दबाब दिन टरिगाउँ एयरपोर्ट खुत्रुके खाता

खेमराज रिजाल
तुलसीपुर, ३ फागुन । सञ्चालनमा आएको ६७ वर्षसम्म पनि समयानुकूल स्तर वृद्धि नहुँदा तुलसीपुरको टरिगाउँ स्थित एयरपोर्टको स्तर वृद्धिका लागि सरकारलाई दबाब दिन एयरपार्ट खुत्रुके खाता सञ्चालनमा ल्याइएको छ । एयरपोर्टको धावनमार्ग विस्तार गरी ठूला जहाज अवतरण हुने गरी स्तर वृद्धि गर्नका लागि नागरिक दबाब सिर्जना गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघले सोमवारदेखि विधिवत रूपमा एयरपार्ट खुत्रुके खाता सन्चालनमा ल्याएको हो । नागरीक दवावको यो अभियानमा सहयोग गर्न देशविदेशमा रहेका सवै नेपाली नागरीकहरूलाई तुलसीपुर उद्योग वाणिज्य संघले हार्दिक आह्वान समेत गरेको छ ।

प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायत तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी र अन्य जनप्रतिनिधिहरूबीच सो खाता सञ्चालनमा ल्याएको छ । राष्ट्रिय वाणिज्य बंैक तुलसीपुर शाखामा ४१६०१०००००००७०६० नम्बरको सो खातामा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यक्तिगत रूपमा ५१ हजार रूपैयाँ जम्मा गरेर सो खाता आम नागरिकका लागि सहयोग खुल्ला गरिएको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । सो रकम बराबरको चेक अध्यक्ष चालिसेले एक कार्यक्रमबीच संघका कोषाध्यक्ष देवबहादुर केसीलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य, नगर प्रमुख वडाध्यक्षलगायतका सहभागीहरूले कवोलबिनै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अहिले गरेनौँ भने कहिल्यै हुँदैन भनेर सरकारलाई थप बजेट विनियोजनका लागि दबाब सिर्जना गर्न यो अभियान सुरु गरेका हौँ, यसलाई खिसिट्युरी नगरी साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउन हाम्रो नेतृत्वदायी भूमिका हुनेछ’, एरपोर्ट स्तरोन्नतिका लागि खाता शुभारम्भ कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले भने ।

राष्ट्रियसभा सदस्य कोमल वलीले पनि सो खुत्रुकेमा ५ सय रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइन् । दाङका अन्य क्षेत्रमा नयाँ एयरपोर्ट निर्माणमा आफूहरूको विरोध नरहने भन्दै चल्दै आएको एयरपोर्टको स्तरोन्नतिमा आफ्नो सहयोग निरन्तर रहने उनको अभिव्यक्ति थियो । पछिल्लो चरणमा एयरपोर्ट स्तरोन्नतिको सन्दर्भमा तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा भएको यो तेस्रो छलफल हो । संघका अध्यक्ष चालिसेकै अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्दै यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा प्रमुख अतिथि हिराचन्द्र केसीले यो विमान स्थलको स्तर वृद्धि हुन नसक्नुमा यहीँकै प्रभावशाली नेताकै मुख्य भूमिका रहेको उल्लेख गर्दै अबको बजेटमा एयरपोर्टको स्तर वृद्धिका लागि आफूले अर्थपूर्ण पहल गरिरहेको बताए ।

उनले अघिल्लो दुईतिहाइको सरकारको पालामा यो विमानस्थलको स्तर वृद्धिका लागि छुट्याइएको बजेट समेत काट्ने दुःस्साहश भएको पनि उनले खुलासा गरे । तात्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र यहीँकै प्रभावशाली नेताको जोडबलमा एयरपोर्टको बजेट कटौती भएको पनि उनको दाबी थियो । यो विषयमा कुरा उठाउँदा आफू र मेयर घनश्याम पाण्डेले समेत हप्काइ खानुपरेको उनको अभिव्यक्ति थियो । ‘मलाई जम्मा दुईवटा योजना मागिएको थियो, पहिलो योजनामा मैले एयरपोर्टको स्तर वृद्धि र दोस्रोमा सडकको स्तर वृद्धि मागेको छु’, प्रमुख अतिथि केसीले भने, ‘गठबन्धन निरन्तर रह्यो भने आउने आर्थिक वर्षकै बजेटमा यो विमान स्थलको सम्बोधन हुनेछ ।’

कार्यक्रममा विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अब तुलसीपुरको हवाई सपना नरोकिने बताउँदै आवश्यक परे निजी सरकारी अवधारणामा पनि एयरपोर्ट सञ्चालनका लागि आफू तयार रहेको बताए । तुलसीपुर उद्योग वाणिज्य संघले नागरिक दबाबका लागि थालेको यो अभियानमा पनि आफ्नो सधैँ सकारात्मक सोचसँगै साथ र सहयोग रहने पनि विशिष्ट अतिथि पाण्डेले बताए ।

अब यहाँको विमान स्थलमा इन्धन डिपो पनि चाँडै सञ्चालनको क्रममा रहेको भन्दै अन्य निजी कम्पनीका जहाजको सेवा पनि चाँडै सञ्चालन गर्न सबैको साथ र सहयोगको उनले अपेक्षा गरे । यो विमान स्थलको स्तर वृद्धिमा आफू मौन नरहेको बताउँदै उनले यो एयरपोर्टको स्तर वृद्धिलाई नारायणपुरमा विमान स्थल निर्माणको प्रक्रियासँग नजोड्न पनि आग्रह गरे । तुलसीपुरको दाङ विमान स्थललाई पाइलट एकेडमीका रूपमा विकास गर्नका लागि पनि सकारात्मक भएर प्रक्रिया अघि बढाउन आफू लागिरहेको उनको भनाइ थियो । त्यस अवसरमा उनले तुलसीपुरमै निजी स्तरबाट विमान कम्पनी सञ्चालनका लागि पनि उदार हुन सबैलाई आग्रह गरेका थिए ।

यस अघि तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर विमान स्थलको स्थलगत नापजाँच गरी तुलसीपुर उपमहानगरपालिकामार्फत इन्जिनियरले तयार पारेको प्रारम्भिक प्राविधिक प्रतिवेदन पर्यटन मन्त्रालयमा पठाइसकेको छ । त्यससँगै ईलाका वन कार्यालयका रेञ्जर सहितको अर्को टोलीले धावनमार्ग विस्तार गर्दा त्यहाँका तरुण सामुदायिक वनमा रहेको झाडी सफाईको प्रारम्भिक प्रक्रिया समेत सुरु गरिसकेको छ । अधिकांश बुट्यान र कूकाठ रहेको सामुदायिक वन क्षेत्रको झाडी सफाई गर्दै स्थानीय स्तरबाटै एयरपोर्ट विस्तार क्षेत्रमा रहेको चिरो पुर्नेमा पनि सामुदायिक वनले प्रतिबद्धता जनाइसकेको छ । साथै आफ्नो वन क्षेत्र विमान स्थलको स्तर वृद्धिका लागि दिने निर्णय भइसकेको सो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेषमणि भण्डारीले बताएका छन् ।

कार्यक्रममा नागरिक अगुवा तथा तुलसीपुरका स्थानीयबासी मदन धितालले तुलसीपुर एयरपोर्टको पछिल्लो स्तरोन्नतिका क्रममा धावनमार्ग निर्माण गर्दा प्राविधिक अपराध भएको बताए । एयरपोर्टलाई यो भन्दा बढी विस्तार गर्न नदिन दाङकै होनहार नेतृत्वबाट पहल भइरहनुलाई उनले राजनीतिक अपराध पनि भनेका थिए । तुलसीपुरमा अञ्चल अस्पताल निर्माणमा होस् वा अमिलिया तुलसीपुर सडक सञ्चालनका लागि तुलसीपुरबासीले चक्काजाम समेत गर्नुपरेको स्मरण गर्दै उनले नागरिक दबाबबाट मात्रै अब एयरपोर्टको स्तर वृद्धि सम्भव हुने उनको भनाइ थियो । कच्ची धावनमार्ग हुँदा पनि आफूले यही एयरपोर्टबाट ४२ सिटे डकौडा विमानमा २० रूपैयाँ तिरेर नेपालगञ्जसम्मको यात्रा गरेको पनि उनको अभिव्यक्ति थियो ।

सर्वपक्षीय छलफल कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले विमान स्थलको स्तर वृद्धि निर्विकल्प रहेको बताउंदै पछिल्लो समयमा हवाई इन्धन डिपो समेत निर्माण भएकाले उडान सेवा बढाउन अन्य निजी विमान कम्पनीसँग पनि हातेमालो गर्नुपर्ने तर्क राखेका थिए । साथै नयाँ प्रविधिमा निर्मित छोटो रनवेमै उडान भर्नसक्ने जहाज ल्याउन पनि हरसम्भव प्रयासमा जुट्न पनि रिजालको आग्रह थियो । सो अवसरमा वडाध्यक्ष वीरेन्द्र शाहले यो अभियानलाइ बैठकमा मात्र सीमित नराखेर अभियानलाई सरकारसँग जोड्न सुझाव दिए ।

‘कहाँसम्म पुग्नुपर्ने हो, सँगै जाऔँ, अबको अर्को बैठक भनेको स्तरोन्नतिपछिको धन्यवाद बैठक हुनुपर्दछ’, वडाध्यक्ष शाहले भने । कार्यक्रममा स्थानीयबासी गुरूप्रसाद लम्साल, नेकपा एसका युवासंघ जिल्ला अध्यक्ष हरिष गिरीलगायतले तुलसीपुरको विमान स्थलको स्तर वृद्धिमा सबैको हातेमालो आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई र प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।