छिल्लीकोटको आँगनमा अदुवाका विस्कुन

खेमराज रिजाल

छिल्लीकोट (दाङ),२० माघ । मौसमजस्तै अँध्यारो मन बोकेर तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटकी हरिकला पुन आँगनमा अदुवा सुकाइरहेकी छिन् । अदुवाले भाउ पाएन, सुठो बनाउने मन लाग्यो । बोक्रा निकालेका अदुवाको विस्कुन आँगनभरी छ, तर मौसमले पनि यो बर्ष साथ दिएको छैन । माघ तेस्रो सातासम्म पनि राप दिने घाम नलाग्दा अदुवा सुकेर सुठो बनाउन पनि सास्ती भएको छ, हरिकलालाई ।

‘अदुवाले भाउ पाएन, अब सुठो बनाएर बेच्ने भन्या छौं, तर घाम नलागेर अदुवा सुकाउनै हैरान भएको छ’, हरिकलाले भनिन् । एक बोरा सुकिसकेको छ, अरु कति हुन्छ सुकेपछि मात्रै अनुमान हुने हरिकलाको बुझाइ छ । नसक्दै कति हुनेहो भन्नै सकिन्न । अदुवा लिन पोहरसाल व्यापारीहरु गाडी लिएरै छिल्लीकोटमा आउँथे । तर यसपालि भाउ बुझ्न मात्रै व्यापारीहरु आउने गरेको हरिकलाले बताइन् । ‘क्वीन्टलको ३ हजारमा पनि बिकाउन सकेनौं, त्यसैले सुठो बनाएर घोराहीमा लगी व्यापारीलाई दिने योजनामा छौं, सुठो बनाएपछि त अदुवा कुहिएर जान पाउँदैन’, हरिकलाले भनिन् । हरिकलाको परिवारको हिउँदे आम्दानी भनेकै अदुवा खेती थियो । तर फसल दिएसकेको अदुवाले बजार नपाउँदा उनको मन उज्यालो भएको छैन ।

छिल्लीकोटकै अर्का स्थानीयबासी पूर्ण पुनको अदुवा पनि बारीमै छ । खने भाउ पाउँदैन, खनेर सुकाउने फुर्सद मिलेको छैन उनलाई । उनी पनि अब अदुवा खनेर सुठो बनाउने बताउँछन् । सुठो बनाउन पनि कम्ती सास्ती भने छैन । अदुवा खनेर बोक्रा फालेर सुकाउनै कम्तीमा साता दिनभन्दा बढी लाग्छ । अदुवाको भाउ खस्केको जस्तै सुठोको भाउ पनि अहिले खस्केको छ ।

परबीर भन्छन्– ‘पोहरसाल ८ हजार रुपैयाँ प्रतिक्वीन्टलमा बिकेको अदुवा अहिले २ हजार ५ सयमा पनि बिक्न सकेको छैन ।’ सुठोको भाउ पनि निकै तल झरेको व्यापारीहरुले बताइरहेको पूर्ण पुनले बताए । पोहरसाल प्रतिक्वीन्टल ८५ हजार रुपैयाँमा सुठो बिक्ने गरेको थियो तर यसपाली घोराहीका अदुवा व्यापारीले १८ हजार रुपैयाँ प्रतिक्वीन्टलभन्दा माथि भाउ नगएको बताएका छन् रे । सुठो बनाएर पनि किसानलाई मेहनेतको खर्च उठ्ने देखिँदैन ।

भाउ बढ्ने आशामा छिल्लीकोटका ५० प्रतिशतभन्दा बढी किसानले अदुवा बारीमै छाडेका छन् । खनेर भित्र्याएका छैनन् । ‘भाउ केही बढी पाउँला भनेर बारीमै राखेका छौं’, छिल्लीकोटकै अर्का किसान परबीर पुनले भने । परबीरले पोहरसाल मात्रै अदुवा बिक्रीबाट ५० हजार रुपैयाँभन्दा बढी कमाएका थिए, तर यसपालि एक क्वीन्टल पनि बेचेका छैनन् । माघ महिनाभरी अदुवा बिक्रीको सिजन हो, तर छिल्लीकोटका किसानहरुले अदुवाको भाउ यति साह्रै कम भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

छिल्लीकोट क्षेत्रमा करिब डेढसय घरधुरी बसोबास गर्छन्, ती सबैको नगदेवाली भनेको यो सिजनका लागि अदुवा मात्रै हो । अन्य कृषिउपज घरमै खान पुग्दैन । तर अदुवा नबिक्दा यहाँका प्राय सबै किसानहरु चिन्तित छन् । उनीहरुले यो बर्ष अदुवा राम्रो फलाउने भनेर उन्नत जातको अदुवा किनेर रोपेका थिए । ‘एक क्वीन्टलको १० हजार रुपैयाँमा बीउ किनेर अदुवा रोपेको थिएँ, तर यसै बर्ष अदुवाले भाउ नपाउँदा निकै नोक्सानी भएको छ’, स्थानीय किसान परबीर पुनले भने । गाउँभरी कम्तीमा ५ सय क्वीन्टल जति अदुवा उत्पादन हुन्छ ।

गाउँलेहरुले पशुचौपाया र स्याउलाको मल प्रयोग गरेर अदुवा उत्पादन गर्दै आएका छन् । उनीहरुले अहिलेसम्म १ किलो रसायनिक मल पनि आफ्ना बारीमा हालेका छैनन् । परम्परागत जैविक खेतीमा उनीहरुको विश्वास छ । तर अर्गानिक अदुवाले नै बजार नपाएपछि उनीहरुको गुनासो बजारका बिचौलियाहरुप्रति पनि छ । घोराही तुलसीपुरमा उपभोक्ताका रुपमा बुझ्दा अदुवाको उपभोक्ता मूल्य प्रतिकिलो ८० रुपैयाँ देखि १ सय रुपैयाँसम्म छ ।

तर छिल्लीकोटमा ३० रुपैयाँ प्रतिकिलो पनि बिक्री हुन नसक्दा यसलाई गाउँलेहरुले बिचौलियाको बिगबिगी पनि भनेका छन् । आफूले उत्पादन गरेका अदुवा बारीमै सडाइदिने र भारत लगायतका अन्य मुलुकबाट अदुवा ल्याएर महंगोमा अदुवा उपभोक्तालाई बेच्ने बिचौलियाहरुप्रति छिल्लीकोटबासीको धेरै गुनासो छ । उनीहरु यो गुनासो लिएर स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकामा पनि पुगे । तर बजारीकरणको कुनै प्रबन्ध भएको छैन ।

पोहरसाल मालागेडीले ठगेको थियो, छिल्लीकोटलाई । मालागेडीमा फुल खेल्दै गर्दा गएको चैत महिनामा परेको असिनापानीले मालागेडीको फुल झारेर करीब आधाजति उत्पादन घटेको थियो । जति उत्पादन भए पनि बजार भाउको समस्या नभएको मालागेडीको उत्पादनमा प्रकृतिले धोका दियो । बार्षिकरुपमा कम्तीमा पनि ६ सय क्वीन्टल मालागेडी उत्पादन हुने छिल्लीकोटमा यो बर्ष करीब २ सय क्वीन्टल मात्रै मालागेडी फलेको थियो । यसपालिको अदुवाबाट कमाउने आशामा रहेका छिल्लीकोटका किसानलाई अदुवा व्यापारका बिचौलियाले ठगेको बताएका छन् ।