वडातहबाटै संगठन बलियो बनाऊ : नेता गिरी

गोरक्ष समाचारदाता
तुलसीपुर,१७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले संस्थागतरुपमै वडा तहबाटै पार्टी संगठन बलियो बनाउन जरुरी रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँमा आइतबार वडा पार्टी कार्यालयको शिलान्यासपछि सम्बोधन गर्दै नेता गिरीले वडा नै कांग्रेसको जग भएको भन्दै वडामा बलियो जग निर्माण गर्न सके मात्रै देश भर कांग्रेस बलियो बन्ने आधार तय हुने बताएका हुन् । उनले वडाको नक्सांकन गरी वडाबासी सबैको रेकर्ड सार्वजनिक स्थलमा राख्न वडा इकाई समितिलाई आग्रह गरे ।

त्यसैका आधारमा कुन गाउँमा वडाको अवस्था के छ ? कहाँ कस्तो विकास चाहिएको छ भनेर योजना बनाउन सहज हुने उनले बताए । ‘मैले पार्टीमा के स्थान पाउँछु वा म हुन्छु कि हुन्न भन्ने सोच नपाल्नुहोस्,’ नेता गिरीले भने– ‘म नभए पनि कांग्रेसको प्रतिनिधित्व हुन्छ भन्ने सोच राखेर संगठन निर्माणमा लाग्नुहोस् । तपाईको योगदानको एक दिन अवश्य मूल्यांकन हुनेछ’ गिरीको भनाइ थियो । नेपाली कांग्रेस कमजोर हुँदा देशमा लोकतन्त्र मात्रै कमजोर नभई विकास र परिवर्तन समेत सम्भव नहुने भन्दै नेता गिरीले सबैसँग हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे ।

उनले अहिलेसम्म नेपालका हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै आधुनिक नेपालको जग पनि कांग्रेसकै कारण सम्भव भएको बताए । ‘तेरो र मेरो नभनी र कसैलाई भेदभाग नगरी हातेमालो गरी अगाडि बढ्नुहोस,’ नेता गिरीले भने– ‘यदि कांग्रेसको जग निर्माण गर्ने सवालमा कोही आउँदैन भने पनि तपाईहरु अगाडि बढ्नुहोस् ।’ केन्द्रीय सदस्य गिरीले भाषणले मात्रै उपलब्धि हासिल नहुने भन्दै समाजमा सुख–दुखमा हातेमालो गर्न आग्रह गरे । कम्युनिष्टहरुले नाटक बढी गर्ने र हिंसा भड्काउन मात्रै उद्धत हुने हुँदा सजग रहेर वडामा संगठन निर्माणमा लाग्न कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता गिरीको भनाइ थियो ।

‘कम्युनिष्टहरु बढी छदमभेषी र नाटकी हुन्छन्,’ उनले भने– ‘उनीहरुको नाटकमा नफस्नुहोला, आर्थिक लालच देखाउन सक्छन् जोगिनुहोला र हिंसा भड्काउन सक्छन् संयम रहनुहोला ।’ कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले आन्तरिक निर्वाचनका क्रममा भएको जितहारलाई लोकतान्त्रिक पार्टीको सदस्य हुनुको नाताले सहजरुपमा स्वीकार्न आग्रह गरे । ‘लोकतन्त्रमा जितहार स्वाभाविक प्रक्रिया हो,’ उनले भने– ‘अब बिपक्षीसँगको लडाइँमा कांग्रेस एकढिक्का हुन जरुरी छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य बुद्धिराम भण्डारीले एकता नै पार्टीको शक्ति भएको हुँदा वडा तहबाटै मजबुत संगठन निर्माणका लागि मजबुत एकता आवश्यक पर्ने औंल्याए । उनले वडाको विकासमा आफू सधै अग्रसर रहने प्रतिबद्धता जाहेर गरे । नेता केशब आचार्यले पार्टीभित्रको जितहारलाई स्वाभाविकरुपमा लिन आग्रह गरे । सम्बोधन गर्दै जिल्ला सचिव अर्जुन योगीले सहिद दिवसकै दिन कांग्रेसको वडा कार्यालय निर्माणका लागि शिलान्यास हुनु सुखद् पक्ष भएको भन्दै सबैको सहयोगमा भवन निर्माण गरिने बताए । दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्काले कांग्रेसका नेता कार्यकर्ता सबै हातेमालो गरेर अगाडि बढेमा कसैले पनि पराजित गर्न नसक्ने बताए ।

तुलसीपुर ११ का वडा इकाई सभापति हिमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का सभापति देबेन्द्र रिजाल, तुलसीपुर ७ का वडाध्यक्ष टोपबहादुर केसी, दलित नेता घनश्याम शेर्पाइली, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, स्थानीय कांग्रेस नेताहरु घनश्याम बस्नेत, यामबहादुर बस्नेतलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पार्टीको वडा कार्यालय भवन निर्माण गर्नका लागि आफ्ना स्व. पिता लक्ष्मण न्यौपानेको सम्झनामा जग्गादान दिने छोरा अर्जुन न्यौपानेलाई प्रमाण–पत्रसहित सम्मान गरिएको थियो । वडा इकाई उपसभापति रेशम केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा इकाई सचिव बीरबहादुर बस्नेतले गरेका थिए ।

सुरेश हमालद्वारा ६२ हजार सहयोग

कार्यक्रममा सम्बोधनका क्रममा तुलसीपुर नगर सभापति सुरेश हमालले वडा कार्यालय भवन निर्माण गर्नका लागि ब्यक्तिगत ५१ हजार सहयोगको घोषणा गरेका थिए । त्यो बाहेक अपुग भएमा थप रकमसमेत सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै स्व. कांग्रेस नेता लक्ष्मण न्यौपानेको शालिक निर्माणका लागि थप ११ हजार १ सय ११ रुपैया ब्यक्तिगतरुपमा सहयोग गर्ने नगर सभापति हमालले घोषणा गरेका थिए ।

कार्यक्रममा वडा इकाई सभापति हिमबहादुर वलीले भवन निर्माणका लागि ब्यक्तिगत ५ हजार सहयोगको घोषणा गरेका थिए । अन्य ब्यक्तिहरुले डिपिआर तयार पारी आउन आग्रह गर्दै भवन निर्माणका लागि सहयोग गर्ने बताएका थिए । स्व. पिता लक्ष्मण न्यौपानेको स्मृतिमा प्रिगाउँको शिव मन्दिर नजिकै छोरा अर्जुनले १० मिटर चौडाई र २० मिटर लम्बाइको आफूले चर्चिदै आएको जग्गा पार्टीको नाममा दान गरेका हुन् ।