।

हामीले त्रिपालले ढाक्ने प्रयास गरे पनि त्यो सम्भव भएन । यो अवस्थामा हामीले राज्यसँग क्षतिपूर्ति माग गर्ने कुनै कानुनी आधार छैन । हामीले स्थानीय सरकारदेखि प्रदेश सरकार र संघीय सरकार समक्ष पनि हाम्रो वर्षेनी हुने यो बेमौसमी वर्षातको क्षतिका विषयमा बिमा नीति बनाउन माग गर्दै आएका छौँ तर तीनै तहका सरकारले हाम्रा समस्या सुनेका छैनन् । हामीले कच्चा पदार्थ कोइलालगायत केही शीर्षकमा कर छुटको आग्रह सरकारलाई गर्दै आएका छौँ तर यो पनि राज्यले सम्बोधन गर्न सकेको छैन ।

हाम्रा उद्योगसम्म सहज सडकको पहुँच, सहज रूपमा पानीको उपलब्धता, सहज रूपमा विद्युत सेवा पु¥याउन पनि सरकारले उदारताका साथ सहयोग गरिरहेको छैन । तैपनि हामी निरन्तर इटा व्यवसायीहरूको बिमालगायतका व्यावसायिक सुरक्षाका लागि प्रतिबद्ध छौँ र सरकारसँग पहल गर्दै जाने पनि आम इटा व्यवसायीहरूलाई यसै पत्रिकामार्फत् विश्वास दिलाउन चाहन्छु । यस अघि आदरणीय दाजु तथा निवर्तमान अध्यक्ष रोम वलीको नेतृत्वको समितिले गरेका व्यावसायिक सुरक्षाका पहलहरूलाई हामीले निरन्तरता दिने छौँ ।

 एकाएक इटाको मूल्य वृद्धि गर्नुको कारण पनि बताइदिनुस् न ?

 हामीले महिनैपिच्छे वा वर्षैपिच्छे इटाको मूल्य वृद्ध गरेका होइनौँ र गर्ने पनि छैनौँ तर बजारमा हरेक उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि हुनु स्वाभाविकै हो । मूल्य वृद्धि एउटा अर्थशास्त्रको सिद्धान्त पनि हो । हेर्नुस्, बजारमा कुन सामानको मूल्य वृद्धि भएको छैन । खाने तेलको मूल्य महिनैपिच्छे मूल्य वृद्धि भइरहकेो छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि नभएको कुनै महिना छैन ।

कच्चा पदार्थ कोइला पनि बाहिरबाटै ल्याउनुपर्छ इटा पोल्नका लागि, त्यसमा मूल्य वृद्धि मात्रै नभएर करमा समेत वृद्धि हुँदै आएको छ । हाम्रो उद्योग मेसिनरी भन्दा पनि जनश्रममा बढी आधारित रहन्छ । श्रमिकहरूको पनि समयानुकूल ज्याला बढाउनै प¥यो । यी सबै अवस्थालाई सन्तुलनमा ल्याएर लगानी गरिसकेपछि केही मुनाफा कमाउनु पनि हाम्रो उद्देश्य हुन्छ । यी सबै कारणले मूल्य वृद्धि भएको हो । इटाको मूल्यमा अस्वाभाविक वृृद्धि भने भएको होइन भन्ने पनि मैले स्पष्ट पार्न चाहन्छु ।

 बजारमा इटाको मूल्य र गुणस्तरमा पनि एकरूपता छैन, उपभोक्तालाई झुक्याएर विक्री गर्ने पनि प्रवृत्ति छ भन्ने उपभोक्ताहरूको आरोप छ नि ?

 हामी पछिल्लो समयमा मूल्यमा एकरूपता र गुणस्तरमा पनि एकरूपता ल्याउने प्रयत्नमा खटिरहेका छौँ । हामीले यसकै लागि एउटा बजार अनुगमन समिति पनि बनाएका छौँ । कसैले दुई नम्बरको इटालाई एक नम्बरको भनेर विक्री गरेको पाइएमा तत्काल त्यस्ता व्यवसायीहरूलाई हामीले कारबाही गर्ने छौँ ।

हामीले भन्दा पनि त्यस्तो गलत तरिकाले व्यापार गर्ने व्यवसायीहरूलाई उपभोक्ताहरूले नै तिरस्कार गर्ने छन् भन्ने पनि व्यवसायीहरूले बुझ्नु जरुरी छ । हामीले निर्धारण गरेको मूल्यमा पनि एकरूपता होस् भनेर हरेक उद्योगहरूमा छड्के अनुगमन पनि गरिरहेका छौँ । हामी लिलाम बढाबढको हिसाबले होइन समान गुणस्तरको समान मूल्यका हिसाबले व्यवसाय सञ्चालन गर्न चाहन्छौँ । यति हुँदाहुँदै पनि कहीँकतै समस्या छन् भने उपभोक्ताहरूले पनि संघलाई यो विषयमा जानकारी गराए मूल्य र गुणस्तरमा एकरूपता ल्याउन हामीलाई सहज हुनेछ । अनि यसै पत्रिकामार्फत् अर्को प्रसङ्ग पनि जोड्न चाहन्छु ।

सरकारले वातावरणमैत्री उद्योग सञ्चालनको अवधारणा ल्याए अनुरूप हामीले पनि चिम्नीहरूलाई आधुनिकीकरण गर्दै आएका छौँ । हाम्रा चिम्नीहरू नेपाल सरकार वातावरण मन्त्रालयले निर्धारण गरेको मापदण्डअनुसार १ सय ४० मिटर उचाईका छन्, हामीले च्यादर चिम्नी हटाइसकेका छौँ । प्रायः सबै उद्योगहरूमा फिक्स चिम्नी प्रविधि प्रयोग भइसकेको छ । यो अवस्थाले अन्य उद्योगको जस्तो वातावरणीय पोलुशन इटा उद्योगहरूमा हुँदैन । हामीले भुसे इटालाई विस्थापन गर्नुपर्ने छ ।

यसका लागि राज्यलाई पटक–पटक आग्रह गरिरहेका पनि छौँ । गुणस्तरका हिसाबले पनि भुसे इटा त्यति उपयुक्त र मजबुत हुँदैनन् भन्ने हो । अर्कोतिर भुसे इटालाई भ्याटको दायरामा पनि सरकारले ल्याउनसकेको छैन तर कहीँकतै व्यवसायीहरूले कर नतिरेका भुसे इटा उद्योगहरूसंग प्रतिस्पर्धा गर्नुपरेको गुनासो पनि गर्दै आउनुभएको छ । हामीले फेरि पनि सरकारको सम्बन्धित निकायसँग आग्रह गर्दछौँ, भुसे इटा उद्योग सञ्चालनमा फेरि एकपटक गम्भीर भएर सोच्न आवश्यक छ ।

 इटा उद्योगको खपतका विषयमा केही जानकारी दिनुस् न ?

 हाम्रो दाङ जिल्लामा सञ्चालित करिब ४० उद्योगहरूबाट प्रतिउद्योग ३० देखि ४० लाखसम्म इटा उत्पादन हुँदै आएका छन् । यही उत्पादित इटाहरूले यहाँको बजारको मागलाई सम्बोधन गरेको छ । यहाँ मात्र नभएर दाङमा उत्पादित इटा सल्यान, रुकुम, सुर्खेत र जागरकोटसम्म पनि पुग्ने गरेको छ । यहाँ अन्य जिल्लाबाट इटा ल्याउनुपर्ने अवस्था छैन ।

जिल्लामा सहरीकरणको वृद्धिसँगै क्रमशः यही नै उद्योग थपिने क्रम भने जारी छ । केही व्यक्ति अर्थात् संस्थाहरूले बाहिरबाट चाइनिज इटा ल्याउने गरेको पाइएको छ । यद्यपि यस्ता इटाहरू फ्रन्टमा शोका लागि मात्रै हो । खासमा ओभरअल निर्माणमा चाइनिज इटा उपयोग हुँदैन । किनकि यसको पकडशक्ति अन्य इटाको भन्दा निकै कमजोर छ ।

अर्को कुरा इटा उद्योगलाई फरक प्रविधिमा लैजानका लागि केही प्रयोग पनि जिल्लामा भएको हो । भेसिवि प्रविधि पनि ल्याउन खोजेका हौँ, त्यो प्रविधि सक्सेस भएन, इटा जति मात्रामा पाक्नुपर्ने हो, त्यो हुन नसकेपछि यो प्रविधि पनि यहाँ स्थापित हुन सकेको छैन ।

 अन्त्यमा केही भन्नु छ कि ?

 हामी आफ्नो व्यवसायलाई मर्यादित बनाउन चाहन्छौँ । गुणस्तरमा कुनै सम्झौता हुने छैन । हाम्रा उद्योगहरूमा श्रमिकहरूको पनि उचित ज्याला निर्धारण हुनेछ । हाम्रा कुनै पनि उद्योगमा बालश्रम भएको हुने छैन । यसमा सवै व्यवसायीहरूको ध्यानाकर्षण पनि गराउन चाहन्छु । अनि इटा उद्योगको अवस्था र समस्याका विषयमा धेरै जिज्ञासा पोख्ने अवसर दिनुभएकोमा गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सबैको सहयोगको अपेक्षा पनि गर्दछु ।