स्मार्ट सिटीका नामले प्रचारित तुलसीपुर उपमहानगरपालिकाका मुख्य बजार पैदलयात्रुका लागि पनि सकसपूर्ण बन्न थालेका छन् । तुलसीपुरलाई नगरोन्मुख सहरको परिकल्पना गरेको समय विसं २०३४ सालको योजनामा निर्माण गरिएका मुख्य सडकहरु अहिलेसम्म पनि विस्तार हुनसकेका छैनन् । कतिपय सडकमा अतिक्रमणको समस्या पनि उत्तिकै व्यापक बनेको छ ।
बसाइसराईको तीव्र प्रभाव, बढ्दो सहरीकरण, अव्यवस्थित विद्युतीकरण, अव्यवस्थित पार्किङलगायतका कारण तुलसीपुरका सडक अचेल निकै साँघुरा देखिन थालेका छन् । त्यसैमाथि पनि फुटपाथसम्मै व्यापार व्यवसाय गर्ने प्रवृत्तिका कारण पनि सडक निकै व्यस्त देखिन्छ । त्यसैमाथि स्थानीयबासीले सडकैभरि निर्माण सामग्रीहरु महिनौँसम्म थुपारिरहने प्रवृत्तिको पनि व्यवस्थापन हुन सकेको छैन ।
सडकमै चना–चटपटे र चाट एवं माछा तथा फलफूलको व्यापारले समेत बजार कुरुपजस्तै देखिन्छ । सडकमा सबै निकायले मनोमानी गरिरहँदा सडक व्यवस्थापनको एकलौटी जिम्मा ट्राफिक प्रहरीलाई मात्रै थमाउन थालेपछि तुलसीपुरको सडक अनुशासन कायम गराउन निकै सकस भएको छ ।
तुलसीपुर बजारलाई व्यवस्थित गर्ने र सडक अनुशासन कायम गराउने भूमिकाका लागि नगरप्रहरी नितान्त आवश्यक छ तर तुलसीपुर उपमहानगरपालिकाले आफ्नो पहिलो कार्यकाल समाप्त हुन थाल्दा समेत नगरप्रहरीको व्यवस्थापन गर्न सकेको छैन । मुस्किलले उपमहानगरपालिकाको अन्तिम नगरसभाले नगरप्रहरी ऐन ल्याए पनि निर्वाचनको मुखैमा यसो गरिएको भन्दै यसको कार्यपालिका सदस्यहरुबाटै चर्को विरोध समेत भएको छ ।
अव्यवस्थित बजार हटाउनका लागि उपमहानगरपालिकाले प्रयास गरिरहँदा त्यहीँकै जनप्रतिनिधिबाट अव्यवस्थित व्यापार व्यवसायलाई प्रोत्साहन हुँदै आएका घटनाहरु पनि पटक–पटक सार्वजनिक भएका छन् । अहिले उपमहानगरपालिकाले अव्यवस्थित बजार व्यवस्थापन र सडक अतिक्रमण गरी गर्न थालिएका व्यापार व्यवसायहरु झनै मौलाउन थालेका छन् । सडक व्यापारले ५ मिटरको सडक आधा–आधि ढाकिरहेको छ । पैदलयात्रुहरु गन्तव्यमै पुग्न समस्या भएको छ ।
यतिमात्र होइन सडकै छोपिने गरी हुनथालेको व्यापार व्यवसायले तुलसीपुरको सुन्दरता नै घटाइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरु एकपछि अर्को थपिँदै जाँदा बैंकका कर्मचारीकै सवारीसाधन दिनभर सडकमै पार्किङ भइरहेका हुन्छन् । यसमा पनि स्थानीय सरकारका अधिकारीहरुको शून्य उपस्थिति देखिन्छ ।
सडकको चौडा बढाउने काम त्यति सहज छैन तैपनि अन्ततः यसको कुनै विकल्प छैन । घोराही–तुलसीपुर–हापुरे–सुर्खेत सडक तथा उत्तर–दक्षिण तर्फको अमिलिया–सल्यान राप्ती लोकमार्ग पनि यही बजार भएर जाने भएकाले सडकमा ट्राफिक समस्या थेग्न सक्ने अवस्थाकै छैन । यसका लागि पनि स्थानीय सरकारले यी राजमार्गहरुका बाइपास सडक वा सडक चौडा गर्नेमध्ये कुनै एक विकल्प तत्काल खोज्न आवश्यक छ ।
तत्कालका लागि थाल्नुपर्ने अभियान भनेको सडक अनुशासनको हो । एउटा संस्थाले आफ्ना सवारीसाधन कार्यालय अगाडिको सडकमा दिनभरि पार्किङ गरिरहँदा त्यसबाट अन्य यात्रु तथा यातायात सेवा कति असर गर्दछ भन्ने स्वयम्ले बुझ्न जरुरी छ । सडक व्यवस्थापन न्यून संख्यामा रहेका ट्राफिक प्रहरीबाट मात्रै सम्भव हुँदैन ।
यसमा सरोकारवाला सबै निकायले सहकार्य र हातेमालो गर्न आवश्यक छ । दिनदिनै विकराल समस्याका रुपमा स्थापित हुँदै आएको तुलसीपुरको सडक व्यवस्थापनमा गम्भीर बनौँ । सहज यातायात र बजारको सुन्दरताका सन्दर्भमा विशेष योजना ल्याऔँ ।