‘शहीदको राज्यले सम्मान गर्न सकेन’

लखन थापा कप फुटबल सुरु

दाङ, ३ फागुन । घोराहीमा लखन थापा स्मृति कप खुला फुटबल प्रतियोगिता–२०७८ सुरु भएको छ । प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४५औँ स्मृति दिवसको अवसरमा सोमवारदेखि घोराही–१८ नवलपुर खेल मैदानमा लखन थापा स्मृति कप खुला फुटबल प्रतियोगिता सुरु भएको हो ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ टिमहरूको सहभागिता रहेको छ । प्रथम शहीद लखक थापा स्मृति कप फुटबल प्रतियोगिताको विजेता टिमले नगद एक लाख रूपैयाँ र दोस्रो हुने टिमले नगद ५० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई सान्त्वना पुरस्कार स्वरूप नगद साढे १२ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

फागुनको १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष रोकाले देशको परिवर्तनक लागि आफ्नो बलिदान गर्ने प्रथम शहीद लखन थापाको योगदानको राज्यले कदर गर्न नसकेको गुनासो गरेका थिए ।

‘लखन थापालाई प्रथम शहीद घोषणासँगै राज्यले सम्मानमा विभिन्न कार्यक्रम गर्नुपथ्र्याे’, उनले भने, ‘तर राज्यले कुनै पनि कार्यक्रमहरू गर्दैन, मगर समुदायले मात्र कार्यक्रम गरेर लखन थापालाई सम्झने गरेका छौँ ।’ उनले शहीदको सम्मानमा पनि राज्यको विभेद भएको बताएका थिए । शहीदको सम्मानका लागि नेपाल मगर संघले कार्यक्रम गरेको भन्दै यसले खेलकुद क्षेत्रको विकाससँगै खेलाडीको स्वास्थ्यमा समेत सहयोग पु¥याउने बताएका थिए ।

राणा शासनका विरूद्ध विद्रोह गरेका थापालाई विसं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रूखमा झुण्ड्याएर तात्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । थापालाइ विसं २००० साल जेठ २३ गते प्रथम शहीद घोषणा गरिएको थियो । उनको जन्म विसं १८९१ मा गोरखा जिल्लाको साविक बुंकोट–४ को काउले भञ्ज्याङमा भएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिताले सहयोग पु¥याउने बताएका थिए । यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले शहीदको सम्मानसँगै खेल क्षेत्रको विकासका लागि राज्यले कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताएका थिए । उनीहरूले देशको परिवर्तनका लागि हरेक आन्दोलनमा योगदान गर्ने मगर समुदायको योगदानसँगै कला, संस्कृति, भाषालगायतको क्षेत्रको विकास र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताएका थिए ।

नेपाल मगर संघ घोराही नगर समितिका अध्यक्ष देवबहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य भानसिंह बुढा मगर, नेकपा माओवादी केन्द्रकी दिलकुमारी बुढा मगर, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका मगर, नेपाल मगर संघका लुम्बिनी प्रदेशका मुख्य उपाध्यक्ष सितलाल पुन मगर, जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, नेपाल मगर संघका निवर्तमान केन्द्रीय सदस्य खड्गबहादुर बुढा मगर, नेपाल मगर संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुन, घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल, प्रतियोगिताको सहप्रायोजकका तर्फबाट कमला पुन देउजा, मंगोल नेशनल अर्गनाइजेशनका सहसचिव जितेन पुन मगरलगायतले बोलेका थिए ।

बरिष्ठ उपाध्यक्ष मित्रलाल बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भीमप्रकाश झाँक्री मगरले गरेका थिए ।

उद्घाटन खेलमा मेघा विजयी

यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा मेघा स्पोर्ट्स क्लव विजयी भएको छ । मेघा स्पोर्टस् क्लवले उद्घाटन खेलमा युएनबिसीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै विजयी भएको हो । नकआउट खेल आधारमा खेलाइएको खेलमा मंगलवार फागुन ३ गते पहिलो खेल १२ बजे टरिगाउँ युवा क्लव र फुर्सेखाली युवा क्लव रातो र दोस्रो खेल राप्ती गाउँपालिका र एसएसएफएकाबीच हुने आयोजक नेपाल मगर संघ घोराही नगर समितिले जनाएको छ ।