देवराज भण्डारी
जुन दिन म आफनो जन्म र कर्म भूमिको भूगोल छोडेर हरियो पासपोर्ट बोकेर घरदेखि हिँडे त्यो दिन मलाई आफनो जीवनभन्दा पासपोर्टक गह्रौँ भएको थियो । जनु भारी मैले कहिल्यै बोकेको पनि थिएन । जन्मेदेखि थाहा पाउने भएसम्म जीवनको बारेमा यतिधेरै सोँचेको पनि थिएन । आज सोच्दै छु, ‘म किन अहिले संयुक्त राज्य अमेरिकामा छु ?’ त्यसैले बाँकी जीवनका बारेमा सोच्दै छु ।
म यहाँ आएपछि सबै कुराको समय तालिका परिवर्तन भएको छ । दैनिक दिनचर्या, खाने, बस्ने, सुत्ने, काम गर्ने कुरा त परिवर्तन हुने नै भए तर परिवर्तन त मेरो राष्ट्रियता, धर्म, संस्कार, परम्परा समेत हुनथालेको कताकता आभाष भएको छ । जुन कुरा म जन्मेदेखि हुने गरेका थिए ती अब यहाँ पनि त्यस्तै हुनु किमार्थ सम्भव देख्दिनँ । म जन्मजात नेपाली नागरिक हुँ । देशमा नागरिकताको विवादले देश कुनै समय आक्रान्त थियो । अहिले संसद्मा उक्त विषय विचाराधीन अवस्थामै छ । अब यहाँ मेरो नेपाली नागरिकता प्रमाणपत्र प्रयोगमै आउँदैन ।
मैले नेपालमा प्राप्त गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा अन्य परिचयपत्र कुनै कामका छैनन् । मेरो नेपालमा आवश्यक पर्ने प्रमाणपत्र जे–जे थिए ती यहाँ कागजका खोस्टा भएका छन् । देश त भूगोल मात्रै रहेनछ । अहिले आएर आफ्नो जन्मभूमि देश सबथोक रहेछ, त्यो कुराको ज्ञान केही महिनाकै अवधिमा प्राप्त गर्दैछु ।
विजयादशमीको टीका पनि फुर्सदपश्चात दिउँसो ३ बजे लगाइयो, तिहारको भाइ टीका त लगाउँदै लगाइएन सायद । यो पीडा मेरो मात्रै नभएर मातृभूमि बाहिर हुनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीको पीडा हो भन्दा फरक नपर्ला । अर्को कुरो म हिन्दू त्यसैमाथि नेपाली भएर मैले यहाँको महत्वपूर्ण चाडपर्व क्रिसमसमा ह्यप्पी क्रिसमस अनि ह्याप्पी न्यू यअर भन्दिनुपर्ने भएको छ ।
मैले गाई तथा गोरुको सुकुटी विक्री गर्नुपर्छ, अमेरिकामा । हो, मैले गाई र गोरुको प्याकिङ सुकुटी बेच्छु अमेरिकामा तर कसैको दबाबमा होइन मेरै गास, बासका लागि ।
म कार्यरत स्टोरमा गाइको सुकुटी तथा अन्य परिकार पनि बेचिन्छ । सायद गाईको सुकुटी तथा परिकार नबेचिने किराना स्टोरहरू कमै होलान्, यो देशमा । ‘म हिन्दू भएर गाई–गोरुको मासु बेच्ने ?’ यही प्रश्नले मलाई कति सोचमग्न बनायो, त्यसको लेखाजोखा नै छैन । कति रातहरू सोच्दासोच्दै ननिदाएरै बितेका छन् । गाई त नेपालको राष्ट्रिय जनावर पनि हो । पञ्चगव्य कयौँपल्ट खाएको छु । त्यो पितृ कार्यमा पञ्चगव्य अर्थात गाईको दूध, दही, घ्यू, गोबर र गौँत, आज त्यही गाइको सुकुटी बेच्ने परिवेशमा छु ।
कयौँपटक शुभकार्यमा पञ्चामृत खाएको छु, त्यही दूध, दही, घ्यू, मह, सख्खर, अनि लाग्छ मेरो समाज र मेरो धर्मका हिसाबले त मैले पुण्य कर्म पक्कै गरेन । जो मैले कहिल्यै चाखेको पनि छैन । ती वस्तुहरु पनि बेच्छु जो गाँजा, चुरोट, रक्सी प्रत्येकका फ्लेवर, स्वाद, प्रकार त कत्ति हो कत्ति ! मैले तीन÷चार महिनासम्ममा अझै सबै प्रकारहरू चिन्नैसकेको छैन । न त पिज्जा, वर्गरले मेरो राष्ट्रिय खाना दाल, भात, तरकारी, अचार बिर्सायो न त कुनै फ्रिजको पानीले मुलको पानी, या त एसीको कृत्रिम तातो–चिसो हावाले मेरो गाउँठाउँको याद र झझल्को मेटायो ।
विद्यालयका नेपाली विषय पढाउने गुरुले भीमनिधि तिवारीको घरको माया एकांकी पो सम्झायो । ‘त्यो चिसो हावा, त्यो ढुङ्गेधाराको पानी आहा कलकल बग्ने खोला । जुन दिन हरियो पासपोर्ट बोकेर विदेशी भूमिमा पाइला टेकेँ मेरो प्यारो मातृभुमि नेपाल कहिले यस्तो होला भन्ने प्रश्नले चिन्तित बनायो । रामायण सम्झायो ‘जननी जन्मभूमिश्च स्वर्गादपि अपि स्वर्णमयी लंका नमेरोचयते ।’ अनि सम्झायो चाणक्यका नीति वचनले जननी, जन्मभूमि, जनक, जान्ह्वी च जर्नादन पञ्चजकारा अतिदूर्लभा ।
बुबाआमा, जन्मस्थान निकै दुर्लभ छन्, फेरि प्राप्त गर्न सकिँदैन । मलाई म बन्न सिकाउने मेरो परिवार, समाज, रीतिरिवाज, धार्मिक तथा सांस्कृतिक सहिष्णुता एवं परम्पराले यी र यस्तै खालका यावत तर्कवितर्कले म गहिरो सोचमग्न हुन्छु । पर्व, संस्कार यसरी नै परिवर्तन होला त ? देश त्यागे, भूगोल त्यागे तर त्यो मर्म, त्यो धर्म कसरी त्याग गर्न सकूँला र ? प्रश्न यही छ । मेरो जन्मभूमिको माटोले अझै गन्ध आउने पसिनामा मेरै देशको माटो बास्ना आइरहेको छ ।