खोपले जगाएको उत्साह

खोप लगायौं, अब भौतिक उपस्थितिमा पढाई….

बालाराम खड्का

तुलसीपुर, १७ माघ । तुलसीपुर उपमहानगरपालिका–६ स्थित पब्लिक ज्ञानज्योति स्कुलमा आइतवार एउटा उत्सवमय माहोल देखिन्थ्यो । केही दिनदेखि सुनसान तुलसीपुरको वरुगागाउँ क्षेत्र नै आइतवार भरिभराउ थियो, त्यो कुनै पर्वले थिएन । विद्यालयको कुनै बार्षिकोत्सवको कार्यक्रम पनि थिएन । त्यहाँ उत्सवमय बनाएको थियो कोरोना भाइरसविरुद्धको खोपले । नजिकैको गोरखा माध्यमिक विद्यालय आसपास पनि उत्सवमय थियो । सडकैभरी विद्यार्थीहरुले पाखुरा मुसारिरहेका देखिन्थे । लाग्थ्यो उनीहरुले कोरोना भाइरसविरुद्धको एउटा युद्ध जितेका छन् ।

लामो प्रतिक्षापछि तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले विद्यार्थीहरुलाई खोप उपलव्ध गराउन थालेको छ । लुम्विनी प्रदेशमा सबैभन्दा पछि मात्रै विद्यार्थीहरुका लागि खोप लगाउने दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका मात्रै थियो । घोराही उपमहानगरपालिकालगायत अन्य पालिकाहरुसँगै प्रदेशका अन्य जिल्लाले यसअघि नै विद्यार्थीहरुलाई खोप लगाएर अब बुष्टर डोजको चरणमा छन् ।

‘खोपले हामीलाई कोरोना भाइरसविरुद्ध लड्ने आत्मबल मात्रै बढाएको छैन, अब हामीहरु भौतिक उपस्थितिबीच पढाइ पनि होला भन्ने आशामा छौं’, पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययन गर्ने छात्रा रञ्जिता पोख्रेलले भनिन् । १७ बर्षीय पोख्रेलसँगै सुम्मा डाँगीले पनि आइतवारै पहिलो डोज खोप लगाउँदा निकै मुस्कुराएको देखिन्थ्यो । खोप पाएकोमा भन्दा पनि अब आफ्हरुको भौतिक उपस्थितिबीच पढाइ हुने वातावरण बनेकोमा उनलाई बढी खुसी थियो ।

‘मुलुकमा शिक्षाबाहेक सबै क्षेत्र खुलिरहेका छन्, हामीले पनि खोप लगाइसकेकाले अब विद्यालय पनि खुल्नेमा हामीहरु धेरै आशावादी बनेका छौं’, सुम्नाले गोरक्षसँग भनिन्– ‘स्कुल खोल्ने वातावरण बनाइदिन आग्रह गरिदिनुहोला ।’

घरी अनलाइन त घरी भौतिक उपस्थितिबीचको पढाइले पुरै कोर्षको तारतम्य मिल्न नसकेको उनको बुझाइ थियो । ‘जतिसुकै मेहनत गरे पनि भौतिक उपस्थितिबीच पढेको जस्तो अनलाइनले दिमागमा घुस्न सक्दो रहेनछ’, सुम्नाले भनिन् । आफूहरुले पनि कोरोना भाइरसको बारेमा केही थाहा पाइसकेको र यसबाट बच्ने उपाय पनि थाहा पाएको हुनाले सुरक्षित भएर भौतिक उपस्थितिबीच पनि पढाइ सम्भव हुने उनले दावी गरिन् ।

उनीजस्ता सयौं विद्यार्थीहरुको पनि मनोभावना यस्तै थियो । विद्यालयका प्राचार्य सुरेन्द्र केसीले पनि भौतिक उपस्थितिबीच पढाइको तारतम्मे मिलाउन आग्रह गरिरहेका थिए, स्वास्थ्यका अधिकारीहरुलाई । ‘हामीले स्वास्थ्य मापदण्ड अपनाएरै कक्षा चलाइरहेका थियौं र फेरी पनि चलाउन चाहन्छौं तर स्थानीय सरकारले यसमा सहजीकरण गरिदिए हुन्थ्यो’, प्राचार्य केसीले भने ।
गोरखा माविमा पनि विद्यार्थीहरुको यस्तै खुसी छाएको थियो ।

‘हामीले भौतिक उपस्थितिबीच नै पढाइलाई निरन्तरता दिने अभ्यासमा थियौं, स्वास्थ्यका मापदण्ड पालना गरेर, तर सरकारले सबथोक चलाएर विद्यालयलाई मात्रै शिकार बनाइरहेको छ’, विद्यालयका प्राचार्य विजय जीएमले भने । अनलाइन कक्षा कामचलाउ भए पनि अपेक्षाअनुरुप प्रभावकारी बन्न निकै कठिन भएको उनको अनुभव थियो । कतै बत्तीको गडबडी त कतै इन्टरनेटको गडबडीका कारण अनलाइन कक्षा बीच–बीचमै अफलाइनमा परिणत भइरहने र सबै विद्यार्थीहरु अनलाइनमा पटक पटक डिस्कनेक्ट हुने अवस्था रहेको पनि जीएमको गुनासो थियो ।

तुलसीपुर क्षेत्रका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । आइतवार तुलसीपुरको वडा नं. ६ का विद्यार्थीलाई खोप लगाएको हो । कोरोनाविरुद्धको खोप लगाउन पाउँदा विद्यार्थी पनि उत्साहित भएका छन् । खोप लगाएपछि पठन–पाठनमा सहज हुने विद्यार्थीको भनाइ छ । विहानैदेखि आफ्नो विद्यालयमा १२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुले आफ्नो विद्यालयमा खोप लगाएका हुन् । ‘कोरोनाविरुद्धको खोप पाएपछि विद्यार्थीहरुमा उत्साह थपिएको र उनीहरु अब मानसिकरुपमा पनि ढुक्कको अनुभूति गरेको राप्ती बाल एकाडेमीका प्रिन्सिपल ठाकुर डाँगीको बुझाइ छ ।

‘विद्यार्थी तथा विद्यालय सञ्चालकहरुलाई पनि खोप अभियानले थप उत्साही बनाएको छ, सबै विद्यार्थीलाई खोप दिन सके ढुक्कका साथ पठन–पाठन सञ्चालन हुने थियो’, उनले भने । त्यसैगरि कोरोनाविरुद्धको खोप लगाउन आएका विद्यार्थीहरुले पनि आफूहरु उत्साहित भएको भन्दै खोप लगाएपछि आत्मबल बढेको प्रतिक्रिया दिए ।

‘हामीहरुमा कोरोनाविरुद्धको खोपले धेरै आशा जगाएको छ, अब कोरोना लागिहाले पनि रोगप्रतिरोधात्मक क्षमता बढाउँछ भन्नेमा हामीहरु ढुक्क छौं’, विद्यार्थी बालिका वलीले भनिन् । उनीजस्तै अन्य विद्यार्थीहरुले पनि सबै विद्यार्थीलाई खोपको सुनिश्चितता भयो भने पठन–पाठन सुचारु हुनेमा आशावादी छन् ।

‘कोरोनाविरुद्धको मोडर्ना खोप हामीहरुले आज लगाएका छौं अब हामीहरु ढुक्क भएका छौं, यसले पनि हामीलाई उत्साही धेरै बनाएको छ’, विद्यार्थी अधुना खड्काले भनिन् । उनले आफ्नो विद्यालयमा पहिलोपटक खोप लगाउन पाएको भन्दै खुुसीसमेत व्यक्त गरिन् । त्यस्तै विद्यार्थीका अभिभावकहरुले पनि बालबालिकालाई खोप लगाएपछि आफूहरु पनि केही हदसम्म ढुक्क भएको बताएका छन् ।

विद्यालयमा छोराछोरीलाई खोप लगाउन आएका अभिभावकहरुले सबै बालबालिकालाई खोपको सुनिश्चितता भए ढुक्कसँग विद्यालय पठाउन सकिने बताए । ‘आजदेखि विद्यालयमा खोप अभियान सुरु भएको रहेछ अब कोरोनाको संक्रमण भए पनि छोराछोरीहरुलाई त्यति गाह्रो हुँदैन भन्ने सुनेका छौं अलि ढुक्क भएका छौं’, अभिभावक जेनिसा थापाले भनिन् । उनले अन्य उमेर समूहका बालबालिकालाई पनि खोपको व्यवस्था गर्न सके राम्रो हुने बताइन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा आइतबार ९ वटा खोप केन्द्रबाट १२ देखि १७ बर्षसम्मका बिद्यार्थीलाई खोप लगाएको तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । आइतवार करीब ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई खोप उपलब्ध गराइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ । खोप अभियानमा तुलसीपुरका १९ वटै वडाका स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

केसीका अनुसार आइतबार शिखा बोर्डिङ, राप्ती बाल एकेडेमी, डिभाइन टेम्पल, आदर्श बोर्डिङ, भ्याली स्टार, दाङ भ्याली, लक्ष्य बोर्डिङ, गोरखा बोर्डिङ, मावि सेन्टर, संस्कार, पब्लिक ज्ञानज्योति, हिमाल बोर्डिङ, सरस्वती , राप्ती विद्यामन्दिर, आइडियल, अरनिको बोर्डिङका विद्यार्थी गरी करिब ७ हजार बढी विद्यार्थीलाई खोप लगाएको बताए ।

२०६१ साल माघ महिनादेखि २०६६ माघ महिनासम्मका १२ बर्षदेखि १७ उमेर समूहका बिद्यार्थीलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप लगाइएको हो । त्यस्तै अन्य १८ वटा वडाका विद्यार्थीहरुलाई सोमवार खोप लगाइने केसीले बताए । ‘आइतवारदेखि सुरु भएको खोप अभियान सोमवार पनि चल्नेछ’, उनले भने ।

तुलसीपुर उपमहानगरपालिकाले यही चार दिनभित्र उपमहानगरपालिकाका कम्तीमा २३ हजार विद्यार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ । जिल्लामा आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका ६९ हजार ५ सय ५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ २१ गतेसम्मका लागि विद्यालय पनि खुलेका छन् ।