कोरोनाले पढाउदै गरेको पाठ

डा.विमला शर्मा

‘आवश्यक्ता नै आविष्कारकी जननी हुन’ भन्ने भनाइ छ। स्वच्छन्द विचरण गर्ने जिवलाई सुनको पिंजडा बनाई कैद गर्न सकेकोमा, मानवीय जीवनलाई कृत्रिम गर्भादानदेखि विभिन्न अङ्ग प्रत्यारोपणसम्मले च्युईगम जस्तै तन्काएकोमा छाती फुलाई गर्व गर्ने लायक त बनायो, तर मानिसले शक्तिशाली बन्ने दौडमा आफ्नी आमा प्रकृतिलाईर्नै बलात्कार गरेको पत्तै पाएन ।

प्रकृति, ईश्वर वा अदृश्य शक्ति जे भनौ उसले आफ्नो संतुलन आफै कायम गर्दछ । हामीले स्विकारौं वा अस्विकारौं ब्रह्माण्डको संतुलन आवश्यक छ, जसले गर्दा विभिन्न समयमा विभिन्न किसिमका विपदाहरु भोग्न हामी बाध्य छौं ।

म त आशावादि छु कोरोनाले आफुसित केही बडारेर लगे पनि मानव जातीका निम्ति सफा र नयाँ ब्रह्माण्ड दिनेछ, जसलाई कसरी उपयोग गर्ने हाम्रो भन्ने कुरा आफ्नै हातमा हुनेछ ।

कोरोनाले पनि धेरै कुरा हामीलाई सिकाउदैछ । मैले धेरै पहिला भर्जिनिया वुल्फको ‘द डेथ अफ द मथ’ पढेको थिए । जसको सार मैले मृत्यु सबैका लागि समान छ भन्ने पाएँ । त्यस्तै यो कोरोनालेपनि सबैप्रति समदृष्टि एवम् समभाव राखेको जस्तो लाग्यो ठूलो र सानो, धनी र गरीब, शक्तिशाली र कमजोर आदि सबै यसको चपेटामा परेका छन् । कमिलादेखि हात्तीसम्म निर्धक्क, निर्भीक विचरण गरिरहेका छन् । हाम्रो भने मुटुले थात् छोडेको छ ।

विश्वमा जहाँका भएपनि मानव एउटै छन् र आज तिनका पीडा पनि उस्तै छन् । रोगलाई कुनै भिसा वा पासपोर्ट न चाहिँदो रहेछ र यसले थरिथरिका राष्ट्रियता वा भनौं नागरिकरता पनि चिन्दो रहेनछ । कोरोनाभाईरसका लागि त सब बराबर । हामीले आफुलाई जति आत्मनिर्भर वा ईन्डिविज्युलिस्टिक र जीवनलाई जति नै सुविधासम्पन्न बनाए पनि हामी परनिर्भर नै छौं । हामी चेनले बाँधिएका छौं ।

एउटाको अस्तित्व र क्रियाकलापले अर्कोलाई अवश्यम्भावी असर पर्दछ । यस्ता असरले मानव निर्मित कुनै बाधा बन्धन राष्ट्रियताको सिमाना मान्दैन भन्ने यस महामारीले पुष्टि गर्यो । स्वस्थ जीवन नै सर्वोच्च रहेछ भन्ने सिद्ध भयो । भौतिक उपलब्धिले पनि जीवन किन्न सकिदो रहेनछ। बैंक बैलेन्स भन्दापनि श्वास र आयुको बैलेन्स महत्त्वपूर्ण रहेछ ।

जीवन वास्तवमा नै करकलाको पानी रहेछ, जसलाई जोगाई राख्न वास्तवमै कठिन रहेछ । कोरोनाले जीवन क्षणभङ्गुर छ र यसको सदुपयोग गर्नु पर्दछ भनेर पनि सिकायो । वास्तवमा अत्यावश्यक त श्वास, गाँस, बास, कपास, मात्र रहेछ अरु त आडम्बर मात्र रहेछ । हामी त घरबाहिरको दौडमा यति तल्लीन भयौं कि छिट्टो दुगुर्नका लागि पहिला खुट्टा, घोडा, गोरुगाढा, साईकल बाईक हुँदै रकेटसम्म पुग्यौं तर सबैको दौड कोक्रोबाट आर्यघाटसम्मको नै रहेछ । घरबाहिरको जीवन जरुरी ठान्ने हामी वास्तवमा घरभित्र नै जीवन रहेछ भन्ने बिर्सेका थियौं ।

पश्चिमा आधुनिकताको जानी नजानी नक्कल गर्नाले हाम्रो सनातनी जीवन पद्धति बिर्सेकामा पछुताउने बनायो र हामी नै ठिक रहेछौं भन्ने आज स्विकार्यौं । मानवीय सम्बन्ध र समवेदनाहरुलाई पनि फेरि सच्च्याउने र नयाँ परिभाषा गर्ने मौका दियो कोरोनाले । कोरोनापछि शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक एवम् मानवसंग जोडिएका सबै पक्षका विषयमा स्थापित वा अब आउने नयाँ विचारधारा एवम् चिन्तनहरुलाई नै नयाँ दृष्टिकोणले केलाउन बाध्य गराउने भयो ।

ईतिहास साक्षी छ, विभिन्न किसिमका विपद्बाट मानवले पार पाएको छ र हरेकले विभिन्न पाठ सिकाएका छन् । तसर्थ म त आशावादि छु कोरोनाले आफुसित केही बडारेर लगे पनि मानव जातीका निम्ति सफा र नयाँ ब्रह्माण्ड दिनेछ, जसलाई कसरी उपयोग गर्ने हाम्रो भन्ने कुरा आफ्नै हातमा हुनेछ ।

डा.शर्मा नेसंबिका सहप्राध्यापक हुन्