खेमराज रिजाल
तुलसीपुर, २४ माघ । सम्भावना हुँदाहुँदै पनि तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तर वृद्धि सुस्त भएपछि राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखिन थालेको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले आइतवार तुलसीपुरमा आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय कार्यक्रममा सहभागीहरूले राजनीतिक दलका नेताहरूको इच्छाशक्तिको कमीका कारण तुलसीपुर विमान स्थलको स्तर वृद्धिमा अन्याय भएको सरोकारवालाहरूले बताएका छन् ।
सर्वपक्षीय बहस कार्यक्रममा तुलसीपुरको टरिगाउँ विमान स्थलस्थित नागरिक उड्ययन प्राधिकरणका अधिकारी, नेपाल वायुसेवा निगमका अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थापक अध्यक्ष, दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, निवर्तमान तथा वर्तमान अध्यक्ष, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी तथा नागरिक अगुवाहरू सहभागितामा एयरपोर्ट स्तरोन्नतिको विषयमा बहस आयोजना गरिएको हो । बहसमा सहभागीले राजनीतिक इच्छाशक्तिलाई दबाब दिन जनस्तरबाटै खुत्रुके अभियान सञ्चालन गरी एयरपोर्टको स्तरोन्नतिका लागि पहल गर्नेसम्मको छलफल भएको छ ।
कार्यक्रममा नागरिक उड्ययन प्राधिकरण तुलसीपुरका प्रमुख कैलाश शर्माले तुलसीपुरको विमान स्थलमा इन्धन रिफिलिङको संरचना निर्माणको काम सम्पन्न हुने चरणमा रहेको तथा ठूला जहाज अवतरण गराउनका लागि एयरपोर्टको धावनमार्गको लम्बाइ बढाउने पर्याप्त सम्भावना रहेको बताए । उनले तुलसीपुरको विमान स्थलको स्तर वृद्धिका लागि कुनै पनि प्राविधिक समस्या नरहेको तथा जग्गा उत्तर–दक्षिण तन्काउनसक्ने पर्याप्त सम्भावना रहेको बताए ।
धावनमार्ग दुई हजार मिटरसम्म बनाउन सकिएमा यो विमान स्थलमा उत्तर–दक्षिण र पूर्व–पश्चिम दुवैतर्फबाट जहाज उडान भर्न सकिने पनि उनको अभिव्यक्ति थियो । उनले पछिल्लो अवस्थाको विश्लेषण गर्दा तुलसीपुर विमान स्थलमा ७२ सिटे जहाजका लागि पनि यात्रुहरूको कुनै समस्या नहुने तथा यहाँबाट कर्णालीका केही विमान स्थलमा पनि नियमित सेवा सञ्चालन गर्न सकिने प्रशस्तै सम्भावना रहेको भन्दै एयरपोर्टको स्तर वृद्धिका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल वायु सेवा निगम तुलसीपुरका प्रमुख यमकान्त लम्सालले यात्रु र हवाई सेवा सञ्चालनका हिसाबले तुलसीपुरको विमान स्थल लगातार तीन वर्ष उत्कृष्ट उडान गर्ने विमान स्थलका रूपमा प्रमाणित भएको बताउँदै ठूला जहाज अवतरण गर्नसक्ने विमान स्थल सञ्चालनमा आए कुनै पनि बेला हवाई सेवा बन्द गरिनु नपर्ने तथा यात्रुहरूको पनि समस्या नहुने उल्लेख गरे । साना जहाजले सस्तोमा यात्रुहरू बोक्न सम्भव नहुने भन्दै भाडा घटाउनका लागि पनि ठूला जहाजको उडान अनिवार्य भएको उनको अभिव्यक्ति थियो ।
तुलसीपुरको विमान स्थलको स्तर वृद्धि हुन नसक्नुमा राजनीतिक दलहरूको इच्छाशक्ति नभएको तुलसीपुर कांग्रेसका सभापति सुरेश हमालले बताएका छन् । ‘अब यो विमान स्थलको स्तर वृद्धिका लागि राज्यलाई चुनौती दिन जनस्तरबाटै दबाब सिर्जना गर्न आवश्यक छ, त्यसका लागि आजैदेखि अभियान थालौँ’, नगर सभापति हमालले भने । तुलसीपुरको विमान स्थलको स्तर वृद्धि गरेपछि मात्रै अन्य वैकल्पिक विमान स्थल निर्माणको अभ्यास सुरु हुनुपर्ने उनको सुझाव थियो ।
एमाले जिल्ला सदस्य सूर्यबहादुर डाँगीले तुलसीपुरको विमान स्थलको स्तर वृद्धि प्राविधिक रूपले निकै चुनौतीपूर्ण रहेको भन्दै तुलसीपुर उपमहानगरपालिकाका टिप्पर पठाएर मात्र विमान स्थलको धावनमार्गको लम्बाई बढाउन चिरो भाट्न असम्भव भएको बताए । माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुशीराम चौधरीले विमान स्थलको स्तर वृद्धिका लागि माओवादी केन्द्र सधैँ सकारात्मक रहेको भन्दै हातेमालो गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सहसचिव राजु आचार्यले एयरपोर्ट निर्माण बसपार्क बनाएजस्तो नभएको बताउँदै तत्कालका लागि दाङले एउटा विमान स्थलको स्तरोन्नतिको मात्रै प्रक्रियामा ऐक्यबद्धता जाहेर गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, टरिगाउँको तरुण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेषुराम घण्डारी, दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडे, निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, अध्यक्ष टंकसिंह बुढाथोकी, महासचिव महेन्द्र बुढाथोकी, बासुदेव आचार्य, इन्द्रबहादुर बुढा, पत्रकार नारायण खड्का, मनु शर्मा, हापुरे उवासंघका अध्यक्षलगायतले विमान स्थलको स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिएर मात्रै अन्य वैकल्पिक विमान स्थलको निर्माणमा लाग्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा राजमोका श्यामलाल पोख्रेल, मोहन वली, माओवादी केन्द्रका खुशीराम चौधरी, एमाले तुलसीपुर नगर अध्यक्ष माधव वली, माओवादी बैद्य समूहका ईश्वरी गैरे, नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका प्रवक्ता रवि बुढाथोकीलगायतले पनि एरपोर्ट स्तर वृद्धि गर्न राजनीतिक एकता आवश्यक रहेको बताएका थिए ।
व्यावसायिक मोडेलले एयरपोर्ट चलाऔँ : प्रमुख पाण्डे
यसैबीच विमानस्थल स्तरोन्नति सर्वपक्षीय बहस कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको एयरपोर्टलाई व्यावसायिक मोडलबाट सञ्चालनका लागि आग्रह गरेका छन् ।
यहाँको विमान स्थलको धावनमार्ग विस्तारका लागि धेरै प्राविधिक समस्या रहेको बताउँदै सबैभन्दा पहिले धावनमार्ग विस्तारको एजेण्डा भन्दा पनि भइरहेको विमान स्थलमा यो भन्दा बढी क्षमताका जहाज अवतरण गराउन व्यावसायिक कमिटमेन्टका लागि पहल गर्न पनि उनले उद्योग वाणिज्य संघहरूलाई आग्रह गरे ।
‘यो एयरपोर्ट अब राजनीतिक मोडलबाट चल्न सक्दैन, यसलाई अब व्यावसायिक मोडलबाट चलाउन हामी सबैले एकात्मक पहल गर्न जरुरी छ’, नगर प्रमुख पाण्डेले भने, ‘इन्धन रिफिलिङ सुरु भइसकेपछि यो विमान स्थलमा अन्य निजी एयरलाइन्सका केही ठूला जहाजहरू पनि अवतरण गर्नसक्ने छन् । उनले त्यसका लागि निजी विमान कम्पनीहरूसँग समन्वय गर्नका लागि सामूहिक पहल गर्न पनि आग्रह गरे ।
राजनीतिक एकता स्थानीय स्तरमा जतिसुकै प्रगाढ देखिए पनि माथि पुग्दासम्म कताकता धमिलो भइसक्ने गरेको पनि उनले तीतो अनुभूति सुनाए । आगामी बैशाख महिनासम्म इन्धन डिपो निर्माण भएर हस्तान्तरण भइसक्ने बताउँदै त्यसपछि कम्तिमा ३२ सिटे र ४२ सिटे जहाज सञ्चालन पनि सम्भव हुने उनले कार्यक्रममा बताए । त्यसका लागि यहाँको व्यावसायिक जगतले निजी विमान कम्पनीहरूलाई यात्रुहरू पर्याप्त पाइने विषयमा प्रभाव पार्न सक्नुपर्ने पनि नगर प्रमुख पाण्डेको अभिव्यक्ति थियो ।
कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले व्यवसायीहरूबाट पनि सहयोग जुटाएर एयरपोर्ट स्तरोन्नतिको प्रयास हुनु सकारात्मक भएको बताउँदै यसले राजनीतिक तहमा दबाब सिर्जना हुने बताए । साथै आफूले विमान स्थलको स्तर वृद्धिका सवालमा नीतिगत हरेक सवालमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले अब फेरि पनि हवाइ सेवाको नियमितताका लागि व्यवसायीहरूले पहलकदमी चाल्नुपर्ने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले गरेका थिए ।