दाङ कांग्रेस कोभिड सचेतना अभियानमा

गोरक्ष समाचारदाता
तुलसीपुर, १७ माघ । सहिद दिवसको अवसर पारेर नेपाली कांग्रेस दाङले कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

सहिद दिवसकै दिन नेपाली कांग्रेस दाङले पश्चिम दाङको बबई गाउँपालिका हापुरेमा मास्क वितरण तथा स्वास्थ्य सावधानीका विषयमा विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरेको छ । त्यसैगरी तुलसीपुरमा पनि नेपाली कांग्रेसले विपीचोकबाट तपाईको मास्क खोई भन्दै कोभिडविरुद्धको सचेतना अभियान र मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

मास्क वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, सचिवद्वय अर्जुनकुमार योगी र बालिका लम्साललगायत जिल्ला कार्यसमिति सदस्यहरु, तुलसीपुर उपमहानगर समिति नेपाली कांग्रेस सभापति सुरेश हमाल तथा कार्यसमितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय समितिका प्रतिनिधिहरुलगायतको सहभागितामा मास्क वितरण तथा कोभिड विरुद्धको सचेतना अभियान सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले सरकारले चाँडै आम नागरिकलाई दोस्रो डोजसँगै बुष्टर डोज पनि लगाइसक्ने तयारी गरेको बताउँदै खोप लगाए पनि स्वास्थ्य सावधानी अपनाउन आम नागरिकहरुलाइ आग्रह गरे । सबै नागरिकलाई पुग्ने गरी सरकारले खोप ल्याइसकेको जनाउँदै उनले स्वास्थ्य सावधानीका सन्दर्भमा हेलचक्रयाइँ नगर्न पनि सबैलाई आग्रह गरे ।

कोरोना भाइरसविरुद्धको सचेतना अभियान जिल्लाका सबै पालिकाका एक सयवटै वडामा सञ्चालन गरिने पनि नेपाली कांग्रेस दाङले जनाएको छ ।