नेपाल आउने पिलेनमा बस्दा …

‘वैदेशिक रोजगारमा म १४ महिनासम्म कतारमा बसे । त्यसपछि म नेपाल फर्कने विचारले २ वर्षको बसाई छोट्यार नेपाल आउने निधो गरेँ । राती भागेर कतारको एयरपोर्टसम्म आएँ । एयपोर्टमा मलाई पुलिसले रोक्छ कि भन्ने डर लागिरहेको थियो तर लास्ट इन्ट्री पोर्टबाट म पिलेनमा छिरे । त्यसपछि म खुसी भएँ । कतार एयरपोर्टमा नेपाल आउने पिलेनमा बस्दा मेरो लागि जीवनको पहिलो खुसी थियो’, तुलसीपुर–९ निवासी दीपक काफ्लेले भने, ‘यो नै मेरो जीवनको पहिलो खुसी थियो, त्यही नै पहिलो खुसी लेखिदिनुहोला ।’

सानैदेखि व्यवसाय गर्नुपर्छ भन्ने सोच उनीमा थियो । उमेरले २४ काटेमा युवा व्यवसायी तथा आहा तुलसीपुर अभियानका संयोजक दीपक काफ्ले सानो उमेरमा धेरै संघर्ष गरे । उनी नेपालसँगै विदेश समेत पुगेर काम गरे । उनले १४ महिनाको विदेश बसाईले धेरै कुरा सिकाएको बताए । पटक–पटक व्यापार व्यवसायमा असफल भएका काफ्ले असफलतापछि सफलता हात पर्ने भन्दै विदेशमा पनि आफूले राम्रो आम्दानी गर्ने भए पनि नेपालप्रतिको मोह भने हराएन । स्वदेशमै केही गर्छु भनेर आफूले मासिक ५०÷६० हजार कमाई छोडेर नेपाल आएर व्यवसायसँगै समाज सेवा गर्न पाउँदा खुसी मिल्ने गरेको सुनाए ।

विसं २०५४ साल असार ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ नयाँबस्तीमा बुबा घनश्याम काफ्ले र आमा सावित्रा काफ्लेका जेठा छोरा दीपकले काठमाडौंमा विभिन्न व्यवसाय सुरु गरेको र घाटा लागेपछि विदेशिनु परेको सुनाए । ‘प्लस टु’ पढ्ने समयमा २ लाख रूपैयाँ लगानी लगाएर काठमाडौंको जोरपाटीमा रेष्टुरेण्ट सञ्चालन गरेको र व्यवसाय सञ्चालन गरेको ६÷७ महिनापछि चलाउन नसकेर बन्द गरेको सुनाए । ‘कक्षा १२ पास गरिसकेपछि उनले तीन लाख लगानी लगाएर काठमाडौंमा पार्टनरसिपमा गार्मेन्ट खोले र ८÷९ महिना चलाए । त्यसपछि त्यो गार्मेन्ट पनि चलाउन सकेन र डुब्यो’ उनले भने ।

उनले विदेशमा १४ महिना कमाएर आफूले ऋण तिरेपछि अब नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्केको बताए । ‘अन्य व्यक्तिहरू कमाउन विदेश जान्छन् तर मलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो’, उनले भने । नेपाल आएर आफ्नो जन्मथलोमा व्यापार तथा समाज सेवा गर्न पाएको छु, यही नै मेरो खुसी हो’, उनी भन्छन् । त्यस्तै काफ्लेले अर्को खुसी तुलसीपुरमा आएर आहा तुलसीपुर अभियान सञ्चालन गर्न पाउँदा खुसी लागेको सुनाए । विदेशबाट व्यवसाय गर्नको लागि डायरीमा विभिन्न प्लानहरू, मार्केटिङहरू कसरी गर्न सकिन्छ, विजनेस कसरी गर्ने, तुलसीपुरको समस्या के हो ?

जस्ता धेरै प्लानहरू बनाएर आएको र तुलसीपुरमा आहा तुलसीपुर अन्तर्गत् पातुखोला सरसफाई सुरु गरेको भन्दै त्यो अभियान सफल भएपछि विभिन्न सामाजिक काममा लागेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै तुलसीपुरमा विभिन्न युवाहरूसँग मिलेर अन्य सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुसी मिलेका सुनाए । उनले तुलसीपुर उपमहानगरपालिकामा फोहर संकलनमा लागि करिब साढे ३ सय बढी डस्टविन वितरण गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । उनले त्यो सँगै कोभिड–१९ को संक्रमणको समयमा विभिन्न व्यक्तिहरूलाई राहत वितरणदेखि कोभिड–१९ को संक्रमण रोकथाममा सहयोगी भूमिका खेल्न पाउँदा खुसी लागेको सुनाए ।

त्यस्तै अहिले तुलसीपुरमा रानीकेक बनाउन सुरु गरेको र त्यो व्यवसाय फस्टाउँदा आफू खुसी भएको सुनाए । ‘धेरे युवाहरू आधा करोड, एक करोड लगाएर विदेश जानुहुन्छ, त्यो पैसा यहीँ लगाउन सके यहीँ अमेरिका, जापान छ’, उनले भने । उनले अहिले विभिन्न व्यवसाय गरेर यहीँ अमेरिका, जापानमा हुने आम्दानी गर्न सकेको भन्दै खुसी व्यक्तगरे । साथीहरूलाई सम्पर्क गरी छलफल गरेर आहा अभियान सुरु गर्दै युवा उद्यमशीलताको बाटोबाट रानीकेक, भट्टराई बाजेको पेडा पसल, ब्ल्याक डाइमण्ड फिल्म् भिडियोग्राफिक, काका क्यान्टिन सञ्चालन गरेर युवाहरू पनि राम्रो व्यापार गरेको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै तुलसीपुरमा फूल खेती गरेका दीपकले फूल खेतीबाट आम्दानी र आफूहरूले उत्पादन गरेको फूलको माग धेरै हुँदा पनि खुसी भएको सुनाए । ‘युवाहरूलाई कृषिमा लगानी गरेर कसरी उद्यमशील बनाउन सकिन्छ भन्नेमा हामी लागेका छौँ, हामीले फूल खेती गर्दा कसैले पनि यसबाट नाफा होला भन्ने मान्नुभएको थिएन तर हामीले त्यसबाट धेरै आम्दानी गरेका थियौँ त्यो पनि मेरो जीवनमा अर्को खुसी हो’, उनले भने ।

त्यस्तै उनले आफू व्यापार व्यवसायबाट आम्दानी गर्न नसक्दा निराश भएको र काठमाडौंमा बस्दा एकजना दिदीले नारायणप्रसाद वाग्लेद्वारा लिखित किताब बढ्न दिएको र त्यसबाट धेरै सकारात्मक ज्ञान पाएको भन्दै खुसी व्यक्त गरे । ‘त्यतिबेला मसँग किताब किन्ने पैसा पनि हुँदैनथ्यो, एक जना दिदीले दिएको त्यो किताबले मेरो जीवन नै फेरियो, त्यो किताब मैले ध्यान लगाएर पढेँ, म त्यसमा पनि खुसी छु’, उनले भने ।

काफ्लेले अहिले विभिन्न व्यक्तिहरू युवाहरू आफूसँग सहयोग र सल्लाह सुझाव लिन आउने गरेको भन्दै आफूले युवाहरूलाई जानेको र सक्ने सहयोग गर्न पाउँदा धेरै खुसी लागेको सुनाए । ‘मैले यसलाई यति सहयोग गरे भनेर त भन्न अलि सकिँदैन तर धेरैलाई मैले सहयोग गर्न पाएको छु, म त्यसैमा खुसी छु’, उनले भने । व्यवसायी दीपकले अहिले कुनै समस्या पर्दा २÷३ लाख रूपैयाँ आफूले सजिकै ऋण–कर्जा पाउने गरेको र साथीभाइ, घरपरिवारको सहयोगले आफूहरूले सञ्चालन गरेका व्यवसायहरू सफल हुँदा खुसी लाग्ने गरेको सुनाए ।

                                                                                            प्रस्तुती : बालाराम खड्का