लिलाधर वली
दाङ,१५ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मानिसको दैनिकी बद्लिएको छ । कोरोना भाइरसको संक्रमणबाट अहिले विश्वभरी २७ हजार तीन सय ६४ जनाले ज्यान गुमाइसकेका छन् ।
५ लाख ९७ हजार तीन सय जना संक्रमति रहेका छन भने एक लाख ३१ हजार सात ८ जना बिरामी निको भएर घरफर्की सकेका छन् । यो विश्वको अवस्था हो । नेपालमा अहिलेसम्म चार जना सक्रमति भेटिएका छन् भने त्यस मध्य एक जना विरामी निको भएर घर फर्किएका छन् । नेपालमा सक्रमणमा परेका विरामी बाहिरीदेशबाट स्वदेश फर्किएका व्यक्तिहरु हुन् । बाहिरबाट स्वदेश फर्किएका व्यक्तिहरुबाट कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम रहेको छ ।
त्यही जोखिमलाई कम गर्ने उद्देश्यले सरकारले चैत ११ गतेदेखि १८ गतेसम्मलाई पुरै देश लकडाउन गरेको अवस्था रहेको छ । लकडाउनका कारण मानिसहरुभित्रै रहेका छन् । लकडाउनले व्यवसायी, कर्मचारी, विद्यार्थी, शिक्षक, राजनीतिकर्मी, मजदुरसँगै सर्वसाधारणको दिनचार्य समेत बदलिएको छ । अहिले नागरिकहरु घरभित्र बसेर दिन विताईरहेका छन् । लक डाउन घोषणाको पाँचौ दिनसम्म आईपुग्दा अघिपछि व्यस्त रहने राजनीतिक दलका नेताहरुको दैनिकी कसरी वितरहेको छ भनेर सोधेका छौँ । हाम्रो प्रश्नमा उहाँहरुको जवाफ यस्तो रहेको छ ।
टिकाराम खड्का (अध्यक्ष नेकपा दाङ)

आफै पनि दमको बिरामी भएका कारण म घरमै आराम गरिरहेको छु । त्यसैमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण म चारदिनदेखि तुलसीपुर उपमहानगरपालिका–१८ को अकांसीमा रहेको घरमा होम क्वारेन्टाइनमै छु । व्यक्तिगत सरसफाईसँगै घरपरिवारलाई सचेत गराउने काम गर्छु ।
दिउँसो फुर्सदको समयमा कम्युनिष्ट विचारधाराका पुस्तकसँगै साहित्यक पुस्तकहरु पढ्ने गरेको छु । जसमा अहिले मोहनविक्रम सिंहले लेख्नुभएको पुस्तक ‘कम्युनिष्ट आन्दोलनको चिरफार’ र बिष्णु पन्थीले लेख्नु भएको ‘विश्व कम्युनिष्ट आन्दोलनको बहस’ नामक पुस्तकलगायतका पुस्तकहरु अध्ययन गरिरहेको छु ।
किर्तीबहादुर खड्का (सभापति नेपाली कांग्रेस दाङ)

म तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को रक्षाचौरमा बस्दै आएको छु । लकडाउनका कारण म प्राःय घरभित्रै बस्ने गरेको छु । घरमा बस्दा सरसफाईलाई विशेष ध्यान दिने गरेको छु । नियमित विहान नुहाउने, सावुनपानीले हातधुने, तातोपानी पिउने, घर वरिपरी फोहर हुन नदिनका लागि सरसफाईमा ध्यान दिने गरेको छु ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने अहिलेको मुख्य उद्देश्य हो । यो समय सवै नागरिकलाई सचेत गराउने समय हो । त्यसैले अहिले गाउँमा कोही नयाँ मान्छे आउँदा त्यसको बारेमा बुझ्ने र बाहिरबाट आउने मानिसहरुलाई स्वास्थ्य परिक्षण गराउनपर्छ भनेर घरपरिवारसँगै छिमेकीहरुलाई सचेत गराउने गरेको छु ।
सुवास पुन (सचिव नेकपा दाङ)

लकडाउनको क्रममा घरमै दिनहरु वितिरहेको छ । म घोराही उपमहानगरपालिका वडा नं। १५ को भरतपुरमा बस्छु । कोरोना भाइरस सम्वन्धी घोराहीमा हुने बैठक र छलफल बाहेक अन्य कामका लागि बाहिर गएको छैन । घरमै बसेर कोरोनाको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउने गरेको छु ।
नियमित सावुनपानीले हातधुने, आफ्नो र परिवारको स्वास्थ्यमा ध्यान दिने र केटाकेटीहरुहरुसँग खेल्दैमा दिन जान्छ । फुसर्द मिलाएर अध्ययन गर्ने गरेको छु । साझ विहान मिलाएर तरकारी गोडमेडल गर्दागर्दै दिनहरु वित्ने गरेका छन् ।
शंकर डाँगी (सचिव नेपाली कांग्रेस)

घोराही उपमहानगरपालिका–१५ को माथिल्लो भरतपुरमा बस्ने गर्दछु । लकडाउनका कारण देश ठप्प रहेको छ । त्यसैले मैले घरबाहिर हिड्ने र भेटघाट गर्ने काम बन्द गरेको छु । अहिले क्याम्पस पनि छैन । त्यसैले आजभोली बिहान उठ्ने, समान्य शारीरिक अभ्यास गर्ने, अलि अलि पढ्ने । त्यसपछि समाचार हेर्ने र पढ्ने । देश विदेशको जानकारीका लागि टेलिभिजन हेर्ने । व्यक्तिगत सरसफाईमा ध्यान दिने । यसैगरी दिन कटाइरहेको छु ।
व्यक्तिगत सरसफाईसँगै परिवार, साथीभाई, पार्टीका साथीहरुलाई समेत सरसफाईमा ध्यान दिन आग्रह गर्ने गरेको छु । त्यसपछि कहाँ के भैरहेको छ भनेर बुझ्नलाई साथीभाईहरुसँग फोनमा कुरा गर्ने गरेको छु । भएसम्म अहिलेको अवस्थाका बारेमा बुझने र बच्नका लागि सजगता अपनाउन आग्रह गर्ने गरेको छु ।
गणेश आचार्य (अध्यक्ष राष्ट्रिय जनमोर्चा)

अहिले देश लक डाउनको अबस्थामा छ । हामी पनि अहिले लकडाउनमा छौ । लकडाउनले गर्दा घरभित्र दिन बिताउनु पर्दा एक प्रकारले गारो भैराखेको छ । अन्य दिनमा धेरै प्रकारका काममा सहभागी हुन्दा दिन कटेको पत्तो नै हुदैन थियो । अहिले भन्ने हो भने मेरो दैनिकी कष्टप्रद रुपमा चलेको छ । तर यसलाई कष्टको रुपमा भन्दा अबसरको रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
म दैनिक बिहान पौने ५ बजे उठ्छु । उठेर सरसफाई गरेपछि २ गिलास तातोपानी पिउछु र ५ बजेदेखि ६ बजेसम्म योग, ध्यान र ब्यायम गर्छु । ६ बजे फेरि तातोपानी पिउछु र भेली र लहरे गुर्जो राखेको चिया बनाउछु र पिउछु । पानी भर्छु १ र २ कपडाहरु धुन्छु । सामाजिक संजाल हाम्रो अनिवार्य जस्तै भएको छ केही समय त्यसमा समय बिताउछु । खाना बनाउनको लागि सघाउछु ।
पार्टीका साथीहरूलाई सतर्क रहनको लागि फोन गरेर अनुरोध गर्छु । जिल्लामा हुने कोरोना भाइरस नियन्त्रणका लागि हुने महत्त्वपूर्ण बैठकहरुमा सहभागी हुन्छु । साथीहरु, परिबारका सदस्यहरु र आफन्त इस्टमित्रहरुलाई सतर्क रहन अनुरोध गर्छु ।
त्यो क्रममा फुर्सदको समयमा केही पुस्तकहरु पढछु । अनलाइनमा आएका समाचार र महत्वपूर्ण लेखहरु अध्ययन गर्छु । युटुबमा भएका मनोरञ्जनात्कम गित र सकारात्मक सोच सम्बन्धिका प्रबचनहरु सुन्छु । साझ केही समय घरका सबै नाच्छौ । करिब साढे ६ देखि ७ को बिचमा खाना खाएर दिन भरीका समाचार सुन्ने, हेर्ने गरेर साढे ९ देखि १० को बिचमा सुत्छु ।