बालाराम खड्का
तुलसीपुर, २० माघ । यहाँका महिलाहरुले जग्गा भाडामा लिएर बेसार खेती गर्ने गरेका छन् । २०६५ सालमा तुलसीपुर–३ दमारगाउँमा गठन भएको पुष्पाञ्जलि महिला समितिले विगत केही बर्षदेखि जग्गा भाडामा लिएर सामूहिक बेसार खेती सुरु गरेको संस्थाकी सचिव रेश्मी वलीले बताइन् ।
बार्षिक १२ हजारमा ८ कठ्ठा जग्गा भाडामा लिएर बेसार खेती गर्दै आएका महिलाहरुले राम्रो आम्दानी हुने गरेको बताउँछन् । सामूहिक काममा मिलेर गर्न सके जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण ती महिलाहरुले देखाएका छन् । बाहिरबाट बेसार आयात भइरहेको समयमा उनीहरुले गाउँमा नै बेसार खेती गरेर केही हदसम्म बेसारको आपूर्तिमा कमीसमेत गरेका छन् ।
२०६८ सालदेखि महिलाहरु मिलेर सुरु गरेको बेसार खेतीबाट बार्षिक ३०÷३२ क्वीन्टल बेसार उत्पादन गर्ने गरेको उनीहरु बताउँछन् । विगतका वर्षहरु २०÷२२ क्वीन्टल उत्पादन भएको वेसार यो वर्ष भने उत्पादन वृद्धि भएको छ । यो बर्ष करिव ३०÷३२ क्वीन्टल बेसार उत्पादन भएको संस्थाका सचिव वली बताइन् । बिगतका वर्षमा प्रतिकिलो ५० रुपैयाँमा विक्री गर्दै आएको बेसार यो वर्ष भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्ने समूहको निर्णय छ । उनीहरुले उत्पादन गरेको बेसार सहजरुपले विक्री हुने गरेको छ । बेसार बिक्रीका लागि कहिँकतै जानु नपर्ने र गाउँबाटै सहजरुपले विभिन्न व्यक्तिले किने र लैजाने गरेका छन् ।
फुसदको समयलाई सदुपयोग गरी बेसार खेती गरेको र सोबाट आउने आम्दानी संस्थामा जम्मा गर्ने र महिलाहरुले घरमा खानका लागि पनि बेसार प्रयोग गर्ने गरेको सचिव वलीले बताइन् । ‘हामीहरु अहिले बेसार केलाउन भ्याइँ नभ्याइँ छ, उत्पादन भएको केही बेसार हामीले प्रयोग गर्ने गरेका छौं भने केही बिक्री हुन्छ’, उनले भनिन् । महिला समितिमा २५ जना महिलाहरुले हाल उत्पादन भएको बेसार खनेर त्यसलाई केलाउन सुरु गरेको उनले बताइन् । उनले आफूहरुले केलाउन नपाउँदै बेसार बिक्री हुने गरेको बताइन् ।
खेतीसँगै समितिका महिलाहरु विभिन्न सामाजिक काममा पनि सक्रिय भएर लगानी लगाउने गरेका छन् । त्यस्तै खेतीबाट भएको आम्दानीले समाजमा हुने विभिन्न कार्यमा सहयोग पनि गर्ने गरेका छन् । उनीहरुले तुलसीपुर–३ को पातुखोलामा २०६९ सालमा करिब १० लाख रकम खर्च गरेर मलामी विश्रामघर र शौचालय समेत बनाएका छन् । त्यस्तै असहाय दुःख–बिरामी परेकालाई सहयोग पनि सोही आम्दानीबाट गर्ने गरेका छन् ।
गत बर्ष कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि टोलमा माक्स सावुन वितरणदेखि अन्य सहयोग पनि गरेका थिए । पुष्पाञ्जलि महिला समूहमा आवद्ध भएका महिलाहरु आत्मनिर्भर बन्नुका साथै सामाजिक कार्यमा समेत अग्रसर छन् । समाजमा हुने हरेक सामाजिक कार्यमा उनीहरु सक्रिय रहने गरेका छन् ।