किशोरचन्द्र गौतम
आज लकडाउनको चौथो दिन, ब्रिटेनका प्रधानमन्त्रीलाई पनि कोरोना पोजेटिभ भएको खबरपछि मन झस्केको छ। रोग पस्न नदिनु नै रोगवाट बच्ने एकमात्र उपाय हो जस्तो लागेको छ।
व्यक्तिगत रूपमा म फोन अफ गरेर हप्ता दिनसम्म पनि बाहिर ननिस्केर एकान्तमा वस्न अभ्यस्त छु ।
त्यसैले यो वसाई मेरा लागि धेरै तनाव दायक बनेक छैन । बरु ध्यान, पढाइ आराम र एकान्तका लागि प्रसस्त समय भएकाले यो स्वयंप्राप्त अवकास सुखद नै बनेको छ।
तर सबैको अनुभव यो छैन । असाध्य छटपटिमा वसेका देख्छु, एकछिन पनि अडिएर वा एकान्तमा वस्ने बानी नभएकाहरूको छटपटी प्रति संवेदनशीलता आवश्यक बनेको छ।
हामी अरू खाद्यान्न, आपूर्ति, बैकिङ् सेवा, गरिबहरूको छाकको समस्यालगायतका तमाम समस्यामा जति संवेदनशील छौं, त्यत्तिकै तनावका कारणले, एकान्तवासका कारणले हुने मानसिक सामाजिक समस्याका बारेमा संवेदनशील हुन जरुरी छ र यो तनाव व्यवस्थापनका लागि मसिना मसिना व्यवहार सम्बन्धी सूचना, जानकारी, प्रशिक्षण र प्रसारण हुनु जरुरी छ।
गाउँघरतिर रोग पस्दैन भनेर हो कि अलि लापरबाही बढेको सुनियो । अलि राम्ररी कुरा बुझाउन पाए हुन्थ्यो जस्तो लाग्याछ । सोचिराछु सबैभन्दा सुप्रभावकरी उपाय के होला भनेर ? यस्को उपाय पनि लाग्ला ।
हामी आज आफ्नो टोलमा सबै आआफ्ना छतमा जम्मा भयौ । अनि धक फुकाएर सबै भजन गाउँदै तालि बजाउँदै नाच्यौ । मन प्रफुल्ल र शरीर हल्का भएको महशुस भएको छ। अब बिहान बिहान ५ बजे सामुहिक योगा र नाच गर्ने सल्लाह गरेका छौ । छत जोडिएका र घनो वस्ति भएकाले यो सम्भव भएको हो ।
यस्तै तनाव विरेचन गरेर मन दंग पार्ने र शारीरिक अभ्यासका विभिन्न उपायहरूमा हाम्रो ध्यान जान जरुरी छ।
एकान्तमा वस्दा हाम्रा जीवनशैलि, वर्तमान समस्या, मानिसहरुले सामाजिक दूरीको अर्थै नबुझेकाले लाग्ने दिक्क, परीक्षण सामग्रीको कहाली लाग्दो अवस्था जस्ता घेरै विषयले मन उद्वेलित बनाइरहे । मनमा आएका विचारहरू कति त फेसबुकबाट शेयर गरिए, कति मन भित्रै रहे।
विशेषत आज तीनवटा विषयले मन मा प्रसन्नता छायो ।
पहिलो त दाङबाट पठाएका करोनाको शंका गरिएका स्याम्पलहरु नेगेटिभ आए। थाहा छ यो त्यति सन्तोष मानिहाल्ने विषय होइन, तर एउटा गौंडो त टर्यो नि । शान्तिको अनुभव भयो मनमा।
अर्को मुख्यमन्त्री शंकर पोख्रेलको फेसबुक स्टाटस्ले ठूलो शान्ति दियो । घोराहीको प्रतिष्ठानलाई कोरोना अस्पताल बनाउने कुराले । वास्तवमा भन्ने हो भने मन खुसी भएको उपकुलपति र सरकारमा वस्नेहरूको अहंकारको बलि चढेको हाम्रो ऐतिहासिक महेन्द्र अस्पतालक पुनरुद्धार हुन्छ कि भन्ने आसाले हो । मुख्यमन्त्रीले उदारता देखाउनु भएको छ । अब पालो उपकुलपतिको । समन्वय गर्न उहाँले तदारुकता देखाउनु पर्दछ अब । उहाँका नजिकमा रहेका, सम्पर्कमा रहेका साथीहरुले सम्झाउनु पर्छ । अरूको भूमिका नसहने बानीमा सुधार त ल्याउनै पर्छ । यसैमा उहाँको पनि कल्याण छ, हाम्रो अस्पतालको पनि।
दिन त राम्रै रहेछ केर, संसारको सबैभन्दा अडियल मानिने अमेरिकी राष्ट्रपति आज खुकुला देखिए । चिनका राष्ट्रपतिसंग कुरा गरेछन् । राम्रा कुरा लेखे । जे भने पनि साधन स्रोत यिनै दुईसंग छ । यी दुई महाशक्ति मिलेर रोगविरुद्ध लडिदिए अलि सजिलो हुन्छ कि भन्ने आशा पलाएको छ।
गाउँघरतिर रोग पस्दैन भनेर हो कि अलि लापरबाही बढेको सुनियो । अलि राम्ररी कुरा बुझाउन पाए हुन्थ्यो जस्तो लाग्याछ । सोचिराछु सबैभन्दा सुप्रभावकरी उपाय के होला भनेर ? यस्को उपाय पनि लाग्ला ।
बिहान सबै छतमा उभिएर योग, नाच गर्ने कुराले मन उत्साहित छ । सबैले आफुलाई उत्साहित बनाउने कर्म गरौं ।