सपना बोहरा
जिन्दगी त केही रहेनछ !
म्यासेज रिक्वेस्टमा छोडिएको एउटा म्यासेज ।
म्यासेज हेर्नू भन्दा पहिले उस्को फेसबुक प्रोफाइल हेर्दै थिए । एउटा नोटिफिकेसन आयो ‘पिपुल यु मे नो’
चिनेको अनुहार, अफिसियल स्ट्याटस् हेरे, अनि मुसुक्क हाँसे । म्यासेज अन गरे । फेरि अर्को म्यासेज लेखिएको थियो -‘जिन्दगी सकिन त पल भर पनि लाग्दो रहेनछ ।’
‘किन के भयो र ?’ मैले सोधे ।
‘हामी कति कम्जोर रहेछौ है । एउटा भाइरसले बिश्व हल्लाउछ ।’
‘अनि भयो के ? स्पष्ट भन न’- मैले फेरि प्रश्न गरे । टाउको दुखिसक्यो अनि इरिटेडवाला इमोजी पनि पठाएको थियो । मैले फेस्बुकमा शेयर गरेको कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ? सम्बन्धी जानकारी कपि पेस्ट गरेर तुरुन्त सेण्ड गरे । अनि लेखे -‘चेक गर त कुनै सिम्टोम मिल्छ कि ?’
कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ? विषयमा जानकारी यस्तो थियो :
– अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
– छातीको एक्सरे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा
कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा
‘आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो । ८५ प्रतिशत व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ । घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ । बाँकी १० प्रतिशतलाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ । केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ । २-३ प्रतिशतको मात्र मृत्यु हुन्छ । यो २-३ प्रतिशत मृत्यु हुने धेरै रोगहरु छन्- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।’
केही समयपछि हाहा म्यासेज सहित रियाक्ट आयो । म के रियाक्ट गरुँ भनी सोच्दै थिएँ ।
‘पागल, मलाई तिमिले सोचेको जस्तो केही पनि भयको छैन, अनि तिमिले पठाएको जस्तो केही पनि सिम्टोम देखिएको छैन ।’- फेरि उसैको म्यासेज आयो ।
‘अनि के होत ?’ मैले रिसाउँदै भने ।
‘बिकसित देशहरुका मै हुँ भन्नेहरुले त एउटा भाइरसको औषधि पत्ता लगाउन सकेनन्, धेरै मानिसहरु मरे, हाम्रो जस्तो देशमा महामारी फैलियो भने के होला अवस्था ?’ उस्ले आफ्नो कुरा प्रष्ट पार्दै भने ।
‘ए ए त्यसो पो…’ भन्दै मैले छोटो जवाफ दिए ।
‘हो नि, मैले आफुलाई शक्तिशाली सम्झन्थे, मसंग सबथोक छ, मैले चाहेको गर्नसक्छु भन्ने त भ्रममा रहेछु’ उस्ले लेख्दै गयो ‘लक डाउन भएको चार दिन भैसक्यो, पैसा बैंकमा छ, यो अवस्थामा केही काम छैन ।’
‘केही भैहाल्यो भने पनि उपचार छैन, कस्तो अबस्था छ हाम्रो ?’ उस्को एकोहोरो म्यासेज थियोे-‘जिन्दगीको ३२ वसन्त पार गरिसके, यो बीचमा धेरै संघर्षमा सफल पनि भए, हामी सानो छँदा , कहिले बुवा आमासङ्ग समय बिताउन पाएनौं, त्यसपछी हामी अलि ठूलो भयौ, आफ्नो भबिस्य बनाउने भन्दै कहिले कहाँ-कहाँ पुग्यौ । बुवा आमाले पनि हामीसङ्ग समय बिताउन पाउनु भएन । अहिले हामी स-परिवार एक साथमा त छौ तर कोरोनाको डरत्रासमा । सधै काम-काम भन्दै हाम्रो लागि बुवा आमाले आफ्नो जिन्दगी खियाउनु भयो, अनि हामी पनि कामको पछि दौडियो, आखिर के रहेछ र जिन्दगी सब भ्रममा रहेछौ।’
यसरी उस्ले म्यासेज गरिरहँदा लागथ्यो उसलाई मात्र लकडाउन लाग्या छ अनि उसलाई मात्र कोभिड-१९ को त्रास छ ।
‘तिमिले मलाई यति समयपछि म्यासेज गर्या यहि सुनाउनको लागि हो । केही समय त होनि । यो भाइरस नियन्त्रण भयो भने त सब ठिक भैहाल्छ नि’- मैले उस्को कुरा रोक्दै म्यासेज लेखे ।
‘उम त्यो पनि हो, छोड यिनी कुरा, तिम्रो पत्रकारिता कस्तो चल्दै छ रु यो समयमा डियुटी नजाउ है, घरैबाट गर’- उस्ले लेख्यो ।
‘नेपाल लक डाउन घोषणा भएदेखि नै प्रेस बन्द भयो, घरमै छु, ठिकै चलिराछ’ मैले जवाफ दिए । ‘मैले चिनेदेखी नै तिमी कम बोल्थ्यौ, अझै यो बानि सुध्र्यारैनछ’
उस्को म्यासेजको पर्तिउत्तरमा मैले ‘उम यस्तै हो म’ लेखेर पठाए ।
‘पत्रकार जस्तो मान्छे भएर के हो हँ, अलि बोल्ने गर न’ उस्ले जिस्क्याउदै लेख्यो ।
‘नेता हो र म धेरै बोल्नलाइ, पत्रकारितामा कम बोल्ने धेरै सुन्नु पर्छ, त्यो पनि बढो ध्यान दिएर, अनि धेरै लेख्नु पर्छ ।’
मेरो म्यासेज हेर्दा बितिकै फेरि उस्ले लेख्यो ‘अहिले चाहिँ कडा आयो है,’ हाहा इमोजी लेख्दै भन्यो -‘तिमी बहुत लक्की मान्छे छौ, धेरै प्रगति गर्यौ, फेसबुकमा तिम्रो हरेक गतिबिधिहरु हेर्थे, तिम्ले सम्मान पाको, ठूलो-ठूलो कार्यक्रममा सहभागी भएको, मलाई निकै खुशी लाग्थ्यो । तिमी पत्रकारिता नछोड है कहिले ।’
‘तिमिले देखेको जिन्दगी र मैले भोगेको जिन्दगी धेरै फरक छ’ भनेर लेख्न मन त थियो तर ‘हुन्छ’ मात्र भने ।
‘लक डाउन भएकाले फुर्सदमा भएर बोल्यो भनेर नसम्झिनु नि, म तिम्लाई सधै सम्झिन्छु, तिमिलाई दुई पटक फ्रेन्ड रिक्वेस्ट पठाएको थिएँ । पहिलो पटक पठाउदा ३ घन्टा पर्खिए, दोश्रो पटक पठाउदा एक दिन पुरै पर्खिए, तिमिले एसेप्ट गरिनौ अनि रिस उठेर क्यान्सिल गरे । फेरि रिक्वेस्ट पठाउँछु एसेप्ट गर ल !’ उस्को लास्ट म्यसेज हेरेर चाहिँ हाँसो उठ्यो ।
उस्को पहिलो फ्रेन्ड रिक्वेस्ट चाहिँ याद भएन, दोश्रो चाहिँ मैले केही समय ओएटिङ्ममा राख्दा उसैले क्यान्सिल गरेको रहेछ । बिश्व नै अहिले कोभीड- १९ सङ लडिरहेको छ । नेपाल लकडाउन भएको पनि ४ दिन भैसक्यो । अफिस बिदा छ । लेखिराको बानी के लेखुम के लेखुम भैरहने । होम क्वारेन्टाइनमा भाको हुनाले कहि जान पाएको छैन ।
तर लेखन कार्य जारी छ । पहिले- पहिले मलाई हजार सपनाको माया लागेर आउँथ्यो । हिजो आज मलाई आफ्ना पराई, परिचित अपरिचित, साथमा हुने नहुने, देश बिदेशमा रहने, दोस्ती दुश्मन सबैको माया लागेर आउँछ । जो जहाँ हुनुहुन्छ । सुरक्षीत रहनु होला।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् !