नानी रोग विशेषज्ञका रूपमा सेवा गर्न पाउँदा …

‘मेरो सानैदेखिको सपना समाजप्रति केही न केही योगदान गरूँ भन्ने नै थियो । मेरो आमाको सपना छोरीलाई डाक्टर भएर सेवा गरोस् भन्ने नै थियो’, भैरवा–७ पथमा जन्मिएर कर्मथलो हाल दाङलाई बनाएकी नेत्रविशेषज्ञ डा. ज्योति सापकोटाले भनिन्, ‘आमाले सानैदेखि मलाई सधैँ एउटा कुरा भन्नुहुन्थ्यो आफ्नो लागि नभइ अरुको लागि जिउनु पर्छ, मानिसको जीवनमा कसैको लागि केही न केही गर्नुपर्छ, छोरी अरुलाई सेवा गर्ने हुनुपर्छ ।’

त्यस्तै मेरो बुबा पनि समाजसेवीका लागि निरन्तर लागेको मैले देखेकी थिएँ । उहाँबाट पनि धेरै कुरा र प्रेरणा मिलेको थियो । अन्ततः म साङघाइमा एमबिबिए पढ्नका लागि गएँ र त्यहीँबाट मैले नेत्र विशेषज्ञसम्बन्धी विशेषज्ञता हासिल पनि गरेँ । त्यस्तै विशिष्टकृत सेवा कर्निया (आँखाको नानी) सम्बन्धी तिलगंगा आँखा अस्पतालमा पढेको र पढेर आएपछि पहिलो पटक राप्ती आँखा अस्पतालमा नानी प्रत्यारोपण गर्दा जीवनमा पहिलो सफलता र खुसी भेट्टाएको छु । यो नै मेरो जीवनको पहिलो खुसी हो । त्यस्तै पहिलो पटक आँखाको नानीसम्बन्धी रोगहरूको शल्यक्रिया तथा उपचारात्म सेवा दिन पाउँदा खुसी लागेको छ ।

‘जीवनमा अन्य पनि धेरै खुसी र दुःखका पलहरू छन् तर मेरो जीवनमा पहिलो खुसी राप्ती आँखा अस्पतालमा सफल आँखाको नानी प्रत्यारोपण गर्ने अवसर मिलेकोमा हो’, डा. सापकोटाले भनिन्, ‘यही मेरो खुसी लेखिदिनुहोला ।’ सानैदेखि पढ्नमा अब्बल ज्योतिले धेरैको आँखाका ज्योति फर्काएर उज्यालो प्रदान गरेकी छन् तर दाङमै पहिलो पटक विशिष्टकृत सेवाअन्तर्गत राप्ती आँखा अस्पतालमा आँखामा नानी प्रत्यारोपण गर्नु उनका लागि खुसीको कुरा थियो । त्यस्तै उनले अर्को खुसी साङघाईको फुदान विश्वविद्यालयबाट एमबिबिएस तथा नेत्ररोग विशेषज्ञसम्वन्धी विशेषज्ञता हासिल गर्नका लागि छात्रवृत्तिमा पढेको बताइन् । उनलाई चाइनामै प्रोफ्रेसरले काम गर्न बस्न आग्रह गरेकी थिइन् ।

‘मैले चाइनामै अवसर पाएको थिएँ तर म नेपालमा गएर जनताको सेवा गर्नुपर्छ भनेर नेपालमा आएकी हुँ, म यसैमा खुसी छु’, उनी भन्छिन् । नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाको सेवामा रमाउन पाउँदा खुसी भएको उनले बताइन । पहिले आँखाको नानीसम्बन्धी जटिल सेवा लिन बिरामी काठमाडौं तथा अन्य क्षेत्रमा जाने गरेका थिए, अहिले आफ्नै जिल्लामा सेवा दिन पाउँदा धेरै खुसी भएको सुनाइन् । ‘सेवा लिन धेरै व्यक्तिहरू अन्य ठाउँमा जाँदा कति खर्च हुन्थ्यो होला, अब यही जिल्लामा थोरै खर्चमा गुणस्तरीय सेवा पाउँनुभएको छ यसमा पनि म खुसी छु’ उनले भनिन् ।

विस २०४३ सालमा बुबा नारायणप्रसाद सापकोटा र आमा सानु सापकोटाकी जेठी छोरी ज्योतिले साङघाईको फुदान विश्वविद्यालयबाट एमबिबिएस सकेर एक वर्ष वीर अस्पताल, कान्ती, नेपाल आँखा अस्पताल र प्रसुतीगृह काठमाडौंमा इन्टनसिप गरेको र त्यहाँ धेरै कुरा सिक्न पाउँदा पनि खुसी लागेको सुनाइन् । त्यस्तै डा ज्योतिले अर्को खुसी लमहीमा एक जना बिरामीको आँखाको नानीमा संक्रमण भएको रहेछ, उहाँको न्यून दृष्टि थियो अनि उहाँको निरन्तर उपचार गरेपछि दृष्टि बढ्यो त्यसमा पनि खुसी लागेको बताइन् ।

‘नाम मलाई अलि याद भएन, एक जना दुबईमा काम गर्ने व्यक्तिको आँखाको नानीमा समस्या रहेछ, उहाँले अन्य स्थानमा पनि देखाउनुभएको रहेछ, उहाँको आँखाको नानीको क्यान्सर भएको पुष्टि भएपछि बिरामीलाई सचेतना दिई उहाँको आँखा बचाउन पाउँदा खुसी लागेको थियो’, उनले भनिन् ।
उनले आँखाको उपचार तथा सल्यक्रिया मात्र होइन आँखामा लागेका विभिन्न रोगहरूको अनुसन्धान गरेर उनीहरूलाई समयमै उपचार गरी आँखाको दृष्टि बचाउन पाउँदा खुसी लाग्ने गरेको बताइन् ।

डा.ज्योतिले कपिलवस्तु, दाङलगायत छिमेकी राष्ट्रका हजारौँ आँखाका बिरामीहरूलाई सल्यक्रिया तथा अन्य सेवाहरू दिएर उज्यालो प्रदान गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाइन् । ‘म दुर्गम क्षेत्रमा आयोजना गरिएका आँखा शिविरमा गएर उपचार तथा शल्यक्रिया गरेको छु, पहिलो दिन सहयोगी र आफन्तले डो¥याउँदै ल्याएका बिरामीहरू अर्को दिन आफै आँखा देख्ने भएर जानुहुन्छ, त्यो देख्दा खुसीले मन प्रफुल्ल हुन्छ’, डा. सापकोटाले भनिन् ।

डा. ज्योतिले पुरानो संस्कार संस्कृतिले गर्दा आँखामा समस्या भएपछि घरमै गाईको दूध राख्ने, घरेलु औषधी प्रयोग गर्ने र दृष्टिप्रति सचेतना नहुँदा आँखा देख्न छोडेपछि मात्र अस्पताल आउने गर्दा दुःख लाग्ने गरेको सुनाइन् । ‘धेरै व्यक्तिलाई हामीले सफल उपचारपछि खुसी गराएर पठाउँदा म पनि खुसी हुन्छु तर केही त्यस्ता व्यक्ति हुनुहुन्छ जो अन्तिम अवस्थामा हामीकहाँ आउनुहुन्छ, त्यतिबेला दुःख लाग्छ, उहाँहरूको आँखा नै बिग्रिसकेको हुन्छ’, उनले भनिन् ।

त्यस्तै बुद्धज्योति मावि भैरहवाबाट एसएलसी तथा प्लस–टु प्रथम श्रेणीमा पास गर्दा खुसी भएको भन्दै उनले आफूलाई सधैँ सकारात्मक ज्ञान तथा सतमार्गमा हिड्न सिकाउने शिक्षक भीमार्जुन र प्रिन्सिपल अरुणप्रताप राना सरलाई पनि सम्झिइन् । त्यस्तै डा. ज्योतिले आफूलाई विशिष्टिकृत सेवाका लागि फेलोसिपमा सहयोग गर्ने नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रमका अग्रज व्यक्तिहरूलाई सम्झँदै उहाँहरूको साथ र सहयोगले आफू यो ठाउँमा आएको भन्दै खुुुसी व्यक्त गरिन् ।

‘मैले सबैको साथ र सहयोग पाएको छु, म यसमा पनि खुसी छु, संस्था तथा घरपरिवारको’, उनले भनिन् । डा. ज्योतिले पारिवारिक सहयोग पाएकोमा पनि खुसी व्यक्त गरिन् । उनले आफूलाई श्रीमान् हाल राप्ती आँखा अस्पतालका कार्यरत रेटिना विशेषज्ञ डा. सन्तोष सुवदीले विभिन्न विशेषज्ञता हासिल गर्नमा भरपुर सहयोग गरेको भन्दै खुसी व्यक्त गरिन् । त्यस्तै ससुरा श्याम सुवेदी, सासु हुमा सुवेदीको पनि आफ्नो सफलतामा धेरै हात रहेको भन्दै खुसी व्यक्त गरिन् ।

‘म भैरहवाको छोरी दाङ आएर सेवा गर्न पाएको छु, मेरो सासुससुराले मलाई बुहारी नभइ छोरी ठानेर साथ र सपोर्ट गरेकोमा निकै खुसी र आभारी पनि छु’, डा. सापकोटाले भनिन्, ‘मेरो जीवनमा धेरै उतार–चढाबहरू आए त्यसमा सबैले साथ–सहयोग गर्नुभयो म त्यसमा पनि निकै खुसी छ ।’ त्यस्तै डा. ज्योतिले आफू नानीसम्बन्धी यहीँबाट सबै सेवा दिन पाएकोमा खुसी भएको भन्दै अब राप्ती आँखा अस्पतालमै आँखाको नानी दान गर्ने व्यवस्था भयो भन्ने आप्mनो खुसीमा थप खुसी थपिने बताइन् ।

‘म विशिष्टिकृत सेवा घरदैलोमै दिन पाएकोमा खुसी त छु नै यसमा पनि आँखा दान महादान भने जस्तै यहीँ आँखा बैंक स्थापना गरी नानी दान गर्ने व्यवस्था भए म निकै खुसी हुने थिएँ । मेरो सपना पनि पुरा हुने थियो र सबै जनतालाई पनि सहज हुने थियो’ उनले भनिन् ।

प्रस्तुती : बालाराम खड्का