नारायणप्रसाद श्रेष्ठ
जीवनलाई सरल र सहज अवतरण गराउने उत्तम विकल्प सकारात्मक चिन्तन हो । सकारात्मक चिन्तन र सोचबाट नै गाउँ, समाज, राष्ट्र समुन्नत अवस्थामा पुग्दछ । जहाँ स्वच्छ र पवित्र विचारको गंगा बहन्छ त्यहाँ चिन्ता, भय, झुठ, इष्र्या केही रहँदैन । आपसी सद्भाव र मित्रता रहन्छ । आपसी सहयोग र सद्भाव वृद्धि हुनु भनेको जीवनको गतिशीलतामा सरलता प्राप्त हुनु हो ।
त्यसैले मानव उत्पत्ति, विकास र विनाशको सत्यलाई मनन् गरी जीवन आफू र आफ्नो परिवेश बनाउन उत्पत्ति भएको होइन । यसको पनि केही जिम्मेवारी र चुनौती छ भन्दै सामाजिक संस्कारबाट निर्माण हुने सोच र चिन्तनमा सेवाभाव जागृत हुने वातावरण बनाउनु पर्छ । आज हामी जुन परिस्थितिबाट गुज्रिरहेका छौँ, त्यो हाम्रो सामाजिक संस्कार र परम्पराको उपज हो । समाज जुन चरित्र र विचारले परिपोषित भइ अघि बढेको हुन्छ त्यही संस्कार र चरित्र मानव जीवनले अंगीकार गरेको पाइन्छ ।
सृष्टिचक्रको इतिहासलाई जीवन्त राख्दै प्रकृतिको नियमानुसार अघि बढेको समाजले नै मानव अस्तित्वलाई मार्गनिर्देशन गरेको पाइन्छ । सामाजिक परम्परा र संस्कारले ल्याएको चिन्तन र सोचबाट नै सामाजिक रीतिरिवाज, चरित्र र संस्कार अघि बढेको हुन्छ । जुन संस्कार र संस्कृतिले मानव जीवन परिपोषित हुन्छ त्यही अनुकूल आचरण र व्यवहार पनि हुन्छ । चिन्तनमा सकारात्मक सोच र विचार प्रवाहमा सेवाभाव मानव जीवनलाई उत्तम गति निर्धारण गर्ने विकल्प मानिन्छ ।
हाम्रो अस्तित्व, हाम्रो सामाजिक रीतिरिवाज र संस्कारले बाँधिएको छ । विश्वास, इमानदारी, सहयोगात्मक भावना, सांस्कृतिक मान्यताभित्र प्रचलनमा आएका चाडपर्व, सामाजिक बनोट र संस्कारलाई परिमार्जित गर्ने आधार हुन् । प्रकृतिको उपहार स्वरुप प्राप्त भएको सामाजिक बनोट नै मानव उत्पत्ति विकास र विनाश बनेको हुन्छ । त्यसैले समाजमा विद्यमान र रीति, संस्कृति र संस्कार नै मानव जीवनलाई गतिशील बनाउने आधार भएकोले सामाजिक संस्कारभित्र सकारात्मक भाव जागृत हुने कर्म र व्यवहार गर्नु गराउनु पर्दछ ।
मनमा उब्जने जति पनि भावहरु छन्, ती सबै कहीँ न कतैबाट चिन्तनले बाँधिएका हुन्छन् । जो समाजका लागि पाच्य र अपाच्य दुवै हुनसक्छ । त्यसैले आदर्श गतिमा गतिशील गराउने सामाजिक संस्कारलाई सकारात्मक चिन्तन उन्मुख गराउनु वर्तमानको आवश्यकता मानिन्छ ।
वर्तमान समयसम्म हामी जुन परिस्थिति र वातावरणमा गतिशील भएका छौँ, यो हाम्रो सामाजिक संस्कृति र संस्कारको उपज हो । समाजले जुन चरित्र हामीलाई सिकायो त्यही आचरण हाम्रो जीवनको कर्म पनि बनेको हुन्छ । हिजो हाम्रा पुर्खाले भावी पिढीको अस्तित्व कायम गर्न जुन चरित्र निर्माण गर्दै अघि बढेका थिए, युगौँ युगसम्म सकारात्मक चिन्तन प्रवाह गर्न उत्प्रेरित गरेका थिए ।
त्यसैको प्रतिफल आज हामी एकअर्काप्रति विश्वास र सकारात्मक भाव जागृत गर्न सफल भएका हौँ । मानवीय सोच र चिन्तन सकारात्मक प्रवृत्ति उन्मुख भएको हो । सेवा नै परमो धर्म भनेर मानव सेवा माधव सेवा भएर प्रस्तुत भएको छ । यी सबै हाम्रै सामाजिक परिवेशले उद्घाटन गरेका हुन् । त्यसैले समाजभित्र व्याप्त गलत सोच, चिन्तन र व्यवहारलाई सच्याउँदै स्वच्छ र पवित्र विचार प्रवाह हुने खालका विचारहरु स्थापित गर्ने वातावरण बनाउनु पर्छ ।
प्रकृतिमा हुर्केका प्रत्येक जिवात्माझैँ मानव जीवन पनि स्वतन्त्र र खुला वातावरणमा हुर्कन चाहने अस्तित्व भएकाले मानव जीवनमा पर्ने प्रभावबारे सचेत रहने वातावरण पनि उ स्वयम्ले निर्माण गर्नुपर्ने हुन्छ । मानव सोच र चिन्तनबाट निर्मित सामाजिक बनोटमा सकारात्मक चिन्तन जागृत हुने वातावरण बनाउनु मानवीय कर्तव्य पनि हो । जाँड रक्सी पिउनु राम्रो होइन तर कतिपय अवस्थामा मादक पदार्थ औषधीको रुपमा प्रयोग गर्नु हाम्रो बाध्यता पनि हो । यसरी सेवन गर्दा मानिस स्वयम्लाई क्षति हुने गरी जुन सोच र सेवन गर्ने तरिका हामीले अंगीकार गरेका छौँ, वास्तवमा त्यो गलत हो ।
वर्तमान समयमा जे–जस्ता विकृति र विसंगति समाजमा व्याप्त छन्, ती सबै मानव सोच र चिन्तनभित्र गलत धारणा भएकोले हो । मै खाउँ, मै लाउँ, मै मोज, मजा गरुँ भन्ने चिन्तन बढ्नुले भएका हुन् । मनोरञ्जनको साधनको रुपमा रक्सीको प्रयोग गर्ने जुन प्रचलन अहिले आएर सभ्यताको चिनारी बनेको छ । सभ्य नागरिकको परिचय बनेको छ । यस्तो सीमित सोच र घेराभित्र स्वार्थकेन्द्रित विचार सल्बलाउनु निश्चय पनि राम्रो विषय होइन ।
यही मादक पदार्थको दुरुपयोगले नारी अस्मितादेखि श्रीसम्पत्तिमा विविध समस्या खडा गर्दै जीवनको उद्देश्यमा ह्रास हुँदै गएको छ । मानवले मानवीय अस्तित्वको पहिचान नगर्ने वातावरण सिर्जना भएको छ । तसर्थ, यस्ता गलत चिन्तनहरु हटाइ सकारात्मक तथा स्वच्छ चिन्तनको विकास गर्नु जरुरी छ । सामाजिक संस्कार मानव अस्तित्वलाई सहज वातावरणमा गतिशील गराउँदै हुर्काउने, बढाउने सकारात्मक चिन्तनको सम्वाहक हो । यही सामाजिक संस्कारबाट मानिसको मन, बुद्धि र विवेक सकरात्मक प्रवृत्ति उन्मुख भएको हुन्छ । केवल हामीले यसको अध्ययन गर्न सकिरहेका छैनौँ ।
त्यसैले जेजस्ता राम्रा, नराम्रा कार्य भए गरेका छन्, ती सबै मानवीय स्वार्थले बढाएको चिन्तन हो भन्ने बुझेर सामाजिक रीति, थिति र संस्कृतिमा देखिएका विकृति हटाउँदै स्वच्छ र सकारात्मक भाव जागृृत हुने वातावरण सिर्जना गर्नुपर्छ । विज्ञानको चमत्कारले संसार साँघुरो घेराभित्र रहेको एक ठाउँबाट अर्को ठाउँमा विनाश गर्न सक्ने जुन आविस्कार अहिले भएको छ, यदि यसलाई सकारात्मक सोचतर्फ केन्द्रीकृत नगर्ने हो भने यसको परिणाम निकै नराम्रो पनि बन्नसक्छ । स्वार्थकेन्द्रित सोच सल्बलाइरहेको वर्तमानलाई हेर्ने हो भने विज्ञानको चमत्कार विनाशको कारण नबन्ला भन्न सकिन्न ।
तसर्थ, यस्तो विषम परिस्थितिमा गुज्रिएको मानव सोचलाई सकारात्मक भावतिर आकर्षित गर्दै जीवनलाई सहज गति प्रदान गर्नु पर्दछ । यसको लागि सामाजिक परिवेशलाई नै शुद्धतातर्फ आकर्षित गर्दै प्रत्येक व्यक्ति, विचार र कर्ममा सकारात्मक प्रवृत्ति उन्मुख कार्ययोजना बनाउनु पर्छ । सकारात्मक चिन्तन सामाजिक संस्कारको उपज हो भन्ने सोच वृद्धि गरी समाजमा देखापर्ने गलत मानसिकता र चिन्तनको पर्दाफास गर्दै के राम्रो, के नराम्रो ? त्यसको गहिरिएर विश्लेषण गरेर प्रत्येक व्यक्ति, समाज जिम्मेवार भएर प्रस्तुत हुनुपरेको छ ।
हिजो जुन किसिमबाट समाज गतिशील भएको थियो, जेजस्ता संस्कार र विचारहरुबाट समाज परिस्कृत भएको छ, त्यस कुराको विश्लेषण गरी वर्तमानमा देखिएको सामाजिक विकृतिलाई हटाउँदै मन, वचन र कर्मले सकारात्मक प्रवृत्ति उन्मुख आचरण गर्नु गराउनु परेको छ । सकारात्मक विचार प्रवाह गर्दै हाम्रो अस्तित्व हामीले नै परिस्कृत गर्दै लैजाने भन्ने भावनाको विजारोपण गर्नु वर्तमानको आवश्यकता पनि हो ।
म र मेरो कारणले कोही कसैको विचार र कर्ममा गलत मानसिकता नबढोस्, हामी सबै एकअर्काप्रति जिम्मेवार भएर प्रस्तुत हुन सकौँ, यही सोच वृद्धि गरी एकअर्कालाई सहयोगी बनाउनु परेको छ । नारी र पुरुष रथका दुई पांग्रा हुन् भन्ने सोच विकास गरी सामाजिक आदर्श स्थापना गर्न नयाँ वातावरण सिर्जना गरौँ । हामी शुद्ध भए हाम्रा विचार शुद्ध हुन्छ, हाम्रो विचार र भावना शुद्ध भए हामै्र समाज आदर्श बन्छ, यो धारणा विकास गरौँ । वर्तमानले यही खोजिरहेको छ ।