राजनीतिक सम्भावना कि अवसरवाद

केपी सुवेदी
नेपालमा कम्युनिस्ट पार्टीहरुको कम्युनिस्ट विचार, नीति र कार्यपद्धति अरु क्षेत्रीय पार्टीहरुको जत्तिकै मात्र भए पनि आफूलाई जनवादी अथवा जनताको हितमा काम गर्ने कम्युनिस्ट मात्र हुन् भन्ने भ्रम अहिले पनि दिने कोसिस गरिरहेका छन् ।

परीक्षण नहुँदासम्म यस्ता कुरामा केही बल पनि हुँदोरहेछ भन्ने सग्लो उदाहरण नेपालमै देखिएकोछ तर सत्तामा नजाँदासम्म परीक्षण हुने सम्भावना नभएकोले भ्रमले सफलतापूर्वक सत्तामा सवार हुने अवसर दिलाइ दिएको कुरा सबैमा जगजाहेर नै छ । यतिखेर उनीहरुलाई या त नयाँ बहाना चाहिन्छ या त प्रमुख प्रतिस्पर्धी गम्भीर विभाजनको संघारमा पुगेको हुनुपर्छ । साच्चै भन्ने हो भने नेपालका कम्युनिस्टहरु न त कम्युनिस्ट जस्ता न त लोकतान्त्रिक पार्टी जस्ता । उनीहरु अहिले दुवै नाउमा खुट्टा राखेर सागर तर्ने दाउँमा रहेको देखिन्छ ।

सत्तामा पुगेपछि, राज्यको आर्थिक स्रोतहरुमा हातबढाउन पाएपछि, सुविधा उपलब्ध गरेर उपभोगमा लिप्त भइसकेपछि आफ्नो आधारभूमि बिर्सिदिने, चरम उपभोक्तावादी तर सत्ताबाट ओर्लिएपछि समाजवादी, जनवादी आदित्यादि । वास्तवमा नेपालका कम्युनिस्ट पार्टीहरु व्यक्तिहत्यालाई क्रान्ति भन्ने संज्ञा दिन सफल भए । यथार्थमा उनीहरु चरम अवसरवादी रहेछन् । ढोङ पनि कति खतरनाक गर्दा रहेछन्, अवसरका लागि ? यता कथित जनयुद्धले निर्दोष र निहत्था नागरिकको प्राणली र उता तत्कालीन निरंकुश शासकसँग अधिनायकवादी सत्ताको भागबण्डा गर्न वार्ता गर्ने, आजका पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रका लागि गरेको ढोङ कति खतरनाक थियो ?

अलिकति बलियो भयो भने कम्युनिस्ट भयो क्रान्तिकारी भयो, कमजोर भयो लोकतन्त्रवादी हुन पनि बेर लगाउँदैनन् । पार्टी त मुलीहरुकै कब्जामा जाने रहेछ, लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा त देख्नप¥यो भने कम्युनिस्टमा त शिद्धान्ततः यही नै हो तलबाट अधिकार माथि पठाएर केन्द्रीकृत गर्ने । नमरुञ्जेल पार्टी प्रमुख नफेरिने । नेकपा भन्ने एमाले र माओवादी मिलेर बनेको पार्टी बहुकेन्द्रजस्तै बन्न पुग्यो । शिद्धान्तका हिसाबले बाझिएको कारणले अन्तिममा विघटन हुन पुग्यो । यो कठोरता केवल नेतृत्व कसरी हात पार्ने भन्ने दाउँपेचले उत्पादन गरेको देखिन्छ । अधिवेशनको मौसम फेरिएको छ ।

त्यसैले त्यसको विवेचनात्मक टिपणी असान्दर्भिक हुन थालिसक्यो । त्यसैले अबको निर्वाचनमा कस्तो अवसर छोपेर फेरि सत्ताको फन्को मार्न पाइन्छ भन्ने चटारो उठिसकेको छ । कम्युनिस्टको लोगो समातेर सत्तामा जाने अवसरको खोजिमा प्रचण्ड–माधवहरु लागिरहेका देखिन्छन् । उता नेकपा एमालेको नेतृत्व एकलौटी गराउन पाएकोमा दङ्ग परेका अहङ्कारी नेता केपी ओली सरकार छोड्न परेको पीडाले बेला–बेला उत्ताउलिन्छन् । अरुबाट सिक्नै नपर्ने आपूmले जे गर्दा पनि हुने कुण्ठाले ग्रस्त बनेका ओलीले एक सिजन संसद् अवरुद्ध गरेर प्रतिपक्ष भूमिकामा पनि सर्वसत्तावादी सिद्ध भएका छन् ।

केपी ओलीले सत्तामा रहेर के–के गरेछन् भन्ने घटनाहरु सार्वजनिक हुन थालेका छन् तर पनि ओलीलाई अलिकति लाज वा अनैतिकता बोध हुन नसक्नु दुःखद् कुरा हो । ओलीले विक्रि गरेका सांस्कृतिक धरोहरहरु पक्कै पनि मोटो कमिशनको लागि गरिएका हुन सक्छन् तर यथार्थ पत्ताल गाउन अहिलेको सरकारलाई आफ्नो औचित्य सिद्ध गर्न मात्र पनि जरुरी छ । धेरै विकृति बोकेर सत्ताबाट बाहिरिएका ओलीलाई अझै पनि आउँदो निर्वाचनमा बहुमत ल्याउने दुःस्वप्नमा छ ।

संसदीय व्यवस्थाको सबैभन्दा ठूलो दल सरकारमा बसेका बेला सरकारी सम्पत्ति हिनाबिना गरेको छ तै पनि भनिरहेको छ । हाम्रो पार्टीमा कोही भ्रष्टाचारी छैन । आफूले टीका लगाएर छानेका मानिस राखेर पार्टी चलाउँछन् । भन्छन्, यो महाधिवेशन हो र हामी लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौँ । एक सिजन संसद् अवरोध गरेर आफूलाई संसद्वादी भनेर मजाक गरिरहन्छन् । त्यसैले छद्मभेषी राजनीति गर्दछन्, ओली, प्रचण्ड, माकुने । फेरि कुनै दिन उनीहरु एकै ठाउँ हुन सक्छन् । कांंग्रेस सतर्क नभए जहिले पनि धोका दिनेछन्, अघिल्लो चुनाव–चुनावी तालमेलको बहानामा कांग्रेसलाई धोका दिएकामध्ये केही व्यक्ति अहिले मुख्य साझेदार बनेका छन् ।

संयोग कस्तो छ भने यस पटक नेकपा एमालेबाट फुटेर बनेको नेकपा समाजवादी माधवकुमार नेपाल नेतृत्वको पार्टी र प्रचण्डको नेकपा माओवादी केन्द्र कांग्रेससँगै सरकारमै छन् । यसैबेला स्थानीय तहको निर्वाचन नजिकिएको छ । अहिलेको संविधान अनुसार निर्वाचन समयमै सम्पन्न गरेर पुरानाको पदावधि सकिनेबित्तिकै नयाँ निर्वाचितहरुले पदभार ग्रहण गर्ने व्यवस्था भएकोले निर्वाचन कुनै पनि बहानामा पर धकेल्न पाइंदैन । कांग्रेसका सत्तासा झेदारहरु चुनाव परसार्ने दाउमा देखिन्छन् ।

या त गठबन्धन चुनावी सरकार भएमा चुनावमा तालमेल गर्नुपर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदैआएको बुझिन्छ तर पार्टीभित्र कसैसँग पनि गठबन्धन गर्नु कांग्रेसको अहितमा छ, त्यसैले चुनाव सम्पन्न गर्ने जिम्मेवारी गठबन्धनको भए पनि चुनावमा पार्टी एक्लै जानुपर्छ भन्ने धारणा सार्वजनिक रुपमा व्यक्त भइरहेको छ । पार्टीभित्रको दबाबले प्रधानमन्त्री निर्धारीत समयमा निर्वाचन गराउन तयार भएका छन् र कांग्रेस चुनावमा कसैसँग तालमेल नगरेरै जानसक्ने बढी सम्भावना देखिएको छ तर राजनीतिक विश्लेषकहरु अर्को सम्भावना देखिएकोले प्रधानमन्त्री शेरबहादुर देउवा द्विविधामा देखिएका हुन् भन्ने गर्छन् ।

राजनीति भनेको सम्भावनाको खेल भन्छन् र हुन्छ पनि त्यस्तै तर सम्भावना भन्दैमा केही सीमा ख्याल गर्नै नपर्ने हो त ? अहिले चुनावी चर्चासँगै समीकरण तथा तालमेलहरुको चर्चा स्वतः हुने गर्छ । यही सम्भावनाको चर्चासँग चुनावी तालमेलको प्रसङ्ग जोडिएको छ । यदि अहिलेका कांग्रेससँग सत्ता साझेदार दल नेकपा समाजवादी र नेकपा माओवादी केन्द्र भर्खरै सरापेर छोडेका केपी ओलीको नेतृत्वको नेकपा एमालेसँग मिल्न सक्छन् भनिन्छ ।

यस्तै नैतिकताहीन मिलन र विछोडको सम्भावना हुने भएर राजनीति सम्भावनाको खेल भयो होला । त्यस्तो अनैतिक मेल भयो भने के हुन्छ र कसले किन पि रमान्ने वा के–के न गुम्यो भनेर चिन्ता किन गर्ने ? किनकि त्यो भएछ भने धेरै दिन हुने होइन । यो कुरा काल्पनिक होइन स्वयम् सिद्ध छ तर दुर्भाग्य के हो भने विकास र समृद्धिको बाटो फेरि केही समय अवरुद्ध हुन्छ । त्यसले लोकतन्त्र र गणतन्त्रमाथि थप संक्रमण बढ्नसक्छ । तैपनि उपाय अरु छैन, कम्युनिस्टहरु शब्दमोहबाट बाहिर ननिस्किएसम्म देशको हालत यस्तै हुने सम्भावना छ । कसैले एक्लै बहुमत ल्याउने घुर्कीले चुनाव प्रभावित गर्ने चेष्टा गर्दैछन् त कसैले कतैको इसारा खोजेझैँ गरेर तर्साउन खोजे पनि कांग्रेस एक्लै सक्षम छ ।