मधुसूदन सुवेदी
यतिबेला जनताले आफ्नो भान्छा कोठामा तरकारी पकाउँदा हाल्ने तेल सिसीबाट खन्याउन पाएको अवस्था सहज छैन । दाल पकाउने कसौडीमा दाल खन्याउन पाएको अवस्था सहज छैन । भात पकाउने कुकरमा चामल खन्याउन पाएका अवस्था सहज छैन । अर्थात् भन्ने हो भने जनताका आधारभूत आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता मौलिक हकका प्रमुख पक्षहरु नै ओझेलमा परिरहेको अवस्था छ । यो सबैको जिम्मेवारी बोक्ने अहम दायित्व नेपाल सरकारको हो र सरकार सञ्चालन गर्ने प्रमुख पात्रको हो ।
सरकार जनताको भुपडी–झुपडी, बस्ती–बस्ती, समाज–समाज, समूह–समूह, संगठन, संगठन, मोर्चा–मोर्चा, क्षेत्र–क्षेत्र, तह–तह र तप्का–तप्कामा पुगेर जनताको विषयमा गहन अध्ययन, अनुसन्धान, बहस, छलफल र समस्याको समाधान गर्न पटक्कै अग्रसर देखिँदैनन् । केवल आफ्नो सत्ता कुर्सी, पद, प्रतिष्ठा, भत्ता, सेवा, सुविधा र जीवनशैलीमा रमाइरहेको छ । जनतालाई सामान्यभन्दा सामान्य कुरो समेत थाहा नपाएको बेला र जनता आफ्नो भान्छा कोठाको समस्या समाधान गर्न हम्मे–हम्मे परिरहेको बेलामा एमसीसी भन्ने जटिल शब्द घुसाएर राजनीतिलाई धमिल्याउने कोसिस भइरहेको छ ।
जनतालाई त के कतिपय सांसदलाई समेत एमसीसी के हो ? थाहा छैन होला तर पति मुन्टो हल्लाएर ुझेको वहाना गरेर सांसद भत्ता पचाउने प्रयास गरिरहेका छन् । एउटा जटिल शब्दलाई समेत सामान्य भाषा, शैली, ढङ्ग र ढाँचामा उतार्न नसक्नेले यो विशाल देशको समस्या कसरी उतार्लान् ? प्रश्न बडो गम्भीर छ । यो एमसीसी कसका लागि जर्सी गाई हो र कसका लागि देश खाइ हो ? त्यो पनि थाहा छैन । स्वयम् यसको पास र फेलमा भाग लिन पाउने कतिपय पात्रहरुले एमसीसीलाई नेपालको जर्सी गाई हो भनेर टीकाटिप्पर्ण र प्रमाणित गर्न खोजेका छन् भने विषय तिनै पात्रहरुले यो देश खाने पक्षघाती हो भनेका छन् ।
यस्तो अवस्थामा जनताले बुझून् के ? जसले जनता बुझाउने हो ऊ नै अन्योलनमा छ, भ्रममा छ, आशंकामा छ, द्विविधिामा छ भने जनताले बुझ्ने के ? जनताको लागि बुझाउने भाषा खोई ? यत्ति पनि थाहा छैन ? यदि यो देश र जनताको हितमा हो भने आजसम्म पास गर्न किन नसकेको ? यदि यो एमसीसी जनता र देशका लागि पचाउनै गाह्रो र कठिन छ भने योबाट पार पाउन सकेको खोई ? न त वारिको न त पारिका यो के हो ? देश त चकित प¥यो प¥यो एमसीसीको उत्पादक समेत यतिबेला तीनछक परेको अवस्था छ । न त खान सक्छ न त त्याग्न सक्छ । केवल थालमा राखेर टुलु–टुलु थुक निल्दै र घाँटी तान्दै के गरिरहेको होला ?
एमसीसी जुन बेला हस्ताक्षर भयो वा सम्झौता भयो त्यो बेला नै जनतालाई प्रष्ट पार्ने कुरा हो कि होइन ? फेरि जब नेपालको सरकार र अमेरिका सरकारबाट यो एमसीसीमा हस्ताक्षर भयो त्यो केका लागि भएको थियो ? नेपालको राजनीति गिजोल्न अरुको थियो कि नेपालको विकास छिचोल्न भएको थियो ? देशको सरकारले नबुझेर सम्झौता किन ग¥यो ? जब सम्झौता भयो तब किन हावा फैलाउने ? आफै धामी आफै बोक्सीको अभिनय किन गर्ने ? फेरि जसका पालामा हस्ताक्षर भयो उसकै पालमा यो किन अनुमोदन गरिएन ?
यसलाई यतिका समय किन थाँती राखियो ? यो केका लागि लक्षित थियो ? यो कसका पालामा पास हुनुपर्ने हो र कसका पालामा फेल हुनुपर्ने हो ? फेरि नेपालको सरकारमा कहिले कुन चाहिँ दल र नेता फरक आएको छ र ? फेरिए पनि उही कांग्रेस उही एमाले, उही एमाले, कुमालीको चक जस्तै घुमाएको त हो कुनै फरक छ र ? न त दल फरक न त व्यक्ति फरक । नेपालमा शासन चलाउने पार्टी कि त कम्युनिस्ट कि त कांग्रेस नै हो । यी दुवै दलका व्यक्रिले यतिबेला किन नाटक गर्दै छ् र देखाउँदै छन् ? पालैपालो सरकार चलाएकोले अलिकति जनताका अगाडि बोल्दा लाज, सरम र घिन मान्नु पर्दैन ?
खाली स्यालको प्रवृत्ति देखाउने ? कि त हामीले नै बुझेनौ भन्नुप¥यो कि त जनता बुझाउन सकेनौँ र जनता ढाँट्ने अभिनय ग¥यौँ भन्नुप¥यो । अहिले त्यही एउटै विषय एमसीसीमा कोही देशभक्त र जनताभक्त भएको जस्तो नाटकी रुप देखाउने । कोही देशको र जनताको विपक्षमा उभिएर विदेशीको चाकडी र चाप्लुसी गरेको जस्तो नाटक गर्ने किन ? यो के हो ? सोझो भाषाको कुरा गर्दा सरल भाषाको कुरा गर्दा वा सबैले जान्ने, बुझ्ने, सुन्ने, देख्ने, भोग्ने भाषाको कुरा गर्दा असली एमसीसी के हो ? विकासे कि बिनाशे ? यत्ति भन्दा हुन्छ ।
कि त यो एमसीसीले देशको समग्र विकास गर्छ भन्नुप¥यो र तुरुन्तै पास गर्नुप¥यो कि त यो एमसीसी विनाशे हो भन्न सक्नुप¥यो अनि तुरुन्त खारेज गर्नुप¥यो । बेकारको बखेडा झिकेर आफ्नो मह झिक्ने चम्चा बनाउनु भएन । अबका दिनमा यो एमसीसी कसैको चम्चा बन्नु हुन्न र बनाउनु हुँदेन । जसलाई जे निकाल्नुप¥यो त्यही यो एमसीसीको चम्चा प्रयोग गरेर निकालेर चाटी–चाटी खाने बानीबाट चाँडै मुक्त हुनुप¥यो अन्यथा एमसीसीको चम्चा यिनै कम्युनिस्ट र कांग्रेसको घाँटीमा अड्केर निल्नु न ओकल्नुको अवस्था नआउला भन्न सकिन्न ।
देशमा भ्रष्टाचार, कुशासन, महँगी, बेरोजगारी, महामारी तथा आर्थिक संकट परिरहेको बेला एमसीसी नबुझ्ने शब्द नेपालको आकाशमा घन्काएर पानी धमिलो पारेर माछा मार्ने अगतिलो खेल खेल्ने प्रयास कसैले पनि नगरौँ । जनताको यावत समस्या एकपछि अर्को गर्दै थपिएको बेला एमसीसीले सिस्नु हानने काम बन्द गरौँ ।