विरूवा रोपेर प्रेम दिवस

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ फागुन । प्रेम दिवसको अवसर पारेर यतिबेला प्रेमप्रेमिकाहरू एकअर्कालाई भेट्न र माया पोख्न आतुर छन् । खास गरेर टिनएजर्सहरूमा यसको रौनक विशेष देख्न सकिन्छ । केही समययता युवायुवतीहरूले प्रेम दिवसलाई पर्वकै रूपमा मनाउन थालेका छन् ।

विभिन्न कलेजमा अध्ययरत युवायुवतीहरू हातमा गुलाव बोकेर हिडिरहेको देख्न सकिन्छ । तर, तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरूले भने अलिक फरक ढङ्गले प्रेम दिवस मनाएका छन् । उनीहरू हातमा गुलाब र उपहार होइन कुटो र कोदालो बोकेर विरूवालाई मलजल गर्नुका साथै नयाँ विरूवा समेत रोपेका छन् । कलेजको वन विज्ञान र कृषि विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूले माटो र प्रकृतिप्रतिको प्रेमलाई दर्शाउनका लागि प्रेम दिवसको दिन छनोट गरेका थिए ।

मानिसलाई बाँच्नका लागि प्रकृतिको महत्व निकै हुने भन्दै उनीहरूले प्रकृतिलाई माया गरेको सन्देश प्रवाह गर्न नयाँ ढङ्गले दिवस मनाइएको बताए । विद्यार्थी सन्दीप मल्लले आफूले पढ्ने विषयसँग सम्बन्धित भएर दिवसलाई सामाजिक जागरण फैलाउनका लागि केन्द्रित गरिएको बताए ।

हरेक दिवसलाई सन्देशमूलक ढङ्गले मनाउन सकिए युवाहरूमा नयाँ सोचको विकास हुने समेत उनले बताए । विद्यार्थीहरूको सिर्जनात्मक सोचलाई मूर्त रूप दिनका लागि कलेजले सहयोग गरेको कलेज प्रमुख बसन्त आचार्यले बताए । प्रेम दिवसप्रतिको धारणामा परिवर्तन ल्याउनका लागि विद्यार्थीहरूले नयाँ ढङ्गले कार्यक्रम आयोजना गरेको समेत उनले बताए ।