आस्था र विश्वासको धरोहर जीवन

नारायणप्रसाद श्रेष्ठ

मानव जीवन आस्था र विश्वासको प्रतिमूर्ति हो । जहाँश्रद्धा, आस्था र विश्वास हुन्छ त्यहाँ भरोसा र जीवन हुन्छ । एकअर्काप्रति भरोसा र विश्वास भएर नै मानव जीवनले समयसापेक्ष आफूलाई गतिशील बनाएको हुन्छ । यति मात्र होइन सृष्टिचक्रको इतिहासमा बुद्धिमान र उत्कृष्ट रचना भएर आफूलाई प्रस्तुत हुने वातावरण पनि बनाएको हुन्छ ।

विश्वासको बलियो जग भएर नै मानिसले आफूलाई उच्च कोटीको प्रमाणित गर्न सक्षम भएको पाइन्छ । तसर्थ, निरन्तर गतिशील भइरहने समयको गतिसँगै अघि बढेको जीवनको उद्देश्यलाई बुझेर आफू र आफ्नो परिवेशलाई विश्वासको बलियो आधार तयार गर्ने जीवन र जगतलाई बुझ्ने कोसिस गर्नुपर्छ ।

पौराणिक इतिहासमा पाइएका हाम्रा ऋषिमुनिहरुले गरेको जप, तप, ध्यान तथा विश्वास र आस्थाका कारण स्थापित सत्यलाई ज्ञानीहरुले जसरी जीवनसँग एकाकार गर्दै जीवनको महत्वबारे बुझ्ने बुझाउने कोसिस गरेका थिए, आफूभित्रको आत्मातत्वलाई व्यावहारिक जीवनशैलीमा परिवर्तन गरी दृढइच्छाशक्ति प्रदर्शन गर्न सक्षम भएका थिए ।

त्यसरी नै भोग, प्यास, तृष्णा मानव जीवनलाई लोभ, मोहमा फँसाउने भौतिक सत्य हुन् भन्ने बुझी सत्यको यथार्थ पहिचानसँगै जीवनलाई उन्मुक्त वातावरणमा अघि बढाउने चिन्तन गर्नुपर्छ । यसको लागि विश्वास र भरोसा जीवन हो र जीवनको उद्देश्य सहयोग र सद्भाव हो भन्ने ठानी आफूलाई प्रस्तुत गर्नुपर्छ । एउटा झुठले अनेक झुठको सिर्जना गर्ने सत्यलाई बुझी झुठ, अहंकार उत्पन्न गराउन खोज्ने आशक्तिप्रति सतर्क रही प्रत्येक आत्मतत्वभित्र रहेको विश्वासको धागोलाई मजबुत बनाउनुपर्छ ।

विश्वास भएर नै जीवनले सहज गति लिन सकेको हुन्छ । एकअर्काप्रति सद्भाव कायम गर्न सफल भएको हुन्छ । त्यसैले लक्ष्य परिपूर्ति गर्ने दृढता नै जीवन हो भन्ने बुझी भौतिक आशक्तिले ल्याउने गुण र दोषको वर्गीकरण गरी गुणात्मक र सिर्जनात्मक प्रतिभाको आचरण गर्दै विश्वास र भरोसालाई मानवहीत अनुकूल अनुशरण गर्ने गराउने दृढइच्छाशक्ति जागृत गराउनुपर्छ । गुण र स्वभावमा आउने फरक अनुभूतिलाई बुझी आफूलाई विश्वासयोग्य बनाउनुपर्छ ।

फूलको स्वभाव सुवाष दिनु हो, काँडाको स्वभाव घोच्नु हो । गुलावको फूल जसरी काँडाभित्र हुर्की सुवास दिइरहेको हुन्छ त्यसरी नै जीवनको सत्य पनि आरोह, अवरोह, दुःख, कष्ट सहँदै सुखानुभूति गरिरहेको हुन्छ र एकअर्काप्रति श्रद्धा र विश्वास बढाइरहेको हुन्छ, तीतोसत्यको अनुभवसँगै आत्मसन्तुष्टिको परिस्थिति बनाइरहेको हुन्छ । त्यस कुरालाई कहिल्यै बिर्सनु हुँदैन ।

जसरी फूल र काँडाको समिश्रणसँगै आफूलाई तीतोसत्यको अनुभूति गराउँदै त्यसभित्रको गुणात्मक क्षमताको प्रदर्शन गर्न जसरी फूल सक्षम भएको हुन्छ त्यसरी नै मानव अन्तरआत्माभित्र रहेको गुणात्मक सत्यलाई प्रदर्शन गर्न गराउन सक्नुपर्छ ।

गुणात्मक आचरण भनेको आस्था र विश्वासको कसौटीमा निखारिएको स्वभाव हो । जसले आफूभित्रको प्रतिभासँगै मानवीय गुण र क्षमतालाई समयको परिवर्तनसँगै परिमार्जित गर्दै सुवास छरिरहेको हुन्छ । हुन त मानव स्वभावमा देखिने विचलनलाई हेर्ने हो भने भौतिक विलाषीले ल्याएको परिवर्तनसँगै हुर्केको मानव चिन्तन र गुणले आफू अन्तरनिहित गुणात्मक प्रतिभालाई छोडी अरुको देखासिकी र आदर्शलाई पञ्छाउँदै भड्किने गरेको पनि पाइन्छ ।

मृगतृष्णाझैँ मृगले आफूभित्रको सुगन्धित विणा आफूभित्र नखोजी बाहिरी जगतमा भड्किरहेको हुन्छ भनेझैँ मानव मन, जसले अन्तरसत्यलाई बुझेर पनि वाह्य क्षणिकतामा भड्किरहेको हुन्छ । अञ्जान भइ विभिन्न क्षेत्रमा भौँतारिएको हुन्छ, कुरा बुझेर पनि वातावरणको प्रभावले ज्ञान शून्य भएर रहेको हुन्छ, विश्वास र अविश्वासको भुमरीमा आफै छटपटिरहेको हुन्छ । त्यसको गहिराइलाई बुझ्न जरुरी हुन्छ । तसर्थ, त्यसको शुद्धिको विधिद्वारा मानव अन्तरनिहित सत्यको पहिचान गरी ज्ञानको पवित्र गंगाले स्नान गर्दै आफ्नो हरेक कर्म र व्यावहारिक जीवनलाई विश्वासको बलियो धरातल निर्माण गर्न सधैँ चिन्तित भइरहनुपर्छ ।

स्थान विशेष वा व्यक्तिको सेवाभाव दर्शाउने क्रममा यदि कतै मन भड्किएको छ भने त्यसको खोजविन गरी मनलाई दृढसंकल्प र योगाभ्यासद्वारा एकाग्र गराउँदै अघि बढ्ने हिम्मत राख्नुपर्छ । समस्याको समाधान म स्वयम् हुँ भन्ने इच्छाशक्ति जागृत गर्दै तमोगुणी संस्कारबाट उत्पन्न हुने व्यर्थको संकल्पलाई तिलाञ्जली दिनुपर्छ । स्थिर र अटल विश्वास र भरोसाका साथ आफ्नो अन्तरहृदयभित्रको गुणलाई प्रत्यक्षतः गर्न सक्नुपर्छ । तब मात्र मानव जीवनको गतिमा आत्मविश्वास बढ्न गइ सत्यमा आधारित विश्वासको महल तयार हुनसक्छ ।

यदि मानव आत्माले मानवीय गुण र आचरणलाई पहिचान नगरी देहअभिमान स्वरुप भौतिक सुख, सम्पत्तिको मोहमा आफूलाई समाहित गर्छ भने निश्चित रुपमा त्यहाँ कमजोर परिस्थिति जन्मनसक्छ । अर्को कुरा भावावेषमा क्षणिक आशक्ति जगाइ मपाइको अवस्था सिर्जना हुन्छ भने त्यसले ल्याउने परिणाम भयानक हुने निश्चित हुन्छ । तसर्थ, यस कुरालाई कहिल्यै बिर्सनु हुँदैन । किनकि प्रत्येक आत्माले स्वतन्त्र भएर कर्म गर्न चाहेको हुन्छ ।

विश्वास र भरोसाको माध्यम कुनै विघ्न बाधाबिना जीवनको उद्देश्य हासिल गर्न आफूलाई प्रस्तुत गरिरहेको हुन्छ । बाटोमा आउने व्यवधानलाई पञ्छाउँदै तन र मनमा एउटै भाव जागृत गरेको हुन्छ । प्रकृतिको नियमसँगै आफूलाई प्रस्तुतु गरिरहेको हुन्छ । तसर्थ, यिनै कुरालाई मध्यनजर गर्दै परिस्थितिलाई आँकलन गर्नसक्ने क्षमता प्रदर्शन गर्न कहिल्ये कञ्जुस्याइ गर्नु हुँदैन ।

प्रकृतिको नियम आफैमा सत्यमा आधारित हुन्छ । समय र परिस्थितिले वातावरणमा जस्तै उतार चढाव ल्याए पनि यसको गतिमा कहीँकतै कुनै कैफियत देखिँदैन । वर्षापछि हिउँद, हिउँदपछि वर्षा यो सधैँ निरन्तर चलिरहन्छ । त्यस्तै मानव चाहना पनि त्यसरी नै गतिशील भइरहने हुँदा यस कुरालाई बुझ्न सक्नुपर्छ ।

ममा आउने अहंकारी प्रवृत्ति आफ्नो गन्तव्यलाई दूषित वातावरण बनाउने परिदृश्य हो भन्ने ठानेर आशाको किरणभित्र बाँचेको जीवनको सपनालाई ज्ञानको ज्योतिले प्रज्ज्वलित गर्नु पर्छ । आफूलाई सदा हर्षित गराइ सधैँ हँसिलो र विश्वासयोग्य रहनुपर्छ । आफूभित्रको दिव्य गुणलाई पहिचान गरी मायाको छायाँले ल्याउने हलचललाई त्याग्न सक्नुप